गण्डकी। कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसर पारी बिहिबारदेखि केन्द्र सञ्चालनमा आएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।
उनका अनुसार केन्द्रमार्फत यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीसँगै यहाँस्थित होटेल तथा (होमेस्टे)घरबासलगायत विषयमा जानकारी प्रदान गरिने छ।
केन्द्रमा एक्यापबाट एक र स्थानीय एकजना कर्मचारी व्यवस्थापन गरिने छ। केन्द्र सञ्चालनसँगै सिक्लेस आउने आन्तरिक तथा बाह्य पर्यटकको यकिन तथ्यांक राखिने वडाध्यक्ष गुरुङले बताए।
वरिपरिबाट जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायका धार्मिक आस्थाका पवित्र कोइबोले सजिएको छ। यो गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ।
सिक्लेस नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ। पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा रहेको सिक्लेसबाट गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यमा पदयात्रामार्फत जान सकिन्छ।