निर्वाचन
कुनै दलमा दोहोर्याई-तेहेर्याई उही अनुहार, कुनैमा सेलिब्रिटीको लर्को
नेकपा (एमाले)की केन्द्रीय सदस्य शान्ता चौधरी समानुपातिक सूचीमा तेहेरिने पहिलो महिला नेत्री बनेकी छन्। उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिकतर्फ सभासद् भएकी थिइन्। त्यसबेला २८ वर्षमा पूर्वकमलरी सभासद् बनेको भन्दै चर्चा भएको थियो। यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले समानुपातिक सांसद बन्ने अवसर पाइन्। २०६४ सालमा मधेसी क्लस्टरमा परेकी उनी २०७४ सालको चुनावमा भने थारू महिलाबाट निर्वाचित भएकी थिइन्। यसपालि उनी तेस्रोपटक समानुपातिकको सूचीमा परेकी छन्। एमालेले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उनको नाम थारू महिला क्लस्टरमा दोस्रो नम्बरमा छ।
एमालेले समानुपातिकमा पटक पटक अवसर दिएका व्यक्तिहरूमा चौधरी एक्ली होइनन्। एमालेबाट दोहोरिएर समानुपातिक सूचीमा पर्नेहरू थुप्रै छन्। दलित पुरुषतर्फ जितु गौतम, खस आर्य महिलातर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, निरु पाल, जनजाति महिलातर्फ लक्की शेर्पा र नरदेवी पुन यसअघि पनि समानुपातिकबाटै सांसद थिए। यसरी दोहोरिएर समानुपातिक सूचीमा पर्नेहरू अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका नेता हुन्।
यसपटक एमालेले मापदण्ड तोकेर समानुपातिक उम्मेवारको छनोट गरेको थिएन। तल्लो कमिटीहरूले औपचारिक बैठक नराखी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शमा सूची तयार पारेका थिए। उक्त सूची सचिवालय बैठकमा प्रस्तुत गरिएको थियो। बैठकले सूचीलाई अन्तिम रूप दिने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको थियो।
समानुपातिक उम्मेदवारको सूची बाहिरिएसँगै समावेश गरिएका नामहरूबारे एमालेभित्र असन्तुष्टि र आलोचना सुरु भएको छ। समावेशी प्रतिनिधित्व र राज्यशक्तिमा पहुँच नभएका सीमान्तीकृत समुदायलाई अवसर दिन संविधानमै समानुपातिक प्रणालीको व्यवस्था भएको हो। तर, नेतृत्वको कृपामा एकै व्यक्तिलाई पटक पटक अवसर दिइएको भन्दै एमालेभित्र असन्तुष्टि प्रकट भइरहेको छ।
लक्की शेर्पा पहिलो संविधानसभा चुनावमा एमालेबाटै समानुपातिक सांसद भएकी थिइन्। दोस्रो संविधानसभा चुनावको ठीक अगाडि माओवादीमा प्रवेश गरिन्। माओवादीको कोटामा शेर्पा अस्ट्रेलियाका लागि नेपाली राजदूत भएकी थिइन्।
एमालेले उपाध्यक्ष रामबहादुर थापालाई आदिवासी जनजाति समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ भने राष्ट्रिय जनसांस्कृतिक महासंघकी अध्यक्ष भूमिका सुब्बा लिम्बू आदिवासी जनजातिको पहिलो नम्बरमा छिन्। त्यसैगरी खसआर्यको पहिलो नम्बरमा पूर्वउपाध्यक्ष गुरु बराल छन् भने खसआर्य महिलाको पहिलो नम्बर सचिव पद्मा अर्याल छिन्। अर्याल २०६४ सालमा समानुपातिकबाटै सांसद बनेकी थिइन्। २०७४ सालको चुनावमा भने उनी स्याङ्जा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।
एमाले नेता गोकुल बाँस्कोटाले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै समानुपातिक कोटामा बसेकामा असन्तोष प्रकट गर्दै त्यस्ता नेतालाई चुनाव लड्न चुनौती दिएका छन्। पटके समानुपातिकले नाम फिर्ता लिनुपर्ने सुझाव दिएका उनले समावेशिताकै बेइज्जत नगर्नसमेत आग्रह गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो। अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन्। रुख-सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले। समावेशिताकै बेइज्जत नगर के- त्यो पनि पुरुषले।’
बाँस्कोटाको भनाइ उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित देखिन्छ। मंगलबार मात्रै थापाले मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा निर्वाचनमा कांग्रेस र एमालेले सहकार्य गर्न सक्ने बताएका थिए। २०६४ सालमा प्रतिनिधिसभा चुनावमा माओवादीबाट प्रत्यक्षतर्फ जितेका थिए भने २०७४ सालमा राष्ट्रिय सभा सांसद थिए।
गुरु बराल ओली एमाले अध्यक्ष बनेयता बढी अवसर पाउने नेताहरूमध्ये पर्छन्। एमालेले उनलाई २०७८ सालमा राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको थियो। चुनावमा बराबर मत भएपछि गोला थुत्दा बराल पराजित भएका थिए। भदौ २०८० मा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि ओलीले बराललाई उपाध्यक्ष बनाएका थिए। मंसिरमा भएको एमालेको ११औँ महाधिवेशनमा बराल ओली प्यानलको उपाध्यक्ष उम्मेदवार थिए। तर, उनी उपाध्यक्ष मात्रै नभई केन्द्रीय सदस्यमा पनि पराजित भए।
एमालेको समानुपातिक सूचीमा रहेकी टुकाभद्र हमाल २०७० सालमा समानुपातिक सांसद भएकी थिइन्। त्यस्तै, राष्ट्रिय सभाकी पूर्वसांसद कोमल वलीलाई पनि एमालेले समानुपातिक सूचीमा राखेको छ। यसअघि वली एमालेबाट राष्ट्रिय सभा सांसद थिइन्।
लक्की शेर्पा पहिलो संविधानसभा चुनावमा एमालेबाटै समानुपातिक सांसद भएकी थिइन्। दोस्रो संविधानसभा चुनावको ठीक अगाडि माओवादीमा प्रवेश गरिन्। माओवादीको कोटामा शेर्पा अस्ट्रेलियाका लागि नेपाली राजदूत भएकी थिइन्। मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी शेर्पा २०७९ सालमा एमाले फर्किएकी हुन्।
म्याग्दीकी नरदेवी पुन २०७० सालको संविधानसभा चुनावमा समानुपातिकबाट सभासद् भएकी थिइन्। त्यस्तै, पूर्वमन्त्री मञ्जु चौधरीलाई एमालेले थारू महिलाको सूचीमा पहिलो स्थानमा राखेको छ। केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जितु गौतम पनि समानुपातिक सूचीमा छन्। झापाका गौतम २०७० सालमा पनि समानुपातिकबाट सभासद् बनेका थिए।
एमालेको समानुपातिक सूचीमा नयाँ पुस्ताका नेताहरूले पहिलोपटक अवसर पाएका छन्। मिना बराम, मनकुमारी तितुङ, मायादेवी पाडेनी, भक्तकुमारी लामा, रामपुकार दास तत्म, सन्तबहादुर चेपाङ, इच्छा चौधरी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवा, निता घतानीलगायत युवा सूचीमा समेटिएका छन्।
नेपाली कांग्रेसले विगतमा समानुपातिकबाट सांसद भएका नेताहरूलाई यसपटक समानुपातिकमा ठाउँ दिएको छैन। प्रत्यक्षबाट सांसद जितेका र मन्त्री भएका नेताहरूलाई भने समानुपातिकमा राखेको छ। त्यसैगरी नेताका नातेदार समानुपातिक सूचीमा प्राथमिकतामा परेका छन्।
राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी रास्वपाको समानुपातिक सूचीमा छिन्। समानुपातिकमा जानुको बचाउ गर्दै उनी महिला, अल्पसंख्यक र सीमान्तीकृत समुदायका मानिसले अझै पनि प्रत्यक्ष चुनाव लड्न सक्ने अवस्था नभएको बताउँछिन्।
कांग्रेसले यसपटक पुराना नेता अर्जुननरसिंह केसीलाई समानुपातिकमा राखेको छ। पञ्चायतकालदेखि नै सांसद रहँदै आएका केसी पटक पटक मन्त्री भएका नेता हुन्। यसैगरी, कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि समानुपातिक सूचीमा छन्। काठमाडौँ ६ बाट लगातार तीनपटक सांसद भएका भीमसेनदास प्रधान यसपटक समानुपातिक सूचीमा परेका छन्। उनी पूर्वमन्त्रीसमेत हुन्। रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा छन्। उनी पनि पटक पटक सांसद भएका नेता हुन्।
त्यसैगरी, कांग्रेसको सूचीमा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव मधेसी कोटामा समेटिएका छन्। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल र नेता विमलेन्द्र निधिकी भाञ्जी निनु कर्ण पनि समानुपातिक सूचीमा छन्।
‘समानुपातिक प्रणालीको दुरुपयोग’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि पार्टी सदस्यहरूबाट ‘प्राइमरी इलेक्सन’ गराएको थियो। तर, उक्त मतदानमा बढी मत ल्याउने व्यक्तिहरू सूचीमा प्राथमिकतामा नपरेपछि विवाद देखिएको छ। प्राइमरी इलेक्सनमा खसआर्यतर्फ पहिलो नम्बरमा रमेश प्रसाईं आएका थिए। तर, पार्टीले बुझाएको सूचीमा उनी पाँचौँ नम्बरमा छन्। प्राइमरी इलेक्सनमा तेस्रो नम्बरमा रहेका विपिन आचार्य खसआर्यको पहिलो नम्बरमा छन्। त्यसैगरी, दलिततर्फको सबैभन्दा बढी मत ल्याउने विजय जैरु र आदिवासी जनजातिबाट उत्तरकुमार गुरुङ समानुपातिक सूचीमा परेनन्। प्राइमरीमा तेस्रो नम्बरमा रहेकी प्रतिभा रावल खसआर्यको पहिलो नम्बरमा छिन्।
समानुपातिक सूचीको विषयमा रास्वपाका नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि प्रकट गरेका छन्। राजनीतिक व्यक्तिभन्दा पनि सेलिब्रेटी र व्यवसायीहरूलाई प्राथमिकता दिएको भन्दै आलोचना भएको छ। रास्वपाको सूचीमा कलाकारहरू प्रकाश सुपत, रीमा विश्वकर्मा, त्रिशला गुरुङ, आसिफ शाह तथा व्यवसायीहरू सचिन ढकाल, विदुषी राणा, लिमा अधिकारी (आचार्य), अनुष्का श्रेष्ठ, राम लामालगायत छन्। त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि रास्वपाको समानुपातिक सूचीमा छन्।
जेन-जी अभियन्ता माजिद अन्सारी समानुपातिक प्रणाली विगतमा जस्तै सहरी सम्भ्रान्त, इन्फ्लुएन्सर र धनीमानीहरूलाई सांसद बनाउने चोरबाटो बन्ने स्थिति देखिनु दुःखद भएको बताउँछन्। “समानुपातिक व्यवस्था र समावेशिताका लागि लड्ने सहिदहरूको योभन्दा ठूलो अपमान हुनै सक्दैन। समानुपातिक निर्वाचन प्रणालीबारे पहिलो र दोस्रो संविधानसभामा छलफल भइरहँदा कमसेकम यस्तो अवस्थाको परिकल्पना थिएन,” उनी भन्छन्, “सहरी सम्भ्रान्त, इन्फ्लुएन्सर र अर्बपतिहरूलाई चोरबाटोबाट संसद् पुर्याउन यो व्यवस्था गरिएको होइन।” सीमान्तीकृत र कमजोर वर्गको प्रतिनिधित्वका लागि गरिएको समानुपातिक व्यवस्थाको दुरुपयोग हुनु लज्जास्पद भएको उनको भनाइ छ।
राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी रास्वपाको समानुपातिक सूचीमा छिन्। समानुपातिकमा जानुको बचाउ गर्दै उनी महिला, अल्पसंख्यक र सीमान्तीकृत समुदायका मानिसले अझै पनि प्रत्यक्ष चुनाव लड्न सक्ने अवस्था नभएको बताउँछिन्। भन्छिन्, “हामीले समुदायको प्रतिनिधित्व गरेर जाने हो, बोल्न नसक्ने र आफ्नो समुदायको कुरा प्रभावकारी ढंगले राख्न सक्ने व्यक्तिले प्रतिनिधित्व गर्नुपर्छ।”