१९ पुष २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका सचिन ढकालले पनि बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा परेकोभन्दै चौतर्फी विरोध भएपछि उनले शनिबार उम्मेदवारी फिर्ताको घोषणा गरेको हुन् ।

सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्।

रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरुष क्लस्टरअन्तर्गत दोस्रो नम्बरमा रहेका ढकालले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणले उक्त निर्णय लिएको बताएका छन्।

फेसबुकमा उनले लेखेका छन्, “नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।”

यद्यपि, युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने उनले उल्लेख गरेका छन्। आवश्यक परे राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न सधैं तयार रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।