काठमाडौँ। महिला शिक्षक एक जनालाई प्रदान गरिने गरी ५१ हजार रुपैयाँको ‘मीना दिदी पुरस्कार’ स्थापाना भएको छ।
समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता लेखक नीलम कार्की निहारिकाबाट आमा मीनाकुमारी कार्कीको नाममा पुरस्कार राखिएको हो। मीनाकुमारीले २०२३ सालदेखि अध्यापन सुरु गरेकी थिइन्। उनले अर्घाखाँची र पाल्पा झडेवाको किसान माविमा गरी अविछिन्न २७ वर्ष अध्यापन गरेकी थिइन्।
“हाम्रो आमाजस्तै संघर्षशील, उत्प्रेरक र इमानदार महिला शिक्षकबाट छनोट गरेर वर्षमा एक जनालाई पुरस्कार दिने योजना छ‚” नीलमले भनिन्, “सिफारिसचाहिँ स्वयं शिक्षकले गर्नु पर्दैन। अभिभावक, विद्यार्थी, सहकर्मी जो-सुकैले छोटो परिचयसहित सिफारिस गरिदिन गर्न सक्ने प्रावधान राखेका छौँ।” सिफारिस [email protected] पठाउन सकिनेछ। पुरस्कारका लागि आवेदन माग भइसकेको छ।
यस्तै किसान माविका भूपू विद्यार्थी मिलेर उमाकान्त पोखरेलको संयोजकत्वमा मीनाकुमारी कार्की जीवित छँदै ‘मिना दिदी’ पुस्तक प्रकाशन गरेर आफ्नी गुरुआमालाई सम्मान व्यक्त गरेका थिए। मिनाका छोरा देवेन्द्र कार्की र पति भद्रबहादुर कार्की २०५६ सालमा दुर्घटनामा परेर दिवंगत भएका थिए।
मिना दिदीको निधन २१ माघ २०७८ मा भएको थियो। उनले पढाएको किसान माविको वार्षिकोत्सव आगामी ५ फागुनमा हुँदै छ। सोही दिन पुरस्कार प्रदान गरिनेछ।