काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार पारेको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति कडा आपत्ति जनाएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बन्दसूचीले समानुपातिक प्रणालीको मूल मर्म नै बेवास्ता गरेको आरोप लगाएकी हुन्। विशेषगरी आर्थिक र सामाजिक रूपमा पछि परेका समुदायलाई सूचीमा समेट्न नसकिएको भन्दै उनले नेतृत्वप्रति प्रश्न उठाएकी छन्।
समानुपातिक प्रणालीको उद्देश्य पहुँच र शक्ति नभएका तर योग्य व्यक्तिलाई संसदसम्म पुर्याउनु भएको उल्लेख गर्दै कार्कीले पार्टी नेतृत्वसँग नजिकका व्यक्ति तथा महत्वपूर्ण पदमा बसेकाहरू नै सूचीमा अघि सरेको अवस्था अशोभनीय भएको बताएकी छन्।
उनका अनुसार समानुपातिक सूचीले कर्णाली, सुदूरपश्चिम, ग्रामीण क्षेत्र र सीमान्तकृत आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने हो। तर नेतृत्वका आफन्त र ‘भाइटल पोजिसन’मा रहेका व्यक्तिहरूले नै सूची ओगट्नुले प्रणालीको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ।
पार्टीका सचिवालय सदस्य तथा पदाधिकारीहरू सधैँ लाभको स्थितिमा रहने भएकाले उनीहरूलाई समानुपातिक सूचीमा राखिनु अनुचित हुने कार्कीको भनाइ छ। चाहे प्राइमरी मतदान होस् वा मूल्याङ्कन प्रक्रिया, उनीहरू स्वभाविक रूपमा अग्रस्थानमा रहने अवस्था निष्पक्ष नभएको उनले उल्लेख गरेकी छन्।
पदमा पनि बस्ने र चुनावमा पनि समानुपातिकबाट सुरक्षित स्थान खोज्ने प्रवृत्ति पुराना दलको संस्कारसँग फरक नरहेको उनको टिप्पणी छ। ‘भाइटल पोजिसन’मा रहेका नेताहरूले प्रत्यक्ष चुनाव लड्ने आँट गर्नुपर्ने भन्दै उनले डर किन देखिएको हो भनेर प्रश्नसमेत गरेकी छन्।
पार्टी अहिले मजबुत अवस्थामा रहेको भन्दै कार्कीले नेतृत्व स्वयं चुनाव लड्न डराए अरू कार्यकर्ताले कसरी हिम्मत गर्ने भन्ने प्रश्न उठाएकी छन्।
उनको निष्कर्षमा, यदि रास्वपा साँच्चिकै उदाहरणीय राजनीतिक संस्कार स्थापित गर्न चाहन्छ भने सबै पदाधिकारी र सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट नाम हटाई प्रत्यक्ष निर्वाचनमा जानुपर्नेछ। साथै समानुपातिक सूचीमा आफन्तवाद र नातावाद पूर्ण रूपमा अन्त्य गरिनुपर्ने उनको धारणा छ।