दृष्टिकोण
मन्टेसरी शिक्षाको नाममा व्याप्त व्यावसायिक झिलिमिली निषेध गर्दै प्राकृतिक र खुला सिकाइतर्फ लाग्नुपर्छ।
हाम्रा विद्यालयहरूमा कक्षाकोठा तथा विद्यालयलाई नै आकर्षक देखाउन भित्ताभरि मिकी माउस, मोटुपत्लु, वर्णमालाका चार्ट र चम्किला रङहरूको प्रयोग गरिएको पाइन्छ। विद्यालय र अभिभावक दुवैलाई लाग्छ कि जति धेरै झिलिमिली, रंगीचंगी भयो, त्यति धेरै सिकाइ हुन्छ। तर, शिक्षाविद् र मनोवैज्ञानिकहरूका अनुसार त्यस्ता सामग्री भरिएका भित्ताहरूले बालबालिकाको ध्यान भड्काउने (ओभरस्टिमुलेसन) मात्र होइन, उनीहरूको मौलिक सोचसमेत खुम्च्याइदिन्छन्।
बालबालिकालाई ‘रेडिमेड’ संसार होइन, आफ्नै संसार सिर्जना गर्न ‘खुला क्यानभास’ प्रदान गर्नुपर्छ। यस्ता खुला क्यानभास विद्यालय तथा घरका ती भित्ता वा ठाउँहरू हुन्छन्, जहाँ कुनै पनि पूर्वनिर्मित चित्र वा चार्ट हुँदैनन्। यो यस्तो खाली ठाउँ हो, जहाँ बालबालिकाले आफ्ना कल्पना, भावना र सिकाइका अनुभवलाई स्वतन्त्र रूपमा उतार्न पाउँछन्। बालबालिकाको मस्तिष्कको ऐना बन्न सक्छन्।
कक्षाकोठा सिकाइअनुकूल र प्रभावकारी बनाउन विद्यालय प्रशासन र शिक्षकहरूले खुला क्यानभासको अवधारणा आत्मसात् गर्नुपर्छ। यसका लागि सबैभन्दा पहिले कक्षाका सबै भित्तामा स्टिकर वा पोस्टरले भर्नुको साटो केही भित्तालाई जानाजान खाली छोड्नुपर्छ।
सामान्यतया एउटा कक्षाकोठाको भित्ताको २० देखि ५० प्रतिशत भाग मात्र शैक्षिक सामग्रीले ढाकिनु उपयुक्त मानिन्छ। तर, नेपालका धेरै विद्यालयमा भित्ताको शतप्रतिशत भाग नै चित्र, भित्तेलेखन र विभिन्न चार्टले भरिएको पाइन्छ। यसरी धेरै सूचना एकैपटक मस्तिष्कमा ठोक्किँदा संज्ञानात्मक बोझ (कग्नेटिभ ओभरलोड) हुन जान्छ। यसले बालबालिकामा चाँडै थकित हुने र शिक्षकले भनेको कुरामा एकाग्र हुन नसक्ने समस्या देखिन्छ।
जस्तो कि कक्षाकोठाको भित्तामा हात्तीको चित्र पहिल्यै टाँसिएको छ भने बालबालिकाले हात्तीलाई त्यही एउटै स्वरूपमा मात्र कल्पना गर्न सक्छन्। उनीहरूमा त्यही चित्रमा देखिएको हात्ती मात्र हात्ती हो, फरक तरिकाले बनाइएको अर्को हात्तीको चित्र गलत हो भन्ने भ्रम पर्न सक्छ, जसले उनीहरूको सिर्जनशीलता र कल्पनाशीलता रोकिदिन्छ। एउटै सामग्री लामो समयसम्म भित्तामा रहिरहँदा बालबालिकाका लागि ती केवल ‘भित्ताका सजावट’ जस्ता मात्र बन्न पुग्छन्। उमेर र ज्ञान बढेसँगै पुराना सामग्रीहरू परिवर्तन नगरिने हो भने बालबालिकाले ती सामग्रीलाई वास्ता गर्न छाड्छन्।
कसको भूमिका के?
बालबालिकाको प्रारम्भिक उमेर (०-८ वर्ष) मस्तिष्क विकासको सबैभन्दा महत्त्वपूर्ण समय हो। यस उमेरमा बालबालिकालाई त्यस्ता खुला क्यानभासले आत्माभिव्यक्ति, समस्या समाधान गर्ने क्षमता, सूक्ष्म मांसपेशीको विकास तथा अपनत्व अनुभूति बढाउन ठूलो भूमिका खेल्दछन्। धेरै बालबालिका आफ्ना भावना शब्दमा व्यक्त गर्न सक्दैनन्। उनीहरू भित्ता वा क्यानभासमा आफ्ना मनोभाव व्यक्त गरिरहेका हुन्छन्। यसले उनीहरूको भावनात्मक स्वास्थ्य र आत्मविश्वास बढाउँछ। यस अवस्थालाई अभिभावक, शिक्षक तथा स्याहारकर्ताहरूले बुझ्न सक्नुपर्छ।
खाली भित्ता, ठाउँ पाए बालबालिकाले ‘यहाँ म के बनाऊँ? यो रङ यहाँ कसरी प्रयोग गरूँ?’ जस्ता जिज्ञासासहित समाधान सोच्न थाल्छन्। यस प्रक्रियाले उनीहरूको मस्तिष्कमा स्नायुहरूको विकास गर्छ। उनीहरूका हात र औँलाका सूक्ष्म मांसपेशीहरूको कसरत हुन्छ, पछि गएर आकर्षक हस्तलेखनमा पनि मद्दत पुऱ्याउँछ। जब कक्षाकोठाको भित्तामा बालबालिकाले आफ्नै हातले बनाएको चित्र देख्छन्, उनीहरूमा विद्यालय र कक्षा आफ्नै हो भन्ने महसुस हुन्छ। यसले सिकाइप्रति रुचि र लगाव बढाउँछ।
कक्षाकोठा सिकाइअनुकूल र प्रभावकारी बनाउन विद्यालय प्रशासन र शिक्षकहरूले खुला क्यानभासको अवधारणा आत्मसात् गर्नुपर्छ। यसका लागि सबैभन्दा पहिले कक्षाका सबै भित्तामा स्टिकर वा पोस्टरले भर्नुको साटो केही भित्तालाई जानाजान खाली छोड्नुपर्छ। बालबालिकाको पहुँच पुग्ने उचाइमा कागज, ह्वाइटबोर्ड वा चकबोर्ड राखिदिनुपर्छ, जसबाट उनीहरूले आफ्ना भावना र सिर्जना स्वतन्त्र रूपमा व्यक्त गर्ने अवसर पाउँछन्। शैक्षिक सामग्रीहरूलाई हप्ता वा महिनामा फेरबदल गर्ने चक्रीय प्रणाली अपनाउनुपर्छ। यसले पुराना सामग्रीको बोझ हटाएर नयाँ सिर्जनाका लागि ठाउँ मात्र बनाउँदैन, बालबालिकामा उत्सुकतासमेत जगाइराख्छ।
जसरी घर बनाउँदा फलाम वा बाँसको बाहिरी टेको लगाइन्छ र बनिसकेपछि निकालिन्छ, सिकाइमा पनि बालबालिका सक्षम भएपछि त्यस्ता टेको हटाउँदै लैजानुपर्छ।
विद्यालयले व्यावसायिक रूपमा छापिएका महँगा पोस्टरभन्दा बालबालिका आफैँले कक्षामा तयार पारेका क्रियाकलाप वा उनीहरूका बांगाटिंगा रेखालाई प्राथमिकता दिनुपर्छ। खुला क्यानभासको यस्तो सोचलाई बाहिरी आँगनसम्म पनि विस्तार गर्न सकिन्छ। बालबालिकाले प्रकृतिसँग सामीप्य गाँस्दै बालुवा, माटो र ढुंगाहरूसँग खेलेर विभिन्न आकृति बनाउनु पनि उत्कृष्ट खुला क्यानभासको अभ्यास हो।
बालबालिकाको यो सिकाइ यात्रामा अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। धेरै अभिभावक घरको भित्ता फोहोर हुने डरले बालबालिकालाई कोर्नबाट रोक्ने गर्छन्, तर वास्तवमा कोर्नु भनेको उनीहरूको मस्तिष्क विकास भइरहेको संकेत हो। त्यसैले घरमा निश्चित ठाउँ वा ठूलो चार्ट पेपर उपलब्ध गराई उनीहरूलाई सिर्जना गर्न दिनु उपयुक्त हुन्छ। जब बालबालिकाले केही बनाउँछन्, तब ‘यो के हो?’ भनेर सोध्नुको साटो प्रयोग गरेका रङ, प्रक्रियाको प्रशंसा गर्दै त्यसबारे बताउन प्रोत्साहन गर्नुपर्छ। यसले उनीहरूको भाषिक विकासमा समेत टेवा पुऱ्याउँछ। महँगा र ब्याट्रीबाट चल्ने तयारी खेलौनाको साटो कागज, गम, मुछेको पीठो र माटोजस्ता ‘खुला सामग्री’ उपलब्ध गराउँदा बालबालिकाले आफ्नो कल्पनालाई मूर्तरूप दिने अवसर पाउँछन्।
मर्मविपरीत मन्टेसरी
मन्टेसरी शिक्षाको मुख्य आधार भनेकै ‘मलाई आफैँ गर्न मद्दत गर’ भन्ने हो। यसको अर्थ प्रारम्भिक बाल्यावस्थामा बालबालिकालाई यस्तो वातावरण दिनु हो जहाँ उनीहरूले कसैको दबाबविना आफ्नै गतिमा सिक्न सकून्। यसलाई ‘स्काफोल्डिङ’ अर्थात् मचानसँग जोडेर हेर्ने गरिन्छ। स्काफोल्डिङ अवधारणा मुख्यतया रुसी मनोवैज्ञानिक लेभ भिगोत्स्कीको ‘जोन अफ प्रोक्सिमल डेभलपमेन्ट (जेडपीडी)’ सँग जोडिएको छ। उनका अनुसार बालबालिका आफैँले गर्न सक्ने काम र अरूको सहयोगमा गर्न सक्ने कामबीचको खाली ठाउँ नै जेडपीडी हो। उक्त ठाउँमा गरिने उपयुक्त सहयोग नै ‘स्काफोल्डिङ’ हो।
अर्का दार्शनिक जेरोम ब्रुनरका अनुसार बालबालिकालाई नयाँ सीप सिकाउँदा शिक्षकले दिने ‘अस्थायी सहयोग’ लाई नै स्काफोल्डिङ भनिन्छ। जसरी घर बनाउँदा फलाम वा बाँसको बाहिरी टेको लगाइन्छ र बनिसकेपछि निकालिन्छ, सिकाइमा पनि बालबालिका सक्षम भएपछि त्यस्ता टेको हटाउँदै लैजानुपर्छ।
विद्यालयले बालबालिकाको मस्तिष्कलाई अधिक सूचनाले भरिदिने र घोकन्ते विद्या सिकाउने होइन, उनीहरूको भित्री क्षमता बाहिर निकाल्ने वातावरण बनाउनुपर्छ।
नेपालमा ‘मन्टेसरी’ फेसनजस्तो त बनेको छ, तर यसको मर्म र दर्शन धेरैलाई थाहै छैन। धेरैको मान्यतामा रंगीचंगी कोठा र विदेशी महँगा खेलौना हुनुलाई नै राम्रो मन्टेसरी ठानिन्छ, जबकि मारिया मन्टेसरीको वास्तविक दर्शन स्वतन्त्रता र क्रमिक विकासमा आधारित छ। मन्टेसरी सिद्धान्तअनुसार यस्ता अनावश्यक सामग्रीहरूले ‘दृश्य प्रदूषण’ पैदा गर्छन्, जसले बालबालिकालाई दिग्भ्रमित बनाइदिन्छन्। विभिन्न अनुसन्धानले धेरै भिडभाड र अव्यवस्थित वातावरणमा बस्ने बालबालिकाहरू चाँडै रिसाउने, तनावमा आउने, छटपटाउने, एकाग्र क्षमता ह्रास हुने देखाएका छन्।
‘तेस्रो शिक्षक’ वातावरण
‘रेजियो एमिलिया अवधारणा’ अनुसार विद्यालयको वातावरण ‘तेस्रो शिक्षक’ हो, जसको अर्थ भौतिक वातावरण आफैँमा यस्तो हुनुपर्छ जसले शिक्षकको प्रत्यक्ष निर्देशनविना नै बालबालिकालाई नयाँ कुरा सिक्न प्रेरित गरोस्।
खाली भित्ताहरू बालबालिकाको सिर्जनाका लागि ‘पर्खिरहेका अवसरहरू’ हुन्। जब बालबालिकाले खाली भित्ता देख्छन्, उनीहरूले आफ्नो कल्पनाको संसार देख्न थाल्छन्। खुला क्यानभासमा कोर्ने र मेटाउने प्रक्रियाले बालबालिकालाई आफ्ना गल्ती आफैँ पहिचान गर्न र सुधार्न सिकाउँछ, जसलाई ‘त्रुटि नियन्त्रण’ भनिन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा विद्यालयका भित्ताहरूमा कम्तीमा आधा भाग सधैँ खाली राख्नुपर्छ। यदि केही शैक्षिक सामग्री टाँस्नु नै छ भने, ती सामग्री बालबालिकाको आँखाको तहमा हुनुपर्छ। उनीहरूको उचाइभन्दा धेरै माथि टाँसिएका सामग्रीको कुनै अर्थ रहँदैन। हरेक बालबालिका ‘विशेष’ हुन्छन् भन्ने तथ्य स्विकार्दै उनीहरूलाई हेर्ने दृष्टिकोण समावेशी बनाउनुपर्छ।
प्रारम्भिक बाल्यकाल भनेको सिक्ने मात्र होइन, ‘खोज्ने क्षमता’ विकास गर्ने उमेर पनि हो। अभिभावक तथा शिक्षकहरूले बालबालिकालाई जिज्ञासु बन्ने अवसर प्रदान गर्नुपर्छ। विद्यालयले बालबालिकाको मस्तिष्कलाई अधिक सूचनाले भरिदिने र घोकन्ते विद्या सिकाउने होइन, उनीहरूको भित्री क्षमता बाहिर निकाल्ने वातावरण बनाउनुपर्छ। विद्यालयमा मन्टेसरी शिक्षाको नाममा भइरहेको ‘व्यावसायिक झिलिमिली’ निषेध गर्दै ‘प्राकृतिक र खुला सिकाइ’ तर्फ लाग्नुपर्छ।
– घिमिरे प्रारम्भिक बालविकास तथा शिक्षा क्षेत्रका परामर्शदाता हुन्।