काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन्।
त्यहाँ पुगेर उनले हालसम्म राष्ट्रले घोषणा गरेका सबै सहिदको नामावली राख्ने विषयमा चासो राखे। पार्कको समग्र वस्तुस्थिति र सञ्चालनको अवधारणाबारे पनि पार्क स्मारक समिति अध्यक्ष सुदर्शन सिग्देलबाट जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
अवलोकन भ्रमणका क्रममा उनले बृहत् शान्ति सम्झौतापछि घोषणा गरिएका सहिददेखि जेन-जी आन्दोलनका क्रममा सहिद घोषणा भएका ४२ जना र तीन अमर प्रहरीको नाम पार्कमा राख्नेबारे चासो देखाएका थिए।
यस्तै उनले सहिदबारे गरिएका यसअघिका विभिन्न मन्त्रिपरिषद्बाट भएका निर्णयसहितका व्यक्तिको नामा राख्ने र पार्कको सञ्चालनका लागि स्मारक समितिले बुझाएको ज्ञापनपत्र अध्ययन गरेर गृह मन्त्रालयले उपयुक्त निर्णय लिने आश्वासन दिए।
पार्कका व्यस्थापन समिति अध्यक्ष सिग्देलका अनुसार अहिले यो पार्कमा राज्यले घोषणा गरेका दुई हजारभन्दा बढी सहिदको नाम रहेको तर तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको खारेजीसँगै सञ्चालनको स्पष्ट खाका छैन। उनले पार्कको सञ्चालनमा दुविधा रहेकाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको पनि बताएका थिए।