काठमाडौँ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दुबै महामन्त्रीले पार्टीको निर्णय मान्नुपर्ने बताएका छन्। महतले केन्द्रीय कार्यसम्पादन समितिले शुक्रबार गरेको निर्णयलाई महामन्त्रीले स्वीकार गरेर जानुपर्ने बताए।
“उहाँहरू पार्टीको कार्यसमितिमा हुनुहुन्छ, पार्टीले गरेको निर्णय उहाँहरूले मान्नुपर्छ, मान्नुहुन्छ भन्ने विश्वास छ,” महतले भने।
शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको नियमित महाधिवेशन २०८३ वैशाख २८-३१ सम्म गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माले त्यसमा फरक मत राख्दै विशेष महाधिवेशनमा आफूहरू अडिग रहेको बताएका थिए। उनीहरूले निर्णय सच्याउन केन्द्रीय समितिसमक्ष एक दुई दिन समय दिने बताएका थिए।
महामन्त्री थापाले विशेष महाधिवेशन नै हुने भएकाले प्रतिनिधिलाई तयार हुन आह्वान गरेका थिए। पार्टी निर्णय उल्लंघन गरे महामन्त्रीलाई के कारबाही हुन्छ ? प्रश्नमा महत भन्छन्, “उहाँहरूले निर्णय मान्नुहुन्छ भन्ने विश्वास छ, अहिल्यै त्यो तहमा पार्टी नेतृत्व पुगेको छैन।”
महाधिवेशनको नयाँ मिति र कार्यतालिका पारित भइसकेकाले त्यसैअनुसार पार्टीले अघि बढ्ने महतले बताए।