काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

अख्तियारद्वारा भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष पोखरेलसहित  पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१६ पुष २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गैरसुकुम्बासीलाई तीन रोपनी तीन आना जग्गा दिलाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पोखरेलसहितलाई बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर हुनेमा तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्य आशबहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली र भीमबहादुर विक छन्। उनीहरूसँग जनहीँ एक करोड ४० लाख २५ हजार रुपैयाँ बिगो तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले बताए।

अख्तियारका अनुसार ५ चैत २०८० मा पोखरा महानगरपालिका २६ स्थित सामुदायिक अमरज्योति विद्यालय परिसरको तीन रोपनी तीन आना भीमबहादुर विकलाई पास गरेको खुलेको छ।

गैरसुकुम्बासी रहेको तथ्यमा जानकारी रहँदा-रहँदै आयोगबाट सिफारिस गरी जग्गा धनीपुर्जा दिएको अनुसन्धानमा देखिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।