काठमाडौँ। प्रहरीले बीपी राजमार्गबाट ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ५ का ३४ वर्षीय मोहम्मद समसिर छन्।
बा.५ख १९६७ नम्बरको हायसमा यात्रारत उनलाई सिन्धुलीको कमलामाई नगरपालिका ९‚ भिमान चेकपोस्टबाट मंगलबार दिउँसो पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) लालध्वज सुवेदीले बताए। समसिर गाडीको पछाडि सिटमा बसेका थिए।
इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले राजविराजबाट काठमाडौँ जाँदै गरेको हायसमा जाँच गरेको थियो। जाँचका क्रममा समसिरको साथबाट १९५.५९० ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताए।
समसिरले नीलो रङको जिन्स पाइन्ट लगाएका थिए। पाइन्टको अगाडिको दायाँ खल्तीमा दुईवटा प्लास्टिकमा पोको पारेको ब्राउनसुगर भेटिएको थियो।
पक्राउ परेका समसिरलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ। प्रहरीले बीपी राजमार्गमा लागुऔषध सेवन गरी सवारीसाधन चलाउने व्यक्ति तथा ओसारपसारलाई निगरानी राख्दै आएको छ। भारतीय बजारबाट लागुऔषध खरिद गरी स्थलमार्ग हुँदै राजधानी भित्र्याउने क्रम बढेपछि प्रहरीले जाँच बढाएको छ।