अर्थमन्त्री खनालले बनाए सार्वजनिक कार्यक्रमका लागि नयाँ मापदण्ड
काठमाडौँ। अर्थमन्त्री खनालले आफू सहभागी हुने सार्वजनिक कार्यक्रमका लागि कडा र सरल मापदण्ड तय गरेका छन्। उनले प्रमुख अतिथिका रूपमा सहभागी हुँदा परम्परागत सम्मानका विधि स्वीकार नगर्ने स्पष्ट पारेका छन्।
अर्थमन्त्री खनालका अनुसार अब उनी प्रमुख अतिथि भए पनि खादा, माला, अबिर, फूलगुच्छाजस्ता कुनै पनि स्वागत सामग्री ग्रहण गर्ने छैनन्। साथै बाहिर उभिएर स्वागत गर्ने‚ आशनग्रहण गराउनेजस्ता औपचारिकता पनि नहुने उनले बताएका छन्।
उनले समय मिलेमा चुपचाप कार्यक्रम हलमा प्रवेश गरी तोकिएको सिटमा बस्ने र बोल्न आग्रह गरिएमा अधिकतम पाँच मिनेट मात्र मन्तव्य दिने नीति लिएका छन्। यस्तै ‘मायाको चिनो’ लिने वा दिने परम्परा पनि पूर्ण रूपमा बन्द गरिएको छ।
आकस्मिक कामका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने अवस्था आएमा सोही दिन आयोजकलाई जानकारी गराउने प्रतिबद्धता पनि उनले जनाएका छन्।
अर्थमन्त्री खनालको यो निर्णयले सार्वजनिक कार्यक्रमलाई सरल‚ खर्चिलो औपचारिकताबाट मुक्त र समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।