बैतडी। रुसी सेनामा भर्ती भएर रुस-युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका ७‚ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको छ।
करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डीएनए’ परीक्षणबाट मृत्यु भएको जानकारी आएका मेलौली ७ का वडाध्यक्ष रामचन्द्र भट्टले बताए।
भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको उनले जानकारी दिए।
भाटको घरमा आमा-बुबा‚ भाइ र पत्नी छन्। भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका ९‚ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो। सोही समयदेखि भाटको खोजी भइरहेको थियो। -रासस