गुल्मी। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज (आइतबार) सम्मान गरिएको हो।
रेसुङ्गा नगरपालिकाद्वारा धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शनसहित सम्मान गरिएको हो। ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपीएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता थियो।
ट्रफी प्रदर्शनस्थलमा रेसुङ्गा माविका विद्यार्थीले पञ्चेबाजासहित यज्ञशाला परिसर क्षेत्रमा टोलीलाई स्वागत गरेका थिए। ट्रफीसहित गुल्मी आइपुगेको लुम्बिनी लायन्स टोलीमा गुल्मीका खेलाडी तिलकराज भण्डारी पनि उपस्थिति थिए। ट्रफी प्रदर्शन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले नगर स्थापना दिवसका अवसरमा खेलाडी भण्डारीलाई रु २५ हजार नगदसहित सम्मान गर्ने घोषणा गरे।
त्यस अवसरमा खेलाडी भण्डारीले गुल्मी जिल्लासँग जोडिएर क्रिकेट खेल्ने अवसर पाउनु आफैँमा गर्वको विषय भएको बताए। रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले पछिल्लो समयमा नागरिकमा खेलप्रति आकर्षण बढ्दै गएको भन्दै खेलाडीको मिहिनेतमा ऊर्जा भर्न खेलकुद क्षेत्रको विकासमा कुनै कन्जुस्याइँ गर्न नहुने बताए। ट्रफी बोकेर गुल्मी आइपुगेको लुम्बिनी लायन्सको टोली रेसुङ्गाको यज्ञशाला, सदरमुकाम तम्घास हुँदै छत्रकोट र रुरु क्षेत्रमा ट्रफी प्रदर्शन गरी पाल्पा फर्किसकेको छ।