शैली

पाठकको चासो इतिहासतिर

१९ पुष २०८२
एक पुस्तक पसलमा बिक्रीका लागि राखिएका गैरआख्यान पुस्तकहरू। तस्बिर : रमेश भुसालको फेसबुक पेज
अ+
अ-

इतिहासकार महेशराज पन्त यतिबेला नयाँ पाण्डुलिपि लेखनसँगै आफ्ना पूर्वप्रकाशित सामग्रीहरूको पुनर्लेखन/संशोधनमा व्यस्त छन्। उनी भन्छन्, “यही वर्ष दुईतीन वटा किताब प्रकाशकलाई बुझाइसकेको छु। अरू दुईचार किताब निकाल्नेबारे पनि सहमति भइसकेको छ।”

तृतीय पुरुषरिक्थ र इतिहास उनका बुकहिलबाट प्रकाशनोन्मुख पुस्तक हुन्। नेपालय र फाइनप्रिन्टबाट समेत उनका अन्य पुस्तक आउने तय भइसकेको छ।

पब्लिकेसन नेपालयबाट यही वर्ष प्रकाशित पन्तको पृथ्वीनारायण शाह : नायक, प्रतिनायक अनि नायकदेशीय धेरै बिक्री हुने पुस्तकमध्ये पर्छ। दुई वर्षअघि मार्टिन चौतारीबाट प्रकाशित नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी पुस्तकको समेत दोस्रो संस्करण निस्किइसकेको छ।

यसै वर्ष मार्टिन चौतारीबाट पन्तलिखित जयतु संस्कृतम् आन्दोलन र शिक्षा र फाइनप्रिन्टबाट नेपालमा लिच्छविशासन : तेस्रो शताब्दी वि.सं.– १४३७ बजारमा आइसकेको छ।

संशोधन-मण्डलको बिरासत धानिरहेका ८१ वर्षीय इतिहासकार पन्तका कामप्रति व्यावसायिक प्रकाशकहरूले आँखा लगाउन थालेको हालसालै मात्रै हो।

पन्त भन्छन्, “मजस्ता गैरसाहित्यिक लेखकका किताबमा व्यावसायिक प्रकाशकहरूको ध्यानाकर्षण हुनु गैरआख्यान विधाप्रति रुचि बढिरहेको संकेत हो।”

नेपालयका सम्पादक विमल आचार्य पनि पछिल्लो समय गैरसाहित्यिक पुस्तक छापिने र पढ्ने क्रम बढेको बताउँछन्। उनी भन्छन्, “यस वर्ष हामीले गैरआख्यान किताब बढी छाप्यौँ।”

तिनमा गिरीश गिरीको नेपथ्य, फणीश्वरनाथ रेणुको सात सालको कथा (अनुवाद), गणेश लाठको सीमान्त सम्झनालगायत छन्।

२०७० सालमा स्थापना भई २०७१ सालमा प्रकाशन थालेको बुकहिलका संस्थापक भूपेन्द्र खड्का आत्मकथा र आत्मसंस्मरणको बिक्री पनि धेरै भएको स्मरण गर्छन्।

२०६१ सालमा नेपालयकै पहिलो प्रकाशन नारायण वाग्लेलिखित उपन्यास पल्पसा क्याफे साहित्यिक बजार विस्तार गर्ने कोसेढुंगा बनेको थियो। मार्टिन चौतारीबाट निस्किएको मिडिया अध्ययन– ९ मा देवराज हुमागाईं र अर्जुन पन्थीलिखित ‘बेस्टसेलर बनाउने होडमा मिडियाको उपयोग’ लेख प्रकाशित छ। ‘२०५० को दशकको अन्त्यसम्म पनि कुनै पुस्तक दुईतीन हजारको संख्यामा बिक्री हुनुलाई ठूलै सफलता मानिन्थ्यो। नेपाली समाजमा पुस्तक पढ्ने वा किन्ने संस्कृतिलाई पुस्तक प्रकाशकहरूले लामो समयदेखि राम्रोसँग विस्तार गर्न सकेका थिएनन्,’ लेखमा भनिएको छ, ‘विशेष गरी पुस्तकको बजार प्रवर्द्धन गर्ने सन्दर्भमा २०६० साल अगाडिसम्म नयाँ प्रयोगहरू देखिएको थिएन।’

विसं २०६० को दशकमा खुलेका नयाँ प्रकाशन संस्थाहरू पुराना र स्थापित प्रकाशकहरूले गर्न नसकेको काम बजार विस्तारमा अग्रसर भए। एक वा दुई हजार प्रति छापिने पुस्तक त्यसपछि पाँच वा १० हजार प्रतिसम्म छापिन थाले। फाइनप्रिन्ट, ओरिएन्टल पब्लिकेसन, अर्किड बुक्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुकहिल आदि २०६० को दशकमा खुलेका मुख्य प्रकाशन संस्था हुन्। २०६० को दशकमै प्रकाशित अमर न्यौपानेको सेतो धरती, बुद्धिसागरको कर्नाली ब्लुज, सुबिन भट्टराई समर लभ, नयनराज पाण्डेको लु, कृष्ण अविरलको रक्तकुण्ड, जगदीश घिमिरेको सकस, सञ्जीव उप्रेतीको घनचक्करलगायत उपन्यास उल्लेख्य संख्यामा बिके। आख्यान प्रकाशनको लहर नै चल्यो।

२०६८ सालमा सुरु भएको फिनिक्सका संस्थापक जगदीश अधिकारी त्यो समय फिक्सनको माहोल अत्यन्त बलियो रहेको बताउँछन्। भन्छन्, “पत्रकारदेखि कविसम्म आख्यान लेखिरहेका थिए। पल्पसा क्याफेको सफलताले साहित्यको वातावरण तताएको थियो। साहित्यिक पृष्ठभूमि नभएकाहरूसमेत उपन्यास लेखिरहेका थिए।”

फिनिक्सको पहिलो पुस्तक मञ्जुलको छेकुडोल्मा उपन्यास थियो। त्यसपछिका दुई पुस्तक पनि उपन्यास नै थिए।

२०७० सालमा स्थापना भई २०७१ सालमा प्रकाशन थालेको बुकहिलका संस्थापक भूपेन्द्र खड्का आत्मकथा र आत्मसंस्मरणको बिक्री पनि धेरै भएको स्मरण गर्छन्। “म प्रकाशनमा आउँदा उपन्यासको दबदबा थियो। साथै, केही समसामयिक राजनीतिबाहेक आत्मपरक किताबको बजार विस्तार भएको थियो। त्यही छेकोमा मैले पुष्कर शाहको संस्मरणबाट बुकहिल सुरु गरेँ र त्यसले पनि ठूलो संख्यामा पाठक पायो।”

खड्काले भनेजस्तै गैरआख्यानतर्फ सुधीर शर्माको प्रयोगशाला : संक्रमणमा दिल्ली, दरबार र माओवादी, हरिवंश आचार्यको चिना हराएको मान्छे, जगदीश घिमिरेको अन्तर्मनको यात्रा, विवेककुमार शाहको मैले देखेको दरबार : सैनिक सचिवको संस्मरण, केपी ढुंगानाको ओपन सेक्रेट, सरोजराज अधिकारीको चक्रव्यूहमा चन्द्रसूर्य, तारा राईको छापामार युवतीको डायरी, विनोद चौधरी : आत्मकथा, आनी छोइङ डोल्माको फूलको आँखामा आदि २०६० को दशककै बढी बिक्री हुने पुस्तक बने। यसबाहेक प्रत्यूष वन्त र मेरी डेशेनले सम्पादन गरेको नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन, खगेन्द्र संग्रौलाको आफ्नै आँखाको लयमा, हर्क गुरुङको विषय विविध, सञ्जीव उप्रेतीको सिद्धान्तका कुरा, झमक घिमिरेको जीवन काँडा कि फूललगायत किताबले चर्चा बटुले।

नेपालमा व्यावसायिक प्रकाशकबाहेक सरकारी वा अर्धसरकारी स्वामित्वका संस्था र गैरसरकारी संस्थाहरूबाट नियमित पुस्तक प्रकाशन हुन्छन्। तीमध्ये प्राज्ञिक संस्था मार्टिन चौतारीले समाजविज्ञानका विविध विषयमा १०० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ।

२०६० को दशकमा केही समसामयिक राजनीतिका किताब चले पनि गैरसाहित्यिक विधा भनेकै आत्मपरक लेखन भनेझैँ थियो। गैरआख्यानका गम्भीर पुस्तक निकाल्नेतर्फ व्यावसायिक प्रकाशकहरूले खासै प्राथमिकता दिएका थिएनन्।

साहित्य र आत्मपरक लेखनका पाठक बढी पाइने भएकाले त्यसकै बजार विस्तारमा प्रकाशकहरू लागेका थिए। फिनिक्सका अधिकारी भन्छन्, “प्रकाशकहरूलाई पनि फिक्सन नै बेचिने विधाजस्तो लाग्थ्यो। नन-फिक्सनमा सोधखोज गरेका किताबभन्दा संस्मरण र आत्मकेन्द्रित लेखन हाबी थियो।”

२०७० को दशकयता प्रकाशित गैरआख्यानमा मोहन मैनालीको मान्ठ डराएको जुग, यज्ञशको भुइयाँ, हरिबहादुर थापाको रजगज, दिवाकर आचार्यको नीपजन र नेपाल : एउटा छोटो आद्य–इतिहास, विजय कुमारको खुशी, कुमार नगरकोटीको ज्ञ, टोनी हागनको नेपालमा मेरो खोज यात्रा (अनुवाद), उज्ज्वल प्रसाईंको एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष, सुरेश ढकालको इतिहासअघिको इतिहास : सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त, कुमारी लामाको दर्ज्यु संलाप, सन्दुक रुइत (अनुवाद) लगायत थुप्रै किताबले पाठक वा समीक्षकहरूको ध्यानाकर्षित गरे।

अहिलेको अवस्था फेरिएको भन्दै नेपालयका आचार्य भन्छन्, “पछिल्लो गैरआख्यान सोधखोजविनाको गन्थनभन्दा तथ्यपरक र खोजमुखी लेखनतर्फ उन्मुख छ।” उनी थप्छन्, “पहिला मार्टिन चौतारी, हिमाल बुक्स, मण्डला पोइन्ट जस्ताले छाप्ने गैरसाहित्यिक किताब अहिले हामीजस्ता व्यावसायिक प्रकाशकले राम्रै संख्यामा छापिरहेका छौँ। ती सामग्रीमा पाठकको रुचि पनि बढिरहेजस्तो लाग्छ।”

मार्टिन चौतारीका अनुसन्धाता लोकरञ्जन पराजुलीका अनुसार साहित्यका पाठक बढी हुने अपेक्षाका कारण प्रकाशकहरूले सुरुमा साहित्यिक बजार विस्तार गर्नु स्वाभाविक थियो। अहिले नयाँ बजार विस्तारका क्रममा गैरसाहित्यिक पुस्तक प्रकाशनमा चासो दिनु पनि स्वाभाविक छ।

नेपालमा व्यावसायिक प्रकाशकबाहेक सरकारी वा अर्धसरकारी स्वामित्वका संस्था र गैरसरकारी संस्थाहरूबाट नियमित पुस्तक प्रकाशन हुन्छन्। तीमध्ये प्राज्ञिक संस्था मार्टिन चौतारीले समाजविज्ञानका विविध विषयमा १०० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ। “हाम्रै प्रकाशनहरूको अनुभवमा पनि गैरआख्यानको अवस्थामा सुधार आएको भन्न सकिन्छ। छोटो समयमै मार्टिन चौतारीका अंग्रेजीमा प्रकाशित नेपाल इन द लङ नाइन्टिन फिफ्टिज, स्कुल एजुकेसन इन नेपाल : हिस्ट्री एन्ड पोलिटिक्स अफ गभर्नान्स एन्ड रिफर्म्स जस्ता किताबका दोस्रो संस्करण आइसकेका छन्,” पराजुली भन्छन्।

समीक्षक गणेश खनियाँ गैरआख्यानलाई ‘आधिकारिकताको खोज’ का रूपमा अर्थ्याउँछन्।

मार्टिन चौतारीबाट पहिलो संस्करणमा ८०० प्रति छापिने किताब व्यावसायिक प्रकाशकका पुस्तकजसरी देशभरि फैलिन पाउँदैनन्। काठमाडौँ, पोखरा, बुटवल र झापाका सीमित ठाउँमा पाइने यी किताबको तुलनामा व्यावसायिक प्रकाशकले छाप्ने गैरसाहित्यिक पुस्तक देशका धेरै ठाउँमा उपलब्ध हुन्छन्।

व्यावसायिक प्रकाशकले गैरआख्यानका पुस्तक प्रकाशन गर्दासमेत बजार र पाठकलाई आकर्षित गर्ने पक्षलाई प्राथमिकतामा राखेका हुन्छन्। चल्तीका मदन पुरस्कार, पद्मश्री साहित्यजस्ता पुरस्कारको सूचीमा मनोनीत भएमा वा विजेता बनेमा ती पुस्तकको बिक्रीसमेत बढ्छ।

मोहन मैनालीको मुकाम रणमैदान : नेपाल-अंग्रेज युद्धको बखान, भगिराज इङ्‌‌नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०), रमेश भुसालको छालबाटो, सुधीर शर्माका भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत आदि यस्तै पुस्तक हुन्।

राम्रो आख्यान लेख्न गैरआख्यान पढ्नुपर्छ भन्ने बलियो तर्क एकातिर छ। अर्कातिर कल्पनाशीलताले भरिएका साहित्यिक पुस्तक सामान्यतया फुर्सदमा मनोरञ्जनका लागि पढिने विधाका रूपमा समेत लिइन्छ। पछिल्ला २०/२५ वर्षमा नेपालमा ठूला राजनीतिक उथलपुथल भए। राज्यको पुन:संरचना, संविधान निर्माण, संघीयता, लैंगिकता, जातीय तथा क्षेत्रीय मुद्दाहरू सतहमा आए। साथै, तीव्र बसाइँसराइ, सामाजिक आन्दोलनहरूदेखि कोभिड-१९ महामारी र जेन-जी आन्दोलनसम्मका घटनाक्रमले पनि देश र समाज बुझ्न गैरआख्यानको आवश्यकता बढाएको देखिन्छ।

समीक्षक गणेश खनियाँ गैरआख्यानलाई ‘आधिकारिकताको खोज’ का रूपमा अर्थ्याउँछन्। “लामो समय हाम्रो समाज दाल, भात र डुकुमै अल्झेर बस्नुपर्‍यो। अध्ययन परम्परा ढिलो सुरु भयो,” उनी भन्छन्, “जति धेरै पढ्दै गयौँ, सतही कुराभन्दा आधिकारिक सामग्रीको खोजी बढ्दै आयो। यही क्रममा गैरसाहित्यिक किताबहरू महत्त्वका साथ पढिन थालेको हो।”

माओवादी द्वन्द्वपछि बहिष्करणमा परेका विभिन्न समूह/समुदायले आआफ्नै इतिहासमा दाबी गर्न थालेपछि इतिहासकै पुनर्लेखनका सामग्री प्रकाशन गर्ने र पढ्ने क्रम बढेको उनको तर्क छ।

कोभिड-१९ महामारीपछि गैरआख्यानतिर पाठकको रुझान अझै बढेको महसुस गरेका फाइनप्रिन्टका अजित बराल भन्छन्, “गैरआख्यान ज्ञान उत्पादनको स्रोत भएकाले समाज बुझ्न सहायक हुने साहित्यइतरका पुस्तकको खाँचो बढेको हुनुपर्छ। त्यसैले गैरसाहित्यिक पुस्तक समयको माग पनि हो।”

राजनीतिक घटनाक्रमको विकासकै कारण विगततर्फ फर्कने र इतिहासको अध्ययन गर्नुपर्ने आवश्यकता बोध गराएको उनको धारणा छ। यसमा फिनिक्सका अधिकारी र बुकहिलका खड्का पनि राजनीतिक कारणले पछिल्लो समयको पुस्तक बजार ‘इतिहासमुखी’ बन्दै गएको बताउँछन्। पराजुली भन्छन्, “अन्यत्र पनि इतिहास र आत्मकथा धेरै बिक्छन्।”

इतिहासकार पन्त थप्छन्, “संशोधन-मण्डलका प्रकाशनहरू पहिला त्यही विषयमा शोध गर्नेहरूले मात्रै खोज्थे। अहिले ती सामग्री आम पाठकसमेतले खोज्न थालेका छन्।”

पराजुलीका अनुसार हाम्रो विद्यालयस्तरका कक्षाकोठामा इतिहासको पढाइ हुँदैन। विश्वविद्यालयमा एकैपटक माथिल्लो तहमा पढाइ हुने इतिहासका सामग्रीको ढर्रा परम्परागत छ। यस्तो सन्दर्भमा बजारमा आउने इतिहाससम्बन्धी किताबमा पाठकको रुचि बढ्ने उनको मत छ। पराजुलीको सात सालको सामाजिक पृष्ठभूमिको सेरोफेरोमा लेखिएको पुस्तक नेपालयबाट प्रकाशनोन्मुख छ।

आख्यान होस् वा गैरआख्यान, किताबको गुणस्तर र बजार दुवै पक्षलाई ध्यानमा राखेर पुस्तक निकाल्ने प्रकाशकहरू बताउँछन्।

पाठकको यही रुचिका कारण प्रकाशकहरू अहिले इतिहासका नयाँ पुस्तक मात्रै प्रकाशन गरिरहेका छैनन्, पूर्वप्रकाशित पुस्तकहरूको धमाधम पुनःप्रकाशन, पुनर्मुद्रण वा अनुवाद गर्ने काममा आकर्षित छन्। यिनमा कतिपय ‘आउट अफ प्रिन्ट’ पुस्तकसमेत छन्।

बजारमा भीमबहादुर पाँडेको त्यसबखतको इतिहास, बालकृष्ण पोखरेलको खस जातिको इतिहास, डोरबहादुर विष्टको सबै जातको फूलबारी, जनकलाल शर्माको हाम्रो समाज, तीर्थबहादुर श्रेष्ठको नेपाल : नखुलेका पाटा, बाबुराम आचार्यको अब यस्तो कहिल्यै नहोस्लगायत पुस्तकका पुनर्मुद्रित संस्करण भेटिन्छ। र, यसमा सबै प्रकाशकहरू प्रतिस्पर्धामा छन्। प्रकाशकहरूको यो अभ्यास विधागत सीमितताको परिपूर्ति गर्ने माध्यम र बजारमा टिक्ने रणनीति पनि हो। किनकि, पहिल्यै चलेका पुस्तकहरू प्रकाशित गर्दा तिनको बजार दीर्घकालीन हुन्छ।

विख्यात साहित्यकारहरू लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, पारिजात, मदनमणि दीक्षितलगायत लेखकका पुस्तकहरू अहिले बजारमा नयाँ कलेबरमा देखिने कारण यही हो। साहित्यिक कृतिमा समेत ऐतिहासिक झुकाव भेटिन्छ र तिनलाई पाठकहरूले रुचाएका पनि छन्। तीमध्ये केहीले ठूला मानिएका पुरस्कारसमेत जितेका छन्। यसमा नीलम कार्की निहारिकाको योगमाया, योगेशराजको रणहार, चन्द्रप्रकाश बानियाँको महारानी उपन्यासले मदन पुरस्कार जिते, केशव दाहालको उपन्यास मोक्षभूमिले पद्मश्री साहित्य पुरस्कार पायो।

आख्यान होस् वा गैरआख्यान, किताबको गुणस्तर र बजार दुवै पक्षलाई ध्यानमा राखेर पुस्तक निकाल्ने प्रकाशकहरू बताउँछन्। आचार्यका अनुसार नेपालयमा धेरै पाण्डुलिपि आख्यानकै आउँछन्। आचार्य भन्छन्, “गैरसाहित्यका किताब कम आए पनि अलि मिहिनेत गरेर लेखेको देखिन्छ। किनकि, ती धेरैजसो अध्ययन-अनुसन्धानकै क्षेत्रमा संलग्न हुन्छन्, अध्येता, शोधार्थी हुन्छन्। तिनको पाठकीय दायरा अनुमानयोग्य हुन्छ।”

पराजुली भने गैरसाहित्यिक प्रकाशकहरूको सीमा औँल्याउँछन्। “साहित्यिक किताब सम्पादन गर्ने थोरै संख्यामा भए पनि दक्ष सम्पादकहरू तयार भइसकेको देखिन्छ,” उनी भन्छन्, “गैरसाहित्यिक, त्यसमा पनि इतिहास र शोधमूलक पुस्तक सम्पादन गर्ने जनशक्तिको भने अभाव छ। व्यावसायिक प्रकाशन संस्थाहरूले यस पाटोमा लगानी नगरी गुणस्तरीय गैरआख्यान निकाल्नु चुनौतीपूर्ण देखिन्छ।”