त्यो काण्ड
२०२६ सालमा हृषीकेश शाहको एउटा कुरालाई लिएर विवाद यति बढ्यो, तुलसी गिरीले सार्वजनिक वक्तव्य निकालेर भन्नुपर्यो– हृषीकेश शाहको बढ्ता बकबक गर्ने बानी छ। यसको प्रत्युत्तरमा हृषीकेशले पनि भने– तुलसी गिरीले ऐनामा आफ्नो अनुहार हेरून्।
पञ्चायतकी ‘आमा’ भनेर चिनिने तुलसी गिरीले आफ्नो राजनीतिक जीवनमा यस्तो छवि बनाएका थिए, जो कम बोल्थे, तर कडा। उनको त्यो स्वभावविपरीत २०२६ सालमा एउटा काण्ड भयो, जसले उनको इमेजलाई पहिलोपल्ट धक्का दियो।
काण्ड थियो– नेपाली कूटनीतिका अर्का धुरन्धर खेलाडी हृषीकेश शाहसँगको नोकझोक।
१२ असार २०२६ मा राष्ट्रिय पञ्चायतको सदस्य मात्र रहेका शाहले कमलपोखरीस्थित आफ्नो निवासमा बसेर एउटा पत्रकार सम्मेलन गरे। र, यतिसम्म भन्न भ्याए, ‘उच्च ओहदामा बसेका केही सरकारी व्यक्ति तथा सल्लाहकारहरू असीमित स्वेच्छाचार सम्पन्न राजतन्त्र नै पञ्चायती व्यवस्थाको मूल तत्त्व र मुख्य आधार हो भन्ने कुरामा लागेको सुनिन्छ। यो खतराको घण्टी र सत्तारोहण तथा व्यक्तिगत स्वार्थ पूरा गर्ने चेष्टाबाहेक अरू केही होइन।’
उनको यो वक्तव्य भोलिपल्टको अखबारमा जसै सार्वजनिक भयो, तुलसी गिरीको रिसको पारो टुप्पीसम्मै पुग्यो। उनले त्यही दिन आफ्नो लिखित प्रत्युत्तर अखबारहरूमा पठाउँदै भने, ‘हृषीकेश शाहको बढ्ता बकबक गर्ने बानी छ।’
शाहको वक्तव्यमा गिरीलाई सबैभन्दा बढी घोचेको शब्दावली थियो, ‘उच्च ओहदामा बसेका केही सरकारी व्यक्ति तथा सल्लाहकारहरू’। किनभने, राजा महेन्द्रले सोही वर्ष वैशाखमा प्रधानमन्त्री कीर्तिनिधि विष्टसहित तुलसी गिरी र विश्वबन्धु थापा रहेको चारसदस्यीय विशेष सल्लाहकार समिति गठन गरेका थिए। जसलाई गैरसंवैधानिक भन्दै शाहले धुवाँधार विरोध गरे।
कीर्तिनिधि आफैँ देशका प्रधानमन्त्री, फेरि उनी नै राजाले गठन गरेको अर्को संवैधानिक समितिमा बस्न कसरी मिल्छ? यस कुरामा शाहको ठूलो आपत्ति थियो।
यस्तै, केही समयअघि राजासँग ‘संवैधानिक मतभेद’ राखेर मन्त्रिपरिषद्को अध्यक्षबाट राजीनामा गरेका गिरी पुनः विशेष सल्लाहकार नियुक्त हुनु आफैँमा रोचक घटना थियो। गिरीको नियुक्तिलाई लिएर केही पत्रपत्रिकाले प्रश्न पनि उठाएका थिए।
थापाले पनि बहुदलीय व्यवस्था पुनःस्थापनाको माग राख्दै पञ्चायती चुनाव लड्न अस्वीकार गरेका थिए। विशेष सल्लाहकार समितिमा उनको उपस्थिति पनि सबैलाई आश्चर्य लाग्ने कुरै भयो।
शाहको विरोधमा प्रधानमन्त्री विष्ट यति मात्र भनेर पन्छिए, ‘यो कुनै गैरसंवैधानिक कुरा होइन। श्री ५ महाराजाधिराज सरकारबाट मौसुफमा अन्तर्निहित विशेष अधिकारअनुसार यो समिति गठन गरिबक्सेको हो। मौसुफ सरकारबाट देशहितलाई ध्यानमा राखी गरिबक्सेको कुरामा यसरी टीकाटिप्पणी गर्नु मलाई उचित लाग्दैन।’
तुलसी गिरी भने झगडै गर्ने मुडमा उत्रिए। उनले शाहलाई लक्षित गर्दै भने, ‘२०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्था ‘कू’ गर्दा कुन व्यवस्थामा रहेर राष्ट्रसंघको जागिर हापेर हाम फाल्दै मन्त्री बन्न आएको?’
१ पुस २०१७ मा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार अपदस्थ गर्दा हृषीकेश शाह संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधिका रूपमा कार्यरत थिए। बीपी कोइरालाको जननिर्वाचित सरकार ‘कू’ गर्दा राजालाई भित्री रूपमा सहयोग गर्ने तीन प्रमुख पात्रहरूमा तुलसी गिरी र विश्वबन्धु थापासँगै हृषीकेश शाहको भूमिका पनि उत्तिकै थियो।
गिरीले यही घटना स्मरण गराउन खोजे। राजा महेन्द्रले निर्दलीय व्यवस्था लागु गर्दा यी तीनै जना मन्त्री बने। अझ, शाहले संविधान मस्यौदा समितिको अध्यक्ष पदमा रहेर १ पुस २०१९ मा पञ्चायती संविधान दरबारलाई बुझाएका थिए।
गिरीको रिसको पारो यतिमै रोकिएन। उनले थप भन्न भ्याए, ‘वर्तमान व्यवस्थाको कुनै विकल्प छ कि भन्ने भावना बुझ्न राष्ट्रिय पञ्चायतमा श्री ५ बाट सन्देश पठाइबक्सेकामा एउटा राजनीतिक व्यवस्थालाई विकल्परहित घोषणा गराउने प्रस्ताव ल्याउन तँछाडमछाड गरी सो प्रस्ताव सर्वसम्मतिबाट पास गराउने व्यक्ति हृषीकेश शाह नै होइन?’
उनले थपे, ‘पञ्चायती व्यवस्थाको आडमा आफ्नो स्वार्थसिद्ध गर्ने संसदीय आधार खडा गरेजस्तो जाल रच्न चाहने हृषीकेश शाहजस्ता व्यक्ति दुवै व्यवस्थाका लागि घातक हो।’
गिरीको रौद्र रूप देखेर त्यतिबेलाका सबै पञ्चहरू चकित परे। किनभने, कुनै बेला गिरी र शाहलाई राजा महेन्द्रको ‘नङ र मासु’ भनिन्थ्यो।
राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी अहिले पनि त्यो घटना सम्झँदा हास्ने गर्छन्। भन्छन्, “त्यतिबेला दुवैको वक्तव्यबाजी खतरै भएको थियो। हामीलाई अप्ठ्यारो लाग्यो। डा. गिरी त्यसरी प्रस्तुत नहुने व्यक्ति। उहाँ नमीठो ढंगले पड्किनुभयो।’
कीर्तिनिधिको मन्त्रिमण्डलमा सुवेदी उद्योग तथा वाणिज्यमन्त्री थिए। “हृषीकेश शाह पनि विद्वान् मान्छे। जबरजस्त नै थियो, त्यो नोकझोक,” उनी सम्झन्छन्।
गिरीको वक्तव्यबाट शाह पनि खुब चिढिए। गिरीले व्यक्तिगत रूपमा आफूलाई लाञ्छना लगाएको भन्दै उनले फेरि आफ्नो घरमा पत्रकार सम्मेलन गरे। र, भन्न भ्याए, “तिनले त्यो वक्तव्य दिएको ‘खालि को चोर भन्दा खेरि चोरले खुट्टा थुतेको मात्र हो।”
उनी पनि यतिमै रोकिएनन्। थप भने, “जसले श्री ५ महाराजाधिराज सरकारलाई ‘करीमुल्ला र गिरी’ सँग दाँज्ने धृष्टता २०१७ सालभन्दा अघि गरेका थिए, र उनको बयान म्याजिस्ट्रेट अफिसमा मौज्दात छ। त्यस्ता व्यक्तिको प्रतिक्रियासँग मलाई वास्ता छैन। डा. गिरीले आफ्नो मुख ऐनामा हेरून्, जनताले तिनलाई प्रशस्त चिनेका छन्।”
२०२५ सालमा राजा महेन्द्रले २०१७ सालका राजनीतिक बन्दीहरूलाई छोड्ने निर्णय गर्दा गिरीले धुनधान विरोध गरेका थिए। उनी राजाको सो कदमबाट खुसी थिएनन्। रोचक कुरा, गिरी २०२५ सालको चैतमा जनकपुर गएको बेला त्यहीँ पक्राउ परे र उनलाई थुनामा राखियो। त्यतिबेला राजा महेन्द्र आफ्नो मुटुको व्यथाका कारण आराम गर्न टीकापुर बसेका थिए। तर, उनको निर्देशनविना पञ्चायतका सबैभन्दा जल्दाबल्दा नेताको उपमा पाएका गिरी कसरी थुनामा पर्थे, त्यो सम्भव नै थिएन।
शाहको वक्तव्यमा ‘तुलसी गिरीको बयान म्याजिस्ट्रेट अफिसमा मौज्दात छ’ भन्नुको तात्पर्य पनि यही थियो– ‘राजासँग विमति राखेको हुनाले तिमी जेल परेका होइनौ?’
यसपछि त यी दुई जनाको झगडा संस्थागत नभई व्यक्तिगत बन्न पुग्यो। शाह कुनै पनि सार्वजनिक मञ्चमा तुलसी गिरीको विरोध नगरी बस्न सक्दैनथे भने गिरी शाहको।

राजा वीरेन्द्रको अगाडि जोगमेहर श्रेष्ठ (बायाँ)लाई मन्त्री पदको शपथ खुवाउँदै प्रधानमन्त्री तुलसी गिरी
रमाइलो कुरा, राजा महेन्द्रले २०१७ सालमा शासन व्यवस्था आफ्नो हातमा लिँदा यी दुवैलाई प्रधानमन्त्री दिने प्रलोभन देखाएका थिए। तर, महेन्द्रले आफ्नो कार्यकालभरि यी दुईमध्ये कसैलाई प्रधानमन्त्री बनाएनन्।
तुलसी गिरीलाई सुरुमा मन्त्रिमण्डलको उपाध्यक्ष बनाए र अध्यक्ष बनेर आफैँले शासनसत्ता चलाए। पछि, राजा आफैँ नेता बन्न लागे भन्ने आवाज उठ्न थालेपछि गिरीलाई मन्त्रिमण्डलको अध्यक्ष त बनाए, तर प्रधानमन्त्री तोकेनन्। बरु सूर्यबहादुर थापा र कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाए।
इतिहासका प्रोफेसर हेमन्तशमशेर राणा भन्छन्, “वास्तवमा राजा महेन्द्रले सबैभन्दा पहिले प्रधानमन्त्री बनाउन खोजेका पात्र नै हृषीकेश दाजु हुनुहुन्थ्यो। त्यसैले संयुक्त राष्ट्रसंघबाट बोलाउनुभएको पनि हो।’ राणा नाताले हृषीकेशका भाइ पर्छन्।
हृषीकेश राणाकालदेखि कहलिएका विद्वान् थिए। त्रिचन्द्र कलेजमा अध्यापन गर्ने (पछि त्रिभुवन विश्वविद्यालयमा पनि) र कूटनीतिक क्षेत्रको अनुभव पनि सँगालेका कारण राजा महेन्द्रका लागि निर्विकल्प पात्रजस्तै थिए, शाह प्रधानमन्त्री पदका लागि। फेरि भिरकोटे राजाको सन्तान भएका कारण दरबारसँग उनको सानैदेखि राम्रो सम्बन्ध थियो। अमेरिकाका लागि पहिलो नेपाली राजदूत नियुक्त हुनुअघि उनले नेपाली कांग्रेसको महामन्त्रीजस्तो गरिमामय पदमा रहेर काम गरिसकेका थिए।
यति धेरै अनुभव हुँदा पनि उनी कहिल्यै प्रधानमन्त्री हुन सकेनन्। यसमा उनको कसैलाई ‘नगन्ने बानी’ प्रमुख कारण रहेको राणा बताउँछन्। राणाकालमा महाकवि लक्ष्मीप्रसाद देवकोटासँग जोडिएको एउटा घतलाग्दो कहानी सुनाउँदै राणा भन्छन्, “राणाकालमा एसएलसीको परीक्षाका लागि ट्युसन पढ्न महाकवि देवकोटाको घरमा घुइँचो लाग्थ्यो। यसै क्रममा महारानी रत्नाका मामाका छोरा मोहनविक्रम शाह पनि पढ्न जानुभएको रहेछ। त्यतिबेला देवकोटाले मोहन दाइको पारिवारिक कनेक्सन थाहा पाएपछि भन्नुभएछ– म के विद्वान्, मभन्दा विद्वान् त हृषीकेश शाह हुन्। यो सुनेपछि हृषीकेश दाइको खुट्टा भुइँमा भएन। स्वयं महाकविबाटै यति ठूलो तारिफ सुनेपछि।”
हृषीकेशमा आफ्नो ज्ञानलाई लिएर ठूलो घमन्ड थियो। “उहाँ ड्रिङ्स गर्न पनि मन पराउने। एकपल्ट पारिवारिक जमघटमा त्यो डेढे (राजा महेन्द्रको आँखा हल्का डेढो भएको भएर)लाई के थाहा छ भनेर राजा महेन्द्रलाई होच्याउनुभएछ। कुरा पुगिहाल्यो। त्यसपछि हातमा आएको प्रधानमन्त्री पद गुम्यो,” उनी भन्छन्।
राजालाई त भन्न बाँकी नराख्ने हृषीकेशले गिरीलाई झन् के गन्थे? उनले सार्वजनिक मञ्चमा लगातार गिरीप्रति कटाक्ष गरिरहे। यसैको उपज थियो, २६ असार २०२६ मा पहिलोपल्ट उनी राजकाज मुद्दामा पक्राउ परे। उनलाई करिब साढे आठ महिना भद्रगोल जेलमा राखियो।
१४ चैतमा जेलमुक्त भएका उनले आफू पुरानै नीतिमा अडिग रहेको बताउन भुलेनन्। यसको अर्थ थियो, राजालाई सक्रिय बनाउने तुलसी गिरीको नीतिको विरोध। त्यो दिन २०१७ सालमा विघटित संसद्का सभामुख कृष्णप्रसाद भट्टराईलाई पनि रिहा गर्ने घोषणा सरकारले गरेको थियो। त्रिभुवन विश्वविद्यालय छात्र संघका अध्यक्ष देवेन्द्रलाल नेपाली र हृषीकेश गौतम पनि त्यही दिन रिहा भएका थिए।
तुलसी गिरी भने राजा वीरेन्द्रको पालामा १५ मंसिर २०३२ मा प्रधानमन्त्री नियुक्त भए। तर, त्यो लामो समय टिक्न सकेन। राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइराला भारतबाट फर्किएपछि उनको कार्यकाल छोट्टियो। एक वर्ष २८५ दिन प्रधानमन्त्री रहेर उनले कीर्तिनिधिलाई पद हस्तान्तरण गरे।