जनकपुर। जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आज (आइतबार) एक सूचना जारी गरी जिल्लामा शान्तिसुरक्षा तथा अमनचयनका लागि सबैमा अपिल गरेका हुन्।
सूचनामा भनिएको छ‚ “विभिन्न बहानामा सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने‚ धर्मलक्षित टीकाटिप्पणी गर्ने‚ अमर्यादित व्यवहार प्रदर्शन गर्ने‚ धार्मिकस्थलमा तोडफोड तथा आगजनी र लुटपाट गर्नेलगायत गैरकानुनी तथा हिंसात्मक र सामाजिक द्वेष फैलाउनेलाई प्रचलित कानुनबमोजम कारबाही हुनेछ।”
यसैगरी जिल्लामा क्रियाशील विभिन्न धार्मिक संघ/संगठन‚ राजनीतिक दल तथा सञ्चारमाध्यमलगायत सरोकार भएकाहरूलाई शान्तिपूर्ण वातावरण बनाउन सहयोगका लागि आग्रहसमेत गरिएको छ।
