काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलब्ध गराउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।
विभागका महानिर्देशकद्वारा जारी सूचनामा प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री-वितरणको गुणस्तर कायम गर्न तथा त्यसको प्रभावकारी अनुगमन र निरीक्षणलाई व्यवस्थित गर्न ‘प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका-२०७४’ लागु भइसकेको जनाएको छ।
सूचनाअनुसार अर्थोपेडिक इम्प्लान्ट, इनभिट्रो डायग्नोस्टिक, अपरेसन थिएटरमा प्रयोग हुने स्वास्थ्य सामग्री हृदय तथा शल्यक्रियाजन्य वस्तुजस्ता स्वास्थ्य सामग्री तथा उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादक र पैठारी गर्ने फर्महरूले तोकिएको विवरण विभागमा बुझाउनुपर्नेछ।
विभागले स्वदेशी उत्पादकको नाम र ठेगाना, पैठारीकर्ताको नाम र ठेगाना, उत्पादकको नाम र ठेगाना तथा स्वास्थ्य सामग्री र उपकरणको नाम स्पष्ट रूपमा उल्लेख गरी विभागको सूचना प्राप्त भएको मितिले सात दिनभित्र विवरण पठाउन पनि आग्रह गरेको छ।
