व्यक्तिवृत्त

इतिहासका प्राध्यापक, ब्याडमिन्टनका पूर्वराष्ट्रिय खेलाडीलगायत विविध परिचय भएका हेमन्तशमशेर राणाको धेरै नखुलेको पाटो हो, सिकारी। उनीसँग चरा सिकारका अनेक किस्सा छन्।

१२ पुष २०८२
हेमन्तशमशेर राणा र इन्सेटमा उनले सिकार गरेको एसियाकै सानो चरा। तस्बिर : बिक्रम राई
अ+
अ-

उनलाई ‘सर’ सम्बोधन गर्नेहरू धेरै छन्। २० वर्ष कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा इतिहास पढाए। उनी भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयका संस्थापक प्रिन्सिपल पनि हुन्। काभ्रे साँगास्थित दीपेन्द्र प्रहरी विद्यालयको प्रधानाध्यापकबाट १६ वर्षअघि अवकाश पाए।

हेमन्तशमशेर राणाको परिचय यतिले मात्र पूरा हुँदैन। उनी ब्याडमिन्टनका पूर्वराष्ट्रिय खेलाडी पनि हुन्। उनले कुनै बेलाको युवा महोत्सव खेलकुद संगठनको सदस्यसचिव रहेर नेपाली खेल क्षेत्रको विकासमा काम गरेका थिए।

उनको खासै नखुलेको अर्को परिचय पनि छ। त्यो हो– सिकारी। उनीसँग संगत गर्ने धेरै कमलाई मात्र थाहा छ, उनी कुनै जमानाका नामुद चरा सिकारी हुन्।

सानोमा उनी गुलेली चलाउन पोख्त थिए। अग्रजहरू बाघलगायत ठूला जनावरको सिकार गर्न पाल्पाभन्दा तलको जंगल चहार्दा उनी चाहिँ गुलेली दागेर उडिरहेका पन्छी खसाल्थे।

केही समयअघि उनलाई भेट्न सूर्यविनायकस्थित निवासमा पुग्दा मन खोलेर लामो कुराकानी गरे। सिकारसँग जोडिएका विभिन्न किस्सा सुनाए। तर, आफूबारे केही उप्काएनन्। भने, “परिवारबाट सुनेको कथा र विदेशीहरूको लेख पढेपछि मलाई लाग्यो, नेपालमा जंगबहादुर राणाजस्ता सिकारी जन्मेकै छैनन्।”

हेमन्तले प्राध्यापकले आफ्ना विद्यार्थीलाई दिने सुझावझैँ अमेरिकी चरा संकलक तथा अध्येता रोबर्ट एल. फ्लेमिङको पुस्तक बर्डस् अफ नेपाल पढ्न आग्रह पनि गरे। फ्लेमिङ चरा अध्ययनका लागि २००६ सालमा नेपाल आएका थिए।

बर्डस् अफ नेपालको भूमिकामा फ्लेमिङले नेपालका विशिष्ट चित्रकार/साहित्यकार लैनसिंह बाङ्देलदेखि थुप्रै नेपालीलाई धन्यवाद दिएका छन्, जसमा हेमन्तको पनि नाम छ।

बर्ड्स अफ नेपाल पुस्तकसँग राणा। तस्बिर : बिक्रम राई

विदेशी चराविद्ले लेखेको पुस्तकमा उनको नाम देखेपछि चरासँग उनको साइनोबारे कौतूहल जाग्नु स्वाभाविकै थियो। यही कौतूहल मेटाउन यसै साता फोटो पत्रकार साथी बिक्रम राईसँगै सूर्यविनायकस्थित उनको घर पुगेको थिएँ। यसबारे जिज्ञासा राख्दा उनले हाँस्दै भने, “हो त, म पनि जमानाको सिकारी नै हुँ।”

हेमन्तका बाजे हुन्, राणाकालका कमान्डिङ जर्नेल (आर्मी चिफ) रुद्रशमशेर राणा। जसलाई श्री ३ महाराज जुद्धशमशेरले राणाहरूबीचको शक्तिसंघर्षका कारण १९९० सालमा धपाएर पाल्पाको बडाहाकिम बनाई पठाएका थिए। सपरिवार पाल्पा बस्ने क्रममा हेमन्तको जन्म उतै भयो, बाल्यकाल त्यहीँ बित्यो।

राणाकालमा सिकारलाई खेलकुदका रूपमा हेरिन्थ्यो। उनका बाजे-बाबु मात्र नभएर उमेर पुगेका दाजुहरूसमेत सिकार खेल्न जान्थे। सानोमा उनी गुलेली चलाउन पोख्त थिए। अग्रजहरू बाघलगायत ठूला जनावरको सिकार गर्न पाल्पाभन्दा तलको जंगल चहार्दा उनी चाहिँ गुलेली दागेर उडिरहेका पन्छी खसाल्थे।

एकदिन फ्लेमिङ आफ्नो छोरा जुनियर फ्लेमिङसँगै ठूलो गाडी लिएर रुद्रशमशेरको घरमा आए। सागरलाई ३३ क्यालिबरको एउटा टोटा थमाउँदै कालधारानजिकैको फाँटमा चाहा (स्नाइप) सिकार गर्न प्रेरित गरे।

उनका दाजु सागर सिकारमा निपुण थिए। त्यही भएर चराविद् फ्लेमिङले भारतको मसुरीमा अमेरिकीहरूले स्थापना गरेको चर्चित उडस्टक स्कुलमा छात्रवृत्ति नै दिएर पढाउन लगे। जिओलोजीमा विद्यावारिधि उनी उडस्टक स्कुलका सुपरभाइजर थिए। त्यसबेला छात्रवृत्ति पाउनेहरूमा नेपाली खेलकुदका पहिलो प्रशिक्षक लक्ष्मणविक्रम शाह पनि थिए।

२००७ सालको क्रान्तिपछि रुद्रशमशेरको परिवार काठमाडौँ फर्कियो। दाजु उडस्टकमा पढ्दै गर्दा हेमन्तले घरमा भएको हतियार चलाएर सिकार गर्ने मौका पाए। यहीँबाट आफूलाई अब्बल सिकारीमा तिखार्ने अवसर पाए। “पहिले म गुलेली चलाउन पोख्त थिएँ। बुवा र दाजुहरूसँग सिकारमा जाँदा उहाँहरूको बन्दुक चलाउने तौरतरिका नियालिरहेको हुन्थेँ। त्यही भएर सिकारसम्बन्धी ज्ञान सानैदेखि थियो। तर, राम्रोसँग चलाउन २०१५/१६ सालदेखि थालेको हुँ,” उनी भन्छन्। बन्दुक चलाउन भने उनले १३ वर्षको उमेरदेखि सिकेका थिए।

हेमन्तशमशेर राणा। तस्बिर : बिक्रम राई

त्यतिबेला काठमाडौँनजिकै चराहरूको सिकार गर्ने ठाउँ ककनी, गोदावरी र नगरकोट थिए।

फ्लेमिङ चरा संकलनका लागि २००६ सालमा पहिलोपल्ट नेपाल आएका थिए। रुद्रशमशेर पाल्पाको बडाहाकिम रहेकै बेला उनको परिवारसँग फ्लेमिङको हिमचिम बढेको हो। रुद्रशमशेरकै कारण उनलाई नेपालमा चरा संकलन गर्न सजिलो पनि भयो। यही भएर फ्लेमिङले आफ्नो पुस्तकमा रुद्रशमशेर र उनको परिवारको भूमिकालाई विशेष मानेका छन्। अझ, हेमन्तका दाजु सागरप्रति बढी अनुगृहीत देखिन्छन्।

फ्लेमिङ चराहरूको प्रख्यात संकलक रहेको हुनाले हेमन्तलाई सुरुमा लागेको रहेछ, उनी त जंगबहादुरभन्दा पनि नामुद सिकारी होलान्। तर, २०१६ सालतिर एउटा रोचक घटना भएछ। यसपछि हेमन्तले बुझे, किन फ्लेमिङले आफ्नो किताबमा दाजु सागरको बढी बखान गरेका रहेछन्।

त्यतिबेला रुद्रशमशेरको परिवार नारायणहिटी दरबारभन्दा ठीक अगाडि (हाल अमेरिकी रिक्रिएसन सेन्टर रहेको ठाउँ) वीरशमशेरले बनाउन लगाएको फोहरा दरबारमा बस्थ्यो। एकदिन फ्लेमिङ आफ्नो छोरा जुनियर फ्लेमिङसँगै ठूलो गाडी लिएर रुद्रशमशेरको घरमा आए। सागरलाई ३३ क्यालिबरको एउटा टोटा थमाउँदै कालधारानजिकैको फाँटमा चाहा (स्नाइप) सिकार गर्न प्रेरित गरे। त्यसबेला दाजु सागर र लक्ष्मणविक्रम शाहसँगै हेमन्त पनि पहिलोपल्ट सिकारमा समावेश थिए।

त्यो सिकारमा जाँदा सागर र लक्ष्मण टुवल्वरमा एकातिर ४ नम्बर र अर्कातर्फ ४/१० को टोटा हालेर तमतयार देखिन्थे। कालधाराको फाँटमा भर्खरै धान काटेर परालको मचान बनाइएको थियो। बीचमा ठूलो भकारी पनि राखिएको थियो। त्यहीँ अडेस लागेर दुवै दाजुले चारपाँच वटा चाहा झारे। फ्लेमिङ र उनको छोरा खेतको दुई छेउमा बसेर ढुंगा हान्थे। उनीहरूको उद्देश्य त्यहाँ धान खान आएका चाहालाई ढुंगाले हानेर उडाउने थियो। निसानाका लागि दुईतिर बसेका आफ्ना शिष्य सागर र लक्ष्मण छँदै थिए। हेमन्तको काम भने खेतको बीचमा बसेर एअर गन पड्काउने थियो। यसो गर्नुको उद्देश्य पनि गोलीको आवाज सुनेर चराहरू आकाशतिर उडून् भन्ने नै थियो। यसै क्रममा आफ्नो टाउकामाथि उडिरहेको एउटा चाहालाई उनले एअर गनले हानेर ड्याम्मै तल झारे।

सैनिक स्कुलमै रहँदा २०४५ सालको जेठतिर उनलाई एउटा ऐतिहासिक अवसर जुरेको थियो। त्यसबेला उनले संसारकै सानो ‘बी हमिङवर्ड’ पछि दोस्रो सानो चराको सिकार गरे, जसलाई उनी एसियाको सबैभन्दा सानो चरा दाबी गर्छन्।

यो देखेर अचम्म मान्दै फ्लेमिङले भने, ‘तिमीले कसरी झार्‍यौ?’ दाजुहरूसँग सिकारमा हिँडेका फुच्चे हेमन्त पनि सिकारमा पोख्त छन् भनेर फ्लेमिङलाई लागेकै थिएन। हेमन्त सम्झन्छन्, “दाजु उडस्टक पढ्न गएपछि मलाई चिट्ठा पर्‍यो। उहाँले घरमा छोडेको बन्दुक चलाउँदा चलाउँदै म यति पोख्त भइसकेको थिएँ, उडिरहेको जुनसुकै चरा पनि झार्न सक्थेँ।”

कालधाराको सिकारबाट फर्किने बेला बौडाई चरा (स्पारहक) हेलिकोप्टरजस्तै पखेटा फड्फडाएर आकाशमा तैरियो। अन्य चराहरू त्यसरी आकाशमा अडिन सक्दैनन्। तर, ‘हेमिङवर्ड’ ले पखेटा फिजाएर फूलको रस चुसेजस्तै बौडाई चराले पनि आकाशमा तैरिएर जमिनमा रहेको आफ्नो सिकार खोज्न सक्छ। त्य‍स चरालाई देखेपछि फ्लेमिङ सबैभन्दा बढी रोमाञ्चित भए। हेमन्तको निसानाबाट प्रभावित उनले दौडिँदै टुवेल्वर थमाए र हतारिँदै भने, ‘यो चरा मेरो संकलनमा छैन। मलाई जसरी पनि चाहियो!’

हेमन्तशमशेर राणा। तस्बिर : बिक्रम राई

फ्लेमिङको आग्रह सुनेपछि किशोरावस्थाका हेमन्तले पनि आकाशतर्फ नजर दौडाए। आफू बसेको ठाउँबाट बौडाई तैरिरहेको ठाउँको दूरी नापे। र, आफैसँगै भएको एअर गनले हाने। चरा भुइँमा फ्यात्त खस्यो। यो दृश्य देखेपछि फ्लेमिङ मात्र होइन, दाजु सागर पनि छक्क परे। आफू भारत पढ्न जाँदा गुलेली मात्र हान्ने भाइ बन्दुकमा पनि पोख्त भएको देखेर दाजुको छाती गर्वले फुल्यो। “त्यो सिकारमा जानुअघि मलाई फ्लेमिङ नामुद सिकारीजस्तो लाग्थ्यो, तर कालधारामा आफूले सिकार नगरेर दाजु र मलाई सिकार गर्न प्रेरित गरिरहेको दृश्य देखेपछि मेरो भ्रम टुट्यो,” हेमन्त भन्छन्, “मलाई लाग्छ, नेपालमा फ्लेमिङले चरा संकलन गर्दा ७५ प्रतिशत त मेरो दाजु सागरले नै सहयोग गरेको हुनुपर्छ।”

मरेका चराचुरुंगी तथा जनावरहरूका अंग सफा गर्दै अनुसन्धानका लागि पुनः दुरुस्त बनाउने कला ‘स्टफिङ’ फ्लेमिङले पहिले सागरलाई सिकाए। सागरबाट पछि हेमन्तले सिके। उनले यही कला सैनिक महाविद्यालयमा प्रयोग गरे। बायोलोजी विभाग प्रमुख मदन खुसवाहसँग मिलेर उनले सैनिक महाविद्यालयको ल्याबमा एक हजार ५०० चराचुरुंगीको संकलन छोडेका छन्। उनी सम्झन्छन्, “म सैनिक स्कुलमा आबद्ध हुनुअघि अध्ययनका लागि ल्याबमा परेवा र भँगेराको तीनचार वटा कलेक्सन मात्र राखिएको थियो। तर, मैले एक हजार ५०० चराचुरुंगीको कलेक्सन छोडेर गएँ। यसमा मलाई मदन खुसवाह सरले धेरै सहयोग गर्नुभयो।”

सैनिक स्कुलमै रहँदा २०४५ सालको जेठतिर उनलाई एउटा ऐतिहासिक अवसर जुरेको थियो। त्यसबेला उनले संसारकै सानो ‘बी हमिङवर्ड’ पछि दोस्रो सानो चराको सिकार गरे, जसलाई उनी एसियाको सबैभन्दा सानो चरा दाबी गर्छन्। सूर्यविनायक मन्दिरदेखि उत्तरी भेगमा पर्ने सिपाडोलनजिकै उनले सो चराको सिकार गरेका थिए। “सूर्यविनायक मन्दिरनजिकै उत्तरी भेगमा यो चरा भेटिएको थियो। गर्मीको समय थियो, शनिबार मदन खुसवाह सर र एक जना चालकसँगै म बिहान साढे १० बजे त्यहाँ पुग्दा अनौठो आवाज निकाल्ने चरा भेटियो,” उनी भन्छन्।

उनको निसाना देखेर ब्याडमिन्टनका पूर्वराष्ट्रिय च्याम्पियन ज्ञानबहादुर खड्काले एकपल्ट भनेका थिए, ‘हेमन्त नामुद सिकारी हो। क्या निसाना लगाउँछ– गोलीमाथि गोली।’

त्यो चराको आवाज तीखो थियो। आवाज घुमाउन पोख्त ऊ जंगलभरि आफूजस्ता चरा थुप्रै रहेको भ्रम फैलाउन सुई..सुई…सुईई गरेर आवाज निकाल्थ्यो। हेमन्तलाई पहिले त झ्याउँकिरी कराएजस्तो लाग्यो। मदन सरले नै चरा भनेपछि एकछिन उनीहरू जंगलमा उभिएका थिए। गाडी चढ्नै लागेको बेला फेरि आवाज आयो। माथि रूखतर्फ हेर्दा उनले चराको टाउको देखे। उनी निकै उत्साही बने। यसअघि ढुकुरको सिकार गर्दा उनको बन्दुकमा पेलेट राखिएको थियो। त्यो चरा देखेपछि उनले रूखमुनि कम आवाज आउने गरी बन्दुकभित्र रहेको पेलेटलाई ठुस्स हानेर सफा गरे। यसपछि कपर बल हालेर तीनपल्ट पम्प हाने। “सानो चरा भएकाले पेलेटबाट सिकार गर्दा सबै शरीर छरिने सम्भावना हुन्थ्यो। कपर बललाई तीनपल्ट मात्र पम्प हान्नुको कारण पनि उसलाई हल्का लागेर झरोस् भन्ने नै हो,” उनी भन्छन्।

चरा निकै सानो भएकाले उनको पहिलो निसाना चुकेको थियो। कपर बल उसको टाउकोभन्दा हल्का माथिबाट गयो, तर उसले खतराको आशंका गरेन। कीराफट्यांग्रा हो कि भनेर उल्टै खाने प्रयास गर्‍यो। तलबाट यो दृश्य नियालिरहेका हेमन्तलाई चरा उड्ला भन्ने ठूलो पीर थियो। तर, उडेन।

राणाले सिकार गरेको एसियाकै सानो चरा। तस्बिर : बिक्रम राई

सिकारको लामो अनुभव बटुलेका उनको पहिलो निसाना धेरै पछि चुकेको थियो। दोस्रो प्रयासमा पुनः कपर बललाई तीनपल्ट पम्प गरे। “ठूलो भ्वाङ नपरोस् भन्ने नै ध्येय थियो मेरो। ऊ मभन्दा १०-१२ मिटर माथि थियो। टाउको र हल्का घाँटी निकालेर बसेको थियो। यसैको बीचमा निसाना दागेँ। टाउकोमा लागेछ, भुक्लुक्क ढल्यो,” उनी सम्झन्छन्।

यसलाई पछि ल्याबमा नाप्दा पुगनपुग सात इन्च देखियो। भारतका प्रख्यात चरा विशेषज्ञ सलिम अली र डा. फ्लेमिङको किताबलाई आधार मान्ने हो भने मैले सिकार गरेको त्यो चरा एसियाकै सानो चरा हो। विश्वकै सानो चरा ‘बी हेमिङवर्ड’ भन्दा केही इन्च मात्र ठूलो छ,” उनी दाबी गर्छन्।

उनको संकलनमा योबाहेक अर्को चरा पनि विशेष छ। जसको नाम हो, क्रिम्सन ब्रेस्टेड बार्बेट। यो चरा पनि उनले सैनिक महाविद्यालयमा कार्यरत रहँदा संकलन गरेका हुन्।

उनको अन्तिम सिकार थियो, २०६३ सालमा। उनी दीपेन्द्र प्रहरी स्कुल, साँगामा आबद्ध रहेका बेला नेपाली सेनाको जर्नेल पदबाट अवकाश पाएका दाजु सागर उनलाई भेट्न पुगेका थिए। साँझ फर्किने बेला दाजुलाई गेटसम्म छोड्न गएका उनी बाहिर ढुकुरको आवाज सुनेपछि लोभिए। सागरले त्यो ढुकुरलाई निसाना लगाउन बन्दुक मागेका थिए। तर, उनले नै हानेर पक्लक्क ढालिदिए। “दाजु पनि जमानाका नामुद सिकारी। म हान्छु, बन्दुक दे भन्दै हुनुहुन्थ्यो। मैले बन्दुक नमिल्ला कि भनेर आफैँले ताकेर हान्दा ढुकुर ड्याम्मै ढल्यो,” उनी भन्छन्।

उनको निसाना देखेर ब्याडमिन्टनका पूर्वराष्ट्रिय च्याम्पियन ज्ञानबहादुर खड्काले एकपल्ट भनेका थिए, ‘हेमन्त नामुद सिकारी हो। क्या निसाना लगाउँछ– गोलीमाथि गोली।’ अहिले आएर उनलाई सिकार बेकारको कुरा लाग्छ। सिकारलाई नमीठो लत भन्न रुचाउँछन्। तर, आफूले संकलन गरेको एसियाकै सानो चरालाई विश्व अभिलेखमा स्थापित गराउन सके आफ्नो सिकारी जीवन सफल हुने उनको आकांक्षा छ।