संखुवासभा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन्।
प्रेस सेन्टरले आज (शनिबार) खाँदबारीमा गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए। निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उनको भनाइ छ।
जेन-जी पनि निर्वाचनका पक्षमा रहेकाले कुनै शंका गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे।
काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए।
“संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ‚ १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ‚” उनले भने।
जेन-जी आन्दोलनको मर्मभावनाअनुसार अहिलेका राजनीतिक दलहरूले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उनको भनाइ छ। निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनःस्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने दाहालले बताए। नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए।