इस्तानबुल। टर्किएको प्रमुख सहर इस्तानबुलमा भएको सवारीसाधन दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार शनिबार साँझ सहरको युरोपेली भागमा पर्ने एसनयुर्त जिल्लामा दुर्घटना भएको हो।
इस्तानबुल गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार भारी वर्षा भइरहेको समयमा सडक अत्यन्तै चिप्लो भएका कारण एउटा मिनी बस अनियन्त्रित भएर सडक छेउको खाली जमिनमा पल्टिएको थियो। दुर्घटनाको प्रभाव ठूलो रहेकाले बसमा यात्रारत केही यात्रु सख्त घाइते भएको सिन्ह्वाले समाचारमा उल्लेख गरेको छ।
दुर्घटनालगत्तै दमकल, प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेको थियो। उद्धारपछि घाइतेहरूलाई नजिकका विभिन्न अस्पताल पुर्याइएको थियो। अधिकारीहरूका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ।
स्थानीय प्रशासनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ।-रासस/सिन्ह्वा