काठमाडौँ। उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीबीच एकता भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने आइतबार निर्णय गरेका हुन्।
काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पार्टी एकीकरणको निर्णय गरेको हो। विगतमा एउटै पार्टीमा रहेर पछि विभाजित भएका यादव र ठाकुर पुन: एकीकृत भएका हुन्।
जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिअनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न र संघीयता‚ पहिचान‚ समानुपातिक समावेशिता एवं सामाजिक न्याय जस्ता अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउन दुई दल एक ठाउँमा उभिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ‚ “अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी जसपा‚ नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो।”
