सशस्त्रको दाबी- ‘दोहोरो भिडन्त’, आफन्तको आरोप- ‘लेनदेन नमिलेपछि गोली प्रहार’
‘सामान लिन जानु छ, म छिटै आइहाल्छु।’
१६ पुस राति करिब १० बजे कोसी गाउँपालिका-१ लौकीका ४५ वर्षीय विजय साह श्रीमती गीतालाई यति भनेर ‘सिटी सफारी’ लिएर घरबाट निस्कन्छन्।
तर, बुधबार रातिको त्यो संवादपछि विजय सशरीर घर फर्केर आएनन्। घरभन्दा केवल २०० मिटर दक्षिणमा गोली लागेर उनको मृत्यु भयो।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) लौकीबाट खटिएको टोलीले चलाएको गोली लागेर बिहीबार बिहान करिब १ बजे उनी कहिल्यै घर नफर्किने गरी अस्ताए। रगताम्मे हुने गरी उनको छातीमा दुई वटा गोली लागेको छ।
के हो घटना?
विजय आफ्नो सिटी सफारीमा सीमावर्ती भारतीय बजारबाट ६/७ बोरा चिनी र केही कार्टुन तेल लोड गरेर नेपालतर्फ आउँदै थिए। सीमाक्षेत्रमा यति परिमाणको सामान ओसारपसार हुनु नौलो कुरा होइन। तर, सोही क्रममा लौकी बजारबाट करिब २०० मिटर दक्षिणमा सशस्त्र प्रहरीसँग उनको जम्काभेट भयो।

विजय साहले सामान लोड गरेर ल्याएको सिटी सफारी। तस्बिर सौजन्य : सोनुकुमार दास
सशस्त्र प्रहरीले विजयको सामान नियन्त्रणमा लिन खोजे। यही क्रममा उनीहरूको विवाद भयो। मृतकका भतिज उमेश साहका अनुसार विवादको जड ‘लेनदेन’ थियो। “लेनदेन नमिलेपछि काकालाई गोली प्रहार गरियो,” उमेशको आरोप छ, “यो कुनै मुठभेड होइन, सीधा हत्या हो। छातीमा दुई वटा गोली लागेको छ, निहत्था मान्छेलाई गोली चलाउनुपर्ने कारण के थियो?”
यता, सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेको दाबी भने फरक छ। उनले यसलाई ‘दोहोरो भिडन्त’ को संज्ञा दिएका छन्। “तस्करीको सामान रोक्न खोज्दा उताबाट फायरिङ भयो, त्यसपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी कारबाही गरेको हो,” न्यौपाने भन्छन्।
तर, घटनास्थलबाट दुई राउन्ड गोलीका खोका फेला परे पनि दोहोरो भिडन्त भएको पुष्टि हुने ठोस आधार नेपाल प्रहरीले फेला पारिसकेको छैन। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले घटनाबारे अनुसन्धान भइरहेको बताउँछन्।
विजयको परिवारमा श्रीमती गीता, दुई छोरा र एक छोरी छन्। तीमध्ये एक छोरा अपांगता भएका व्यक्ति हुन्। बिहान-बेलुका सिटी सफारी चलाएर हुने आम्दानीले नै यो परिवारको चुलो बल्थ्यो।
बिहीबार बिहानैदेखि विजयको घरमा रुवाबासी छ। गोली लागेर श्रीमान्को मृत्यु भएको खबर सुन्दा गीता मूर्छित छिन्। आफ्नै घर वरपर छिमेकीको ज्यान गएपछि गाउँलेहरूसमेत आक्रोशित छन्।
सडकमै शव राखेर प्रदर्शन
विजयको मृत्युपछि आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि शव उठाउन दिएका छैनन्। उनीहरूले कोसी गाउँपालिका–१ स्थित सडकमा शव राखेर प्रदर्शन गरिरहेका छन्।

विजयको मृत्युपछि स्थानीयले सडक अवरोध पारेर कोसी गाउँपालिका-१ लौकीमा प्रदर्शन गरिरहेका छन्। तस्बिर सौजन्य : सोनुकुमार दास
“गोली प्रहार गर्ने प्रहरीलाई कडा कारबाही हुनुपर्छ र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्छ भनेर स्थानीयले माग राखेका छन्,” कोसी गाउँपालिका-१ का वडाध्यक्ष सोभितनारायण यादव भन्छन्, ‘‘अहिले यहाँको अवस्था तनावपूर्ण छ। एउटा विपन्न नागरिकले सामान ल्याउँदा गोली नै हान्नुपर्ने अवस्था थियो वा थिएन, यसको निष्पक्ष छानबिन हुनुपर्छ।’’
अहिले आफूहरू प्रशासनसँग वार्ताको तयारीमा रहेको उनले बताए।
यसैबीच, विवाद सुल्झाउन जिल्ला प्रशासन कार्यालय सुनसरीमा पीडित पक्ष, जनप्रतिनिधि र प्रशासनबीच वार्ताको तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार जानकारी दिन्छन्। “पीडित पक्ष आइपुगेको छैन,’’ उनी भन्छन्, “पीडित पक्ष आएपछि हामी वार्ता सुरु गर्नेछौँ। त्यसबाट निष्कर्ष निकाल्नेछौँ।”