काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

१४ पुष २०८२
अ+
अ-

काठमाडौँ। गृह मन्त्रालयमा सरुवा भएर आएका सचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गरेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आएका श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई गएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गरेको कार्यप्रति धन्यवाद दिँदै बिदाइ गरे।

यस्तै गृहसचिवको नयाँ जिम्मेवारी सम्हालेका श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिए।

यसअघि मन्त्रालयमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारी साथीको साथ-सहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए।

उनले आगजनी र खरानीबाट उठेको यस मन्त्रालयलाई अहिले सामान्य अवस्थामा ल्याउन सरुवा भएर गएका गृहसचिव दंगालसमक्ष आभार प्रकट गरे। ११ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव दंगालको लोकसेवा आयोगमा र सचिव श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा सचिव श्रेष्ठले अहिलेको बदलिँदो परिस्थिति र नागरिकको जनभावनाअनुरूप सेवा प्रदान गर्न सबै कर्मचारीलाई निर्देशन दिए। बिदाइ कार्यक्रममा मन्त्रालयका सहसचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति थियो।