काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

निर्वाचन

बहिष्करणमा परेका समूहका लागि प्रबन्ध गरिएको समानुपातिक प्रणालीमा पनि पहुँचवाला र प्रभावशालीकै हालीमुहाली

कलाकारहरू प्रकाश सपुत, रीमा विश्वकर्मा, त्रिशला गुरुङ, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, आशिफ शाह, पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल र व्यवसायी सचिन ढकाल
अ+
अ-

२३ र २४ भदौको जेन-जी आन्दोलनका बेला धेरै कलाकारले आन्दोलनको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका थिए। तीमध्ये केही कलाकार त सडकमै उत्रिए पनि।

अहिले त्यस आन्दोलनका केही पक्षधर कलाकारहरू आसन्न प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फको बन्दसूचीमै अटाएका छन्। यी प्रभावशाली सेलिब्रेटीका नामबारे मूल्यांकन र टीकाटिप्पणीसमेत भइरहेको छ।

समानुपातिकतर्फको बन्दसूचीमा अवसरबाट वञ्चितहरूलाई समावेशी हिसाबले स्थान दिनुपर्ने संविधानले नै निर्दिष्ट गरेको छ। यसविपरीत विभिन्न राजनीतिक दलको बन्दसूचीमा नामुद र आर्थिकरूपमा सबल सेलिब्रेटीहरूको नाम समावेश हुँदा यसले समानुपातिक समावेशिताकै धज्जी उडाएको धेरैले टिप्पणी गरेका छन्।

सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम म्याद थियो। आयोगमा रास्वपाले बुझाएको समानुपातिकतर्फको सूचीमा गायक, गायिका, कलाकार, मोडलदेखि क्रिकेटरसम्मका नाम समावेश भए। सूचीमा प्रकाश सपुत, त्रिशला गुरुङ, अनुष्का श्रेष्ठ, रीमा विश्वकर्मा, आसिफ शाहलगायत सेलिब्रेटी छन्। पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल र नेपाल सुपर लिग क्लब एफसी चितवनका मालिक सचिन ढकालसमेत सूचीमा समावेश छन्।

कलाकार सपुतले जेन-जी आन्दोलनका बेला आफ्ना भाइहरूलाई २५/२५ हजार रुपैयाँ पठाउँदै सहभागीहरूलाई पानी बाँड्ने र सहयोग गर्ने जिम्मेवारी दिएका थिए। यस्तै, गायिका गुरुङले आफू देशबाहिर भए पनि युवाहरूको आन्दोलनप्रति सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाएकी थिइन्।

आन्दोलनपछि घाइते युवाहरूको स्याहारमा समर्पित आशिका तामाङले भने सार्वजनिक बन्दसूचीले समानुपातिक प्रणालीको मान्यताकै धज्जी उडाएको फेसबुकमा टिप्पणी गरेकी छन्। उनले ‘समानुपातिक भनेको के हो?’ भन्ने प्रश्न गर्दै लेखेकी छन्- ‘समानुपातिक भनेको पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरूलाई छुट्ट्याइएको कोटामा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोराछोरी सांसद र मन्त्री हुने भए Nepokids विरुद्धको ७३ जना जेन-जी भाइबुहिनाले राज्यलाई दिएको आहुती र बलिदान आज यही दिन देख्न हो?’

तामाङले भनेझैँ गायक तथा अभिनेता सपुत दलित कोटाबाट समानुपातिक बन्दसूचीको दोस्रो स्थानमा छन्। यही सूचीमा चिकित्सक तथा कलाकार रूपक विश्वकर्मा घिमिरेसमेतको नाम छ। टेलिभिजन प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्मा दलित महिला कोटाबाट पहिलो स्थानमा छिन्। कलाकार आशिफ शाह मुस्लिम कोटाबाट पहिलो स्थानमा परेका छन् भने आदिवासी महिला कोटामा सूचीको चौथो स्थानमा २०७६ सालकी मिस नेपाल अनुष्का श्रेष्ठको नाम छ। समानुपातिककै सूचीमा गायिका सत्यकला राईको नाम पनि समावेश छ।

रास्वपाजस्तै नेकपा (एमाले)बाट कोमल वली र राप्रपाबाट खुश्बु ओलीको नाम समानुपातिकतर्फ परेको छ। नेकपा (एमाले)ले राष्ट्रिय जनसांस्कृतिक महासंघकी अध्यक्ष गायिका भूमिका सुब्बा जनजाति महिला कोटाको पहिलो नम्बरमा परेकी छन्।

कोमल वली

संविधानको धारा ८४ को उपधारा २ मा समानुपातिक निर्वाचन प्रणालीबारे व्यवस्था गरिएको छ। ‘समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रसमेतबाट बन्दसूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानुनबमोजिम हुनेछ। त्यसरी उम्मेदवारी दिँदा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनुपर्नेछ,’ संविधानमा भनिएको छ।

निर्देशक दीपेन्द्र लामा भने सेलिब्रेटी कलाकारहरूको राजनीतिक सक्रियतालाई देश बनाउने अभियान मान्दैनन्। बरु, यसलाई दलहरूले कलाकारको चर्चाको उपयोग गर्ने र कलाकारले आफ्नो लोकप्रियतालाई राजनीतिक शक्ति आर्जन गर्ने माध्यम बनाउने अभ्यास मान्छन्।

अर्थात् समानुपातिकतर्फको बन्दसूचीमा अवसरबाट वञ्चितहरूलाई समावेशी हिसाबले स्थान दिनुपर्ने संविधानले नै निर्दिष्ट गरेको छ। यसविपरीत विभिन्न राजनीतिक दलको बन्दसूचीमा नामुद र आर्थिकरूपमा सबल सेलिब्रेटीहरूको नाम समावेश हुँदा यसले समानुपातिक समावेशिताकै धज्जी उडाएको धेरैले टिप्पणी गरेका छन्। तर, गायक तथा अभिनेता सपुत समानुपातिक सूचीमा आफ्नो नाम पर्नु स्वाभाविक भएको दाबी गर्छन्। “मलाई जुन समूहमा छनोट गरिएको छ, मैले पनि त्यही समुदायको प्रतिनिधित्व गरेको छु। त्यही सूचीमा मेरो नाम राख्दा मैले बढी काम गर्न सक्छु भन्ने हिसाबले मेरो नाम सिफारिस भएको मैले बुझेको छु,” उनले भने, “म र अन्य कलाकार वा आफ्नो क्षेत्रमा स्थापित नामहरू प्रिभिलेज्ड भएर आएकोजस्तो देखियो। तर, यो हाम्रो लोकप्रियता सदुपयोग गरेर देश बनाउने मौका हो।”

सपुतले राजनीतिमा करिअर बनाउने उद्देश्यले नभई औपचारिक रूपमै देश बनाउने अभियानमा जोडिएको दाबी गरे। “पछिल्लो समय रास्वपाको कार्यशैली, बालेनजीको उदय र जेन-जी आन्दोलनपछिको परिदृश्यमा म जोडिएको हुँ। राजनीतिलाई कि बेवास्ता गर्नुपर्‍यो कि औपचारिक रूपमा जोडिनुपर्‍यो भन्ने मेरो पहिल्यैदेखिको सोच थियो,” उनले भने, “आफ्नो तर्फबाट नयाँ शक्तिलाई स्थापित गर्दै धेरै-थोरै जति सकिन्छ, देशका लागि काम गर्ने उद्देश्य हो।”

उनी आफूजस्तै अरू कलाकार पनि देशका लागि केही गर्ने यो सही मौका भएको सोचेर जोडिएको ठान्छन्।

निर्देशक दीपेन्द्र लामा भने सेलिब्रेटी कलाकारहरूको राजनीतिक सक्रियतालाई देश बनाउने अभियान मान्दैनन्। बरु, यसलाई दलहरूले कलाकारको चर्चाको उपयोग गर्ने र कलाकारले आफ्नो लोकप्रियतालाई राजनीतिक शक्ति आर्जन गर्ने माध्यम बनाउने अभ्यास मान्छन्। उनले भने, “यो अभ्यास नयाँ होइन। पञ्चायतकालदेखि नै कलाकारहरू सत्ता र शक्तितिर ढल्किने प्रवृत्ति थियो। बहुदलपछि पनि यो प्रवृत्ति अझै निरन्तर छ।”

खुश्बु ओली

निर्देशक लामाले भनेजस्तै सेलिब्रेटीहरूको राजनीतिक चरित्र रंग बदलिइरहने छेपारो प्रवृत्तिको छ। अभिनेत्रीद्वय रेखा थापा र करिश्मा मानन्धरलगायत यसका प्रतिनिधि उदाहरण हुन्। २०७० सालमा नेकपा (माओवादी) प्रवेश गरेकी थापा अध्यक्ष पुष्पकमल दाहालसँग छमछमी नाचेकी थिइन्। उनै थापा २०७३ मा अध्यक्ष कमल थापाको हातको टीका लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरिन्।

तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीतिमा होमिएकी मानन्धर २०७८ सालमा नेकपा (एमाले) प्रवेश गरेकी थिइन्। त्यतिबेला उनले आफ्नो न्वारानको नाम सूर्यकुमारी रहेको भन्दै एमालेको चुनावचिह्नसँग नाम मिलेको प्रसंगसमेत निकालेकी थिइन्।

बहिष्करणमा परेका समूहका लागि प्रबन्ध गरिएको समानुपातिक प्रणालीको मर्मविपरीत बन्दसूचीमा अटाएका यी सेलिब्रेटीले आलोचनाकै बावजुद नीतिनिर्माण तहमा पुगेर क्षेत्रगत हितमा काम गरे त प्रशंसा नै होला, नत्र उनीहरू पनि पुराना दलले दुरुपयोग गर्दै समानुपातिक सांसद बनाएकाहरूभन्दा फरक हुनेछैनन्।

कलाक्षेत्रजस्तै नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाम धेरैका लागि समानुपातिक सूचीमा अनपेक्षित थियो। क्रिकेट मैदानको ‘बाउन्ड्री लाइन’ बाट बाहिर निस्कँदै मल्ल अब नीतिनिर्माण तहबाट खेलकुद र युवाका मुद्दा उठाउने सोचमा रहेको बताउँछन्। “खेलकुदको पृष्ठभूमि भएको कारण मलाई रास्वपाबाट प्रस्ताव आएको हो। अवसर पाए खेलकुदमा नीतिगत सुधार गर्ने पहल गर्छु,” उनले भने।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालको नामले पनि धेरैलाई आश्चर्यमा पारेको छ। यसअघि पर्यटन व्यवसायमा सक्रिय ढकाल एफसी चितवनका मालिक बनेपछि नेपाली फुटबलमा नयाँ पहिचानसहित देखा परेका हुन्।

रास्वपाले खसआर्य क्लस्टरअन्तर्गत समानुपातिक सूचीमा दोस्रो नम्बरमा ढकालको नाम प्रस्ताव गरेको छ। ढकाल आफ्नो पृष्ठभूमि स्पष्ट पार्दै भन्छन्, “पछिल्लो समय खेलकुदमा सक्रिय छु। युवा पनि हुँ। यही पृष्ठभूमिका कारण समानुपातिक सूचीमा परेको हुँ।”

मल्ल र ढकाल दुवै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहनिकट मानिन्छन्।

पत्रकार समा थापाले सामाजिक सञ्जालमार्फत पुराना दलले समानुपातिक प्रणालीलाई पैसा र नातेदारसँग साट्दा नयाँ भनिएका दलले समेत यसलाई ‘भाइरलिज्म’ सँग साटेको टिप्पणी गरेकी छन्। उनले लेखेकी छन्, ‘समानुपातिकको सूची हेर्नुभयो? समानुपातिक त सञ्जाल नभएका, आफ्नो विचार पुर्‍याउन नसक्ने, मूलधारमा नअटाएकाहरूका लागि होइन? जसको प्लेटफर्म छ, आवाज छ उसैलाई स्पिकर दिने व्यवस्था हो र? पुरानाले यो प्रणाली पैसा र नातेदारसँग साटे, आज नयाँले भाइरलिज्मसँग साटे। विचार नबिक्ने समाजमा अनुहार बिकाउने होड ठीकै होला।’

पत्रकार थापाले भनेझैँ बहिष्करणमा परेका समूहका लागि प्रबन्ध गरिएको समानुपातिक प्रणालीको मर्मविपरीत बन्दसूचीमा अटाएका यी सेलिब्रेटीले आलोचनाकै बावजुद नीतिनिर्माण तहमा पुगेर क्षेत्रगत हितमा काम गरे त प्रशंसा नै होला, नत्र उनीहरू पनि पुराना दलले दुरुपयोग गर्दै समानुपातिक सांसद बनाएकाहरूभन्दा फरक हुनेछैनन्।