काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र विकसित पछिल्लो राजनीतिक तथा संगठनात्मक अवस्थाबारे शीर्ष तहका नेताहरूसँग परामर्श गरेका छन्।
विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा आयोजित अन्तरक्रियामा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू सहभागी थिए। बैठकमा कांग्रेसभित्र देखिँदै आएको आन्तरिक द्वन्द्व, सांगठनिक चुनौती र देशले सामना गरिरहेको जटिल परिस्थितिबारे खुला छलफल भएको जनाइएको छ।
छलफलका क्रममा मुलुकमा देखिएको संकटको निकास के हुन सक्छ र पार्टीभित्र चर्किंदै गएको असहमतालाई कसरी सहमतिमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो। साथै, हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय र महामन्त्रीहरूद्वारा अघि सारिएको विशेष महाधिवेशनसम्बन्धी प्रस्तावबीच कसरी सन्तुलन र समन्वय कायम गर्न सकिन्छ भन्नेबारे पनि सहभागीहरूबीच विचार–विमर्श भएको थियो।
आगामी आम निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउने रणनीति र पार्टीभित्र देखिएका फरक धारलाई एकै दिशामा लैजाने उपायहरूबारे समेत गहन बहस भएको बताइएको छ।
अन्तरक्रियामा सहभागी नेताहरूले आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्नु अहिलेको आवश्यकता र समयको माग भएको निष्कर्ष निकालेका छन्।