काठमाडौँ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको कार्यकक्ष बाहिर राखिएको नाम लेखिएको बोर्डमा ब्रेल लिपिको पनि प्रयोग गरिएको छ।
दृष्टिविहीन तथा अन्य अपांगता भएका नागरिकले राज्यका सेवा सहज, समावेशी र व्यवहारिक रूपमा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताप्रति प्रतिबद्ध रहेको जनाउँदै मन्त्री श्रद्धा श्रेष्ठको बोर्डमा ब्रेल लिपि एम्बोस गरिएको सूचनात्मक बोर्डको व्यवस्था मिलाइएको उनको सचिवालयले जनाएको छ।
मन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनको भिजिटिङ कार्डमा समेत ब्रेल लिपिको प्रयोग गरिएको छ। यसले दृष्टिविहीन नागरिकलाई आवश्यक जानकारीमा प्रत्यक्ष पहुँच सुनिश्चित गर्नेछ।
मन्त्रालयमै कार्यरत दृष्टिविहीन कर्मचारी नीरा अधिकारीले ब्रेल लिपिसहितको उक्त बोर्ड प्रयोग गरी यस किसिमको व्यवस्थाले अन्य दृष्टिविहीन व्यक्तिका लागि उपयोगी, सहज र व्यवहारिक हुने प्रतिक्रिया दिइन्।