काठमाडौँ। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा यही २५ पुसदेखि लागु हुने गरी आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आयोगले ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ नेपाल न्याय सेवाका राजपत्राङ्कित श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी २ माघदेखि आफू खटिएको निर्वाचन कार्यालयमा कार्यालय स्थापना र सञ्चालन गर्न पनि जिम्मेवारी दिइएको छ।
सबै निर्वाचन अधिकृतको सूची आयोगको वेबसाइटमा समावेश गरिएको छ। एक मात्र प्रतिनिधिसभा सदस्य भएका जिल्ला तथा जिल्ला सदरमुकाम भएका निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतले निर्वाचन गराउनेछन् भने बाँकी निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतले कार्यभार सम्हाल्नेछन्।
