१९ पुष २०८२
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्द सूचीमा रहेका कलाकार आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत समानुपातिक प्रणालीमार्फत सांसद बन्न नचाहेको स्पष्ट पारेका हुन् ।

शाहले आफू सक्रिय राजनीतिमा संलग्न व्यक्ति नभए पनि देशप्रतिको जिम्मेवारीबोध सधैँ रहेको उल्लेख गरेका छन् । आम नागरिकको चाहनाअनुसार बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङबीच सहकार्य सम्भव बनाउने प्रयासमा आफू सहभागी रहेको भन्दै, त्यसैका आधारमा साथीहरूले सांसदका रूपमा अघि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।

उनका अनुसार उनले सुरुदेखि नै प्रत्यक्ष निर्वाचनमार्फत जनतासामु उभिएर राजनीतिमा आउने इच्छा व्यक्त गरेका थिए । तर पार्टीभित्र देशव्यापी अभियानको आवश्यकता औँल्याउँदै समानुपातिक प्रणाली उपयुक्त हुने सुझाव आएपछि बन्द सूचीमा नाम समावेश गरिएको थियो ।

तर उम्मेदवारी सार्वजनिक भइसकेपछि आएका प्रतिक्रिया, समाचार र पार्टीभित्रका भावना आफूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको शाहले बताएका छन् । “नियत सही हुँदाहुँदै पनि प्रक्रियागत रूपमा त्रुटि हुन पुगेछ,” उनले लेखेका छन् ।

जनता र पार्टी कार्यकर्ताको भावनालाई प्राथमिकतामा राख्दै उनले समानुपातिक सूचीबाट पछि हट्ने निर्णय गरेको उल्लेख गरेका छन् । साथै, उनले आगामी निर्वाचनमा काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन् ।

देश निर्माणका लागि जुनसुकै जिम्मेवारीमा रहे पनि योगदान गर्न आफू सधैँ तयार रहेको आशिफ शाहको भनाइ छ ।