साताको सेयरबजार
राताम्मे बनेको नेप्सेमा आज ३३६ कम्पनीको ६४ हजार ४०७ पटकको कारोबारमा एक करोड एक लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भए‚ जसमा चार अर्ब ७१ करोड ३९ लाख पाँच हजार ४७० रुपैयाँबराबरको कारोबार भयो।
काठमाडौँ। अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.८३ अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) ०.४८ प्रतिशतले घटेको नेप्से २‚६२०.९२ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार १०.८९ अंकले सेयरबजार बढेको थियो।
यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले घटेर ४५४.२९ विन्दुमा रोकिएको छ। साताको पहिलो कारोबार दिन आइतबार ४७.५५ अंकले बढेको नेप्से सोमबार भने १०.५३ अंकले ओरालो लागेको थियो। मंगलबार सार्वजनिक बिदा भएका कारण नेप्से पनि बन्द रह्यो। बुधबार भने नेप्से १०.८९ अंकले बढेको थियो। आज (बिहीबार) भने राताम्मे हुँदै १२.८३ अंकले घटेर अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्यो।
आज ३३६ कम्पनीको ६४ हजार ४०७ पटकको कारोबारमा एक करोड एक लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ७१ करोड ३९ लाख पाँच हजार ४७० रुपैयाँबराबरको सेयर कारोबार भयो।
नेप्सेमा आइतबार पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँ र सोमबार चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँको कारोबार भएको थियो। नेप्से मंगलबार बन्द रहेको थियो भने बुधबार पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ कित्ता सेयर किनबेच भयो।
नेप्सेमा आज अन्य समूहको सूचक ०.०१ प्रतिशतले बढ्यो भने बाँकी १२ वटै समूहका सूचक राताम्मे बने। जसअनुसार वाणिज्य बैंक समूहको ०.६४‚ विकास बैंक ०.४७ प्रतिशतले घट्यो। यस्तै फाइनान्स ०.७४‚ होटेल तथा पर्यटन ०.४९‚ जलविद्युत् ०.३०, लगानी ०.६०‚ जीवन बिमा ०.७८, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त ०.४० प्रतिशतले घटे। यस्तै म्युचुअल फन्ड ०.५३ र निर्जीवन बिमा ०.१९ प्रतिशतले घटे। अन्य समूह ०.०१ प्रतिशतले बढ्दा व्यापार समूह भने १.०९ प्रतिशतले घट्यो।

नेप्सेमा आइतबार ६३ कम्पनीको मूल्य बढ्दा १८९ वटाको घट्यो। आठ कम्पनीको मूल्य भने स्थिर रह्यो। जसअनुसार विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्यो अर्थात् सकारात्मक सर्किट लाग्यो। बुधबार सकारात्मक सर्किट लागेको एसवाई प्यानल नेपाल लिमिडेडको सेयर मूल्य आज ९.०९ प्रतिशतले बढ्यो। एसवाईको सेयरमूल्यमा सोमबार पनि सकारात्मक सर्किट लागेको थियो। विन नेपालको अन्तिम कारोबार मूल्य १‚४८१ रुपैयाँ हुँदा एसवाईको १‚०५६ रुपैयाँ रह्यो।
यस्तै आज ग्लोबल आईएमई समुन्नत योजना (म्युचुअल) फन्ड १० प्रतिशतले घट्यो अर्थात् नकारात्मक सर्किट लाग्यो। विन नेपालको सेयर मूल्यमा आइतबार‚ सोमबार र बुधबार नेगेटिभ सर्किट लागेको थियो।
आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भयो। आज यसको २३ करोड ४१ लाख ११ हजार ४६५ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता १‚०५६ रुपैयाँ कायम रह्यो।