वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई एक साताअघि नै आत्मसमर्पण गर्न आग्रह गरेको बताएका छन्।
ट्रम्पका अनुसार उनले मादुरोसँग कुरा गरे र उनलाई भने‚ “तपाईंले हार मान्नुपर्नेछ। तपाईंले आत्मसमर्पण गर्नुपर्नेछ।”
ट्रम्पले फक्स न्युज टीभीमा यो दाबी गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
उनले भेनेजुएलामा भएको आक्रमणमा अमेरिकी पक्षका केही व्यक्तिहरू पनि घाइते भएको जानकारी दिएका थिए। तर अमेरिकी पक्षका कसैको पनि मृत्यु नभएको ट्रम्पको दाबी छ।
ट्रम्पले फक्स न्युजलाई भने‚ “हामी चार दिनअघि यो (आक्रमण) सुरु गर्ने थियौं। तर मौसम राम्रो थिएन। अचानक मौसम सफा भयो र हामीले आक्रमण सुरु गर्यौं।”
अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरोको पक्राउबारे पनि खुलासा गरेका छन्। उनले टेलिभिजनलाई भने‚ “जब मादुरोलाई पक्राउ गरियो, उनी घरभन्दा पनि किल्लाजस्तै र बाक्लो स्टिलले घेरिएको घरमा थिए।”