काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

१४ पुष २०८२
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभामा अध्यक्ष उपेन्द्र यादवलगायत। तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुर। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसकेन्द्रित दलहरूबीच अहिले एकीकरणको लहर चलेको बताएका छन्। जनतामा यसले उत्साह थपिएको यादवको जिकिर छ।

उनले सामानता‚ न्यायपूर्ण सङ्घर्ष र संविधान संशोधनलगायत मुद्दालाई सम्बोधन गर्न सबै मधेसकेन्द्रित दल एकै ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए। उनले मधेसी जनताको अधिकार संविधान संशोधनलगायत मुद्दाका लागि संघर्ष आवश्यक रहेको र संघर्षका लागि सबै दलहरू एकै ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए।

उनले भने‚ “संघर्ष अहिलेको आवश्यकता छ। त्यसकारण संघर्षका लागि सबै शक्तिहरु एक हुनुपर्छ। आउनुस् हामी सबै मिलेर जनताको अधिकार संघीयताको सबलीकरण को लागि एक हुनुपर्छ।” नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस सरकार चलाउन अक्षम साबित भइसकेको उनले दाबी गरे। पार्टीको प्रदेशस्तरीय विरोध सभामा अध्यक्ष यादवले दुवै पार्टीकै अक्षमताका कारणले जेन-जी आन्दोलन भएको दाबी गरे। उनले भने‚ “जेन-जी आन्दोलनमा भ्रष्टाचार गरेका नेताहरूको घरमा सुन र पैसा निस्किरह्यो आगो लागिरह्यो यो सबै उनीहरुले विगतमा शासनसत्तामा गरेका भ्रष्टाचार उदांगो भएको छ।”

उनले अहिलेको निर्वाचन प्रणाली महँगो र खर्चिलो भएका कारण यसमा सबै वर्गको प्रतिनिधित्व हुन नसक्ने बताए। उनले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिए। अहिले सामाजिक न्याय र क्षमताको लडाइँमा आफ्नो पार्टी लागेको भन्दै उनले निर्वाचन पनि एक किसिमले एउटा लडाइँ नै भएको धारणा राखे। संघीयताले विभेदलाई अन्त्य गरेको बताउँदै उनले कांग्रेस‚ कम्युनिस्टकै कारण शासन व्यवस्थामा भने विभेद जारी रहेको बताए।