काभ्रे। काठमाडौँ विश्वविद्यालयको परीक्षा नियन्त्रकमा प्रा. डा. हृषीकेश वाग्ले नियुक्त भएका छन्। निवर्तमान परीक्षा नियन्त्रक रामप्रसाद घिमिरेको कार्यकाल सकिएसँगै विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले वाग्लेलाई बुधबार तीन वर्षका लागि नियुक्त गरेको हो।
मानवाधिकार, सङ्क्रमणकालीन न्याय तथा संवैधानिक कानुन आदि विषयका विशेषज्ञ वाग्लेले तीन दशकभन्दा बढी न्याय क्षेत्रमा काम गरेका छन्। नेपाल सरकारका जिल्ला न्यायाधीश तथा न्यायाधिवक्तासमेत रहिसकेका वाग्लेले कानुन विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि तथा भारतको पुणे विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।
वाग्ले यसअघि स्कुल अफ लका डिनसमेत रहिसकेका छन्।