काठमाडौं। पुरानो थातथलो बैतडीको दशरथचन्द ६ स्थायी ठेगाना भई एक दशकदेखि काठमाडौं ग्रान्डी चोक बस्दै आएका नीरज पन्तको जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा महाराजगन्जमा गोली लागेर ज्यान गयो।
राजनीतिप्रति खासै चासो नराख्ने पन्त त्यस दिन घरबाट हात्तीगौँडास्थित पसल जाने क्रममा महाराजगन्ज चोकमा भएको आन्दोलनकारी र प्रहरीबीचको झडपमा गोली लागेर ज्यान गुमाए। राजनीतिमा चासो नराख्ने भए पनि उनलाई त्यस दिन भएको आन्दोलनप्रति भने चासो थियो। त्यसैले महाराजगन्ज पुगेर आन्दोलनको भिडमा उनी मिसिए। भिडमा मिसिएका केही समयमै पन्तको छाती र पेटमा गोली लाग्यो। त्यसको क्षणभरमै उनको प्राण समाप्त भयो।
त्यो दिनको स्मरण गर्दै पत्नी कमला अवस्थी भन्छिन्‚ “खाना खाएपछि पसल पुगेर आउँछु भनेर घरबाट निस्कनुभएको थियो। उहाँ महाराजगन्ज जानुहोला भन्ने कल्पना नै थिएन। तर उहाँ फर्केर आउनुभएन। चौबीस घण्टासम्म अत्तोपत्तो भएन। उहाँको पर्स र मोबाइल अझै फेला परेको छैन।”
त्यो घटना…
मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, राजनीतिमा पुस्तान्तरण, सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको फुकुवाको माग गर्दै २३ भदौमा काठमाडौँ नयाँ बानेश्वरमा उत्रिएका युवापुस्तामाथि गरिएको दमनको विरोधमा त्यो दिन देशभर नै आन्दोलन उत्कर्षमा थियो।
धापासीका कीर्तिबल्भभ पन्तका ५० वर्षीय जेठा छोरा नीरजको हात्तीगौँडामा पतञ्जलिका उत्पादन बिक्री गर्ने पसल थियो। त्यो दिन नीरज खाना खाएर पसल निस्कए। त्यति नै बेला महाराजगन्ज चोकमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी चलिरहेकै थियो। आन्दोलनकारीले चौकीमाथि आक्रमण गर्नुका साथै केही प्रहरीलाई सडकमा ल्याएर कुटिरहेका थिए। त्यो घटनाले चोक रणमैदानजस्तै थियो।
सहयोगी भावनाका नीरजले लामो समयसम्म त्यस क्षेत्रमा पसल चलाएकाले धेरैजसो स्थानीयले चिन्थे। आन्दोलनलाई नजिकबाट नियाल्ने क्रममा पन्तले आफू चढेको मोटरसाइकल महाराजगन्जस्थित ‘टिपटप’मा राखे। अनि उनी चोक पुगे। एक्कासि गोली चल्यो। उनलाई छाती र पेटमा दुईवटा गोली लाग्यो। त्यहीँ ढले।
गोली लागेपछि पन्तलाई मेट्रो अस्पताल पुर्याइएकामा त्यहाँबाट पनि सिधै त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज रिफर गरियो। अस्पताल पुर्याउनुअघि नै नीरजको मृत्युको भइसकेको थियो। सिधैँ शव घरमा पठाइयो। उनीसँगै गोली लागेर सोही स्थानमा चारजनाको मृत्यु भएको थियो।
बाहिर आन्दोलन रहेको र घरबाट हिँडेका नीरजले पसल पुगेको खबर नगरेपछि परिवारजनमा छटपटी भयो। उनको मोबाइलमा निरन्तर फोन सम्पर्कका लागि कोसिस भए पनि सम्भव भएन। आफन्तहरुसँग सोधपुछ भए पनि कहीँकतै फेला परेन। घटना भएको भोलिपल्ट महाराजगन्ज क्षेत्रमा सोधपुछ हुँदा चार जनालाई गोली लागेको परिवारले खबर पाए।
त्यही आधारमा मेट्रो अस्पताल हुँदै टिचिङ अस्पतालमा पुगेर जानकारी लिइयो। टिचिङमा कार्यरत पन्त परिवारका आफन्तले शव घरमा गएर हेरेपछि नीरजको महाराजगन्ज घटनामा गोली लागेर ज्यान गएको यकिन भयो।
शव गृहमा सेतो कपडाले बेरिएको शव देख्दा परिवारजन भक्कानिए। सन्नाटा छायो। परिवारजनले उनको मृत्यु भएको चौबीस घण्टापछि थाहा पाएका थिए।
नीरज महाराजगन्ज घटनामा पर्दा उनका बुबा र आमा सीता महेन्द्रनगरमै थिए। नीरजले त्यसदिन बिहान बुबाआमालाई अघिल्लो दिन बानेश्वरमा भएको प्रदर्शन र मानवीय क्षतिको घटनाबारे सुनाएका थिए। त्यसलगत्तै उनीहरुले आन्दोलनमा नजान नीरजलाई सुझाएका थिए। नीरजका बुबा कीर्तिबल्लभ २५ भदौमा महेन्द्रनगरबाट काठमाडौँ आए। छोराको शव बुझेर सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरे।
कीर्तिबल्लभले सुनेअनुसार नीरजले महाराजगन्ज चौकीमा प्रहरीमाथि कुटपिट गरेको देखेपछि त्यसलाई रोक्न अघि बढेका थिए। त्यसघटनामा परेपछि घरबाट पसल हिँडेका नीरज न पसल पुगे‚ न त घर नै फर्किए।
पत्नी कमला भन्छिन्‚ “घरमा हामीबीच कुनै राजनीतिक कुराकानी हुँदैन थियो, साथीभाइसँग गर्नुहुन्थ्यो कि थाहा भएन। आन्दोलनका कुरा घरमा गर्नुभएन। कसरी त्यहाँ आन्दोलनमा जानुभयो र पर्नुभयो त्यो हामीलाई थाहा भएन।”
नीरजकी छोरी कानुन सङ्कायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् भने छोरो सूचना प्रविधिसम्बन्धी विषयमा अमेरिकाको टेक्सासमा अध्ययनरत छन्।
साइप्रसबाट होटेल म्यानेजमेन्टमा स्नातक नीरज योग गुरु र आयुर्वेदको जानकार थिए। सोही सन्दर्भमा नीरजले पतञ्जलिको डिलर लिएर पसल चलाउँदै आएका थिए। सुरुमा महाराजगन्जमा चलाएको पसल भाडा महँगो भएपछि हात्तीगौँडामा सारेका थिए।
नीरजका साथी रमेश पौडेलको पनि हात्तीगौँडामा फेन्सी पसल सञ्चालनमा छ। रमेश भन्छन् ‚ “हामी ६ वर्षदेखि सँगै छौँ। उहाँको पतञ्जलिका उत्पादन बिक्री गर्नुहुन्थ्यो। उहाँको पसलनजिकै मेरो पनि पसल छ।” उनका अनुसार नीरज सबैलाई सहयोग गर्ने स्वभावको थिए।
रमेशका अनुसार नीरजको परम्परागत राजनीतिमा खासै चासो राख्थेनन्। “बुबा र आमाको कुरालाई बेवास्ता गरी निस्कनुभएछ। उहाँ त्यहाँ पुग्नु र गोली लाग्नु एकै समयजस्तै भयो। नसोचेको कुरा भयो। घटनाले आन्दोलनमा लागेजस्तै भयो‚” उनले भने।
जेन-जी आन्दोलनको बलमा गठित सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ। निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल‚ जेन-जी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ।
जेन-जी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेन-जी सुशासन योद्धा घोषणा गरेको छ। जेन-जी सहिद परिवारलाई सरकारले राहतस्वरूप १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ।