१९ पुष २०८२
अ+
अ-

फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएका छन्। उनले इरानले प्रदर्शनकारीमाथि हिंसा गरे अमेरिका ‘उनीहरूको उद्धारका लागि अघि बढ्ने’ बताए।

इरानका विभिन्न सहरहरूमा बिहीबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो, जसमा कम्तीमा छ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछिल्लो समय इरानको बढ्दो महँगी, आर्थिक मन्दी र बेरोजगारीको विरोधमा राजधानी तेहरानबाट सुरु भएको आन्दोलन अन्य सहरहरूमा फैलिएको हो। केही व्यापारीहरूले पसल बन्द गरेर विरोध जनाएका थिए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले ‘शान्तिपूर्ण प्रदर्शनकारीलाई हिंसात्मक रूपमा मार्ने परम्परा’ दोहो¥याएमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अवस्थामा रहेको उल्लेख गरेका छन्।

यस अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको भनाइलाई ‘लापरवाह र खतरनाक’ भन्दै कुनै पनि बाह्य हस्तक्षेपले क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले अमेरिकी हस्तक्षेप भए सम्पूर्ण क्षेत्र अस्थिर हुने र अमेरिकाकै हितमा क्षति पुग्ने बताए।

सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका सल्लाहकार अली शमखानीले पनि इरानको सुरक्षा ‘रेड लाइन’ भएको भन्दै कुनै हस्तक्षेपको कडा जवाफ दिइने चेतावनी दिएका छन्।

यद्यपि, राष्ट्रपति मसूद पेजेश्कियानसहित इरानी नेताहरूले आर्थिक समस्याका कारण भएको शान्तिपूर्ण प्रदर्शनलाई जायज भएको बताए। पेजेश्कियानले जनताको आर्थिक पीडालाई सम्बोधन नगरे सरकार नै नैतिक रूपमा दोषी ठहरिने बताए। तर, सरकारले अव्यवस्था र हिंसालाई भने सहन नसकिने स्पष्ट पारेको छ।

इरानको अर्थतन्त्र वर्षौंदेखि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण कमजोर बनेको छ। उच्च मुद्रास्फीति, अवमूल्यन भएको मुद्रा र रोजगारीको अभावले जनजीवन प्रभावित भएको छ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले इरानी अधिकारीहरूलाई अभिव्यक्ति, सङ्गठन र शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न आग्रह गरेका छन्।

यसैबीच, भेनेजुएलाले पनि ट्रम्पको ‘टकरावपूर्ण’ अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै इरानमाथिको हस्तक्षेपले क्षेत्रीय स्थिरतामा असर पार्ने जनाएको छ।

हालका प्रदर्शनहरू सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको व्यापक आन्दोलनभन्दा साना भए पनि कम्तीमा २० सहरमा प्रभाव परेको बताइएको छ । सामाजिक सञ्जालमा आएका धेरै भिडियोहरू स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।