काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२० पुष २०८२
अ+
अ-

सुर्खेत। डोल्पामा स्थानीय बासिन्दा र प्रहरीबीचको विवादले ठुलो रुप लिएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ। एक युवा बेपत्ता भएको घटनालाई लिएर शनिबार त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने इलाका प्रहरी कार्यालय करोपगार्डका प्रहरी र सोही वडामा पर्ने ल्हाँ गाउँका बासिन्दाबीच विवाद भएको थियो।

विवाद बढ्दै गएपछि घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले एसपी रामप्रसाद घर्तीको संयोजकत्वमा आइतबार छानबिन समिति बनाइएको हो। घर्तीको संयोजकत्वमा रहेको समितिमा प्रहरी निरीक्षक खिम खड्का र सहायक निरीक्षक प्रेम शर्मा सदस्य रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठले जानकारी दिए। उनका अनुसार छानबिन समिति घटनास्थलतर्फ गइरहेको छ। आइतबार रातिसम्म घटनास्थलमा टोली पुग्ने उनले बताए।

प्रहरीको जाँचका क्रममा स्थानीय एक युवक नदीमा हाम फालेर बेपत्ता भएपछि स्थानीय र प्रहरीबीच विवाद उत्पन्न भएको थियो। गएको शुक्रबार साँझ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकायलाई करबगाडमा रहेको इलाका प्रहरी कार्यालयनजिकै छेप्के पुलनजिक जाँच गर्न खोजेपछि उनी भागेर ठुली भेरी नदीमा हामफालेका थिए।

लागुऔषधको ओसारपसारको सूचना पाएपछि जाँच गर्ने क्रममा प्रहरीले उनलाई पनि रोकेको थियो। प्रहरीले जाँच गर्न नपाउँदै रोकाय आत्तिएर नदीमा हाम फालेपछि बेपत्ता भएका हुन्। नदीमा हामफालेका रोकाय शनिबारसम्म पनि फेला नपरेपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए। उनी हालसम्म पनि बेपत्ता छन्।

स्थानीयले भने प्रहरीले लखेटेर युवकले भेरीमा हाम फाल्न बाध्य पारेको आरोप लगाएका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएका गुप्तचर प्रहरी र खदाङबाट खटिएका पोसाकसहितका प्रहरीले बीचमा पारेर उनलाई हाम फाल्न बाध्य पारिएको स्थानीयको आरोप छ। स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो।

यही घटनाको विषयलाई लिएर स्थानीयले डोल्पामा अनिश्चितकालीन यातायात बन्दको पनि घोषणा गरेका छन्। हाल डोल्पासम्म जाने र बाहिरिने सवारीसाधन चलेका छैनन्।

घटनापछि इलाका प्रहरी कार्यालय करबगाडमा खटिएका दश प्रहरीलाई नै जिल्ला तानिएको छ। घटना हुँदा ड्युटीमा रहेका चारजना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमै निगरानीमा राखिएको छ।