काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

खिचिक्क

डुब्दो घाम हेर्न आन्तरिक पर्यटकको गन्तव्य बनिरहेको बोराबाँध

१५ पुष २०८२
कोसीको बोराबाँधमा डुंगामा यात्रा गरिरहेकाहरू। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगरका अविनाशकुमार निधिले शनिबार बिहानै एउटा गाडी रिजर्भ गरे। गन्तव्य थियो, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित ‘बोराबाँध’। सप्तकोसी किनारमा रहेको यो ठाउँबारे पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको चर्चाले उनलाई त्यहाँ तानेको थियो।

साँझ ५ बज्दै गर्दा जब सूर्यको लालिमा पहाडका थुम्काबाट पोखिएर सप्तकोसीको शान्त सतहमा झर्‍यो, निधि मन्त्रमुग्ध भए। “टिकटक र फेसबुकमा यहाँको धेरै फोटो हेरेको थिएँ, तर प्रत्यक्ष हेर्दाको अनुभूति बयान गर्नै नसकिने जादुमयी हुने रहेछ,” उनले अनुभव सुनाए।

बोराबाँधमा उनीजस्तै दैनिक कैयौँ मानिस सूर्यास्तको मोहक दृश्यावलोकन गर्न पुग्छन्। यो ठाउँ आन्तरिक पर्यटकका लागि पूर्वको अर्को ‘श्रीअन्तु’ का रूपमा परिचित हुँदै गएको छ। इलामको श्रीअन्तु सूर्योदयका लागि प्रख्यात छ भने बोराबाँध सूर्यास्तको रमणीय दृश्यका लागि चिनिन थालेको छ। खुला आकाश, सप्तकोसी नदीको विशाल बहाव र क्षितिजमा हराउँदै गरेको सूर्यले बनाउने सुनौलो दृश्य कैद गर्न यहाँ अवलोकनकर्ताबीच मीठो प्रतिस्पर्धा चल्छ।

कुनै समय कोसीको यो किनार स्थानीयवासीको फुर्सदको समय व्यतीत गर्ने थलो मात्र थियो। तर, स्थानीय युवाहरूले खिचेका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि बोराबाँधको भाग्य एकाएक बदलियो। अहिले यहाँ शनिबार मात्र होइन, अन्य दिनमा पनि पर्यटकको घुइँचो लाग्छ। स्थानीय होटल व्यवसायी रोशन श्रेष्ठका अनुसार यो ठाउँ बराहक्षेत्रको नयाँ पर्यटकीय गन्तव्य बनेको छ। “पहिले मानिसहरू खासै आउँदैनथे, अहिले त शनिबार सयौँ मानिसको भीड हुन्छ,” उनी भन्छन्, “बोराबाँधले स्थानीय अर्थतन्त्रलाई नयाँ आधार दिएको छ। होटल र रेस्टुरेन्टहरू खुल्न थालेका छन्।”

यहाँ धरान, इटहरी, इनरुवा र विराटनगरका साथै सीमावर्ती भारतीय सहर बिहारबाट समेत पर्यटक आउने गरेका छन्।

बोराबाँध पुग्नेहरू सूर्यास्तको दृश्य हेरेर मात्र फर्कंदैनन्, कोसीमा डुंगा सयर पनि गर्छन्। यसका साथै घोडचढी, र्‍याफ्टिङ र बालबालिकाका लागि निर्माण गरिएका खेलस्थलले यस ठाउँलाई पारिवारिक गन्तव्य बनाएको छ। डुंगा सयरमा पानीको छालमा हेलिँदै गर्दा शरीरमा सुनौलो उज्यालो पर्दाको आनन्दले पर्यटकका सबै थकाइ मेटिने विराटनगरका अंकित पोखरेलले बताए।

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका अनुसार नगरले यस ठाउँलाई विशेष पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको छ। “कोसीटप्पु वन्यजन्तु आरक्षपछिको यो अर्को महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ,” उनी भन्छन्, “यसको पूर्वाधार विकास र प्रवर्द्धनमा नगरपालिका सक्रियताका साथ लागेको छ।”

पर्यटकको आगमनसँगै यहाँ जोखिम र चुनौती पनि थपिएका छन्। काठका डुंगा र मेसिनबाट चल्ने बोटहरूमा लाइफ ज्याकेटको अनिवार्य प्रयोग नहुँदा जोखिमको अवस्था छ। कोसीको मुख्य बहाव क्षेत्रमा लाइफ ज्याकेटविनै डुंगा सयर गराइँदा कुनै पनि बेला दुर्घटना हुन सक्ने खतरा छ। यो संवेदनशील विषयमा नगरपालिका, स्थानीय प्रशासन र पर्यटन समितिले ध्यान दिन नसकेको स्थानीयवासीको गुनासो छ।

कसरी पुग्ने?

पूर्व-पश्चिम राजमार्गको सुनसरीस्थित कान्छीचोकबाट करिब २० किलोमिटर उत्तर-पश्चिम लागेपछि बोराबाँध पुगिन्छ। कान्छीचोकबाट कालाबन्जार, बांगेबजार हुँदै बोराबाँध पुग्न सकिन्छ।