काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भेनेजुएलाविरुद्ध ठुलो आक्रमण’ गरेको बताएका छन्। उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको पनि दाबी गरेका छन्।
भेनेजुएलाको राजधानी काराकसमा भएको बम विस्फोटपछि ट्रम्पले यी आक्रमणहरू अमेरिकाले गरेको दाबी गरेका छन्।
ट्रम्पले दाबी गरेका छन्‚ “अमेरिकाले भेनेजुएलाविरुद्ध ठुलो आक्रमण गरेको छ। त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको छ।”
अमेरिकी आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा आपतकालीन अवस्था घोषणा गरेका छन्। उनले एक विज्ञप्तिमार्फत अमेरिकी सैन्य आक्रमणको पनि निन्दा गरेका छन्।
यो पनि…
भेनेजुएलाको राजधानीमा अमेरिकाले गरायो विस्फोट‚ बाह्य संकटको घोषणा
ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्‚ “अमेरिकाले भेनेजुएला र यसका नेता‚ राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठुलो आक्रमण सफलतापूर्वक सुरु गरेको छ। जसलाई उनकी श्रीमतीसँगै पक्राउ गरी देशबाट बाहिर निकालिएको छ।’
ट्रम्पले भेनेजुएलाविरुद्धको अपरेसन अमेरिकी कानुन प्रवर्तनसँगको सहकार्यमा गरिएको भन्दै विवरणहरू चाँडै जारी गरिने बताएका छन्।
अमेरिकी अधिकारीहरूले बीबीसीसम्बद्ध सीबीएस न्युजलाई जनाएअनुसार राष्ट्रपति मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकी सेनाको सबैभन्दा ठुलो आतंकवादविरोधी एकाइ हो।
मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिएअनुसार अमेरिका र भेनेजुएलाबीच तीव्र तनावको बीचमा आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार ‘नार्को-आतंकवादी’ सरकारको अध्यक्षता गरेको आरोप लगाएका थिए।
अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो। सोही समयमा अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुङ्गाहरूविरुद्ध कारबाही बढाएको छ। भेनेजुएलाले अमेरिकाविरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ।
यसैबीच भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको ‘सैन्य आक्रमण’ को निन्दा गरेको छ।
विज्ञप्तिमा अमेरिकाले काराकास र मिरान्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानहरूमा आक्रमण गरी संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको उल्लेख छ।
भेनेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोतहरू, विशेषगरी तेल र खनिजहरू कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ।
विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताहरूको विरासतलाई आह्वान गर्दै एकपटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई “साम्राज्यवादी आक्रमणको अस्वीकार गर्न आग्रह गरेको छ।
बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू सार्वभौमिकता र शान्तिको ग्यारेन्टी गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ। जबकि कूटनीतिक च्यानलहरू संयुक्त राष्ट्र सुरक्षा परिषद्, संयुक्त राष्ट्रसंघका महासचिवसमक्ष उजुरी गर्ने जनाइएको छ। राष्ट्रपति निकोलस मादुरोले संविधान र सान्दर्भिक राष्ट्रिय सुरक्षा कानुन अनुरूप राष्ट्रिय योजनाहरू कार्यान्वयन गर्न आदेश दिई भेनेजुएलामा सङ्कटकालको आदेशमा हस्ताक्षर गरेको जनाइएको छ।
हाल राज्य र नगरपालिकाहरूमा व्यापक राष्ट्रिय रक्षा कमान्ड संरचनाहरू तैनाथ गरिएको बताएको छ। संयुक्त राष्ट्रको बडापत्रको धारा ५१ लाई आह्वान गर्दै भेनेजुएला सरकारले आफ्ना जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्न आत्मरक्षा गर्ने अधिकार सुरक्षित राखेको र विश्वव्यापी सरकार र जनतालाई एकता व्यक्त गर्न आह्वान गरेको छ।
भेनेजुएलाको राजधानी काराकासमा शनिबार ठूलो विस्फोट भएको रिपोर्टको बीचमा यो विज्ञप्ति जारी गरिएको थियो। जसले धेरै क्षेत्रमा बिजुली कटौती गरेको सीएनएनले जनाएको छ।
घटनाक्रममा प्रतिक्रिया दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् बोलाउन आह्वान गरेका छन्।