आवरण
जंगली हात्तीको आक्रमणबाट पछिल्ला १४ वर्षमा १०३ जनाको मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ संगमचोकका भवकृष्ण घिमिरे (६०) को वर्षौंदेखिको दैनिकी थियो, एकाबिहानै गोठमा दूध दुहेर डेरी पुर्याउनु। गत २७ मंसिरमा पनि सधैँझैँ बिहानको ५ बजेतिर उनी दूध बेच्न जाँदै थिए। तर, त्यस दिन डेरी पुग्न सकेनन्।
घरबाट निकै उत्साहका साथ निस्किएका उनी ५०० मिटर मात्र उत्तर लागेका थिए, सामुन्नेमा जंगली हात्तीको बथान नै उभिएको थियो। न उनले भाग्ने मौका पाए, न त गुहार माग्ने समय। केही क्षणमै हात्तीको आक्रमणमा परेर उनले प्राण त्यागे।
भवकृष्णका भतिज टीकाराम घिमिरेका अनुसार त्यो क्षेत्र जंगलबाट करिब चार किलोमिटर टाढा पर्छ। “यहाँसम्म हात्ती आइपुग्छ भनेर हामीले कहिल्यै सोचेका थिएनौँ। २० वर्षसम्म यस क्षेत्रमा हात्ती देखिएको थिएन,” उनी भन्छन्, “गोविन्दपुरतिरबाट लखेटिएको हात्तीको बथानसँग काकाको जम्काभेट भएछ, बिच्किएका हात्तीले उहाँलाई छोडेनन्।”

२७ मंसिरमा हात्तीको आक्रमणबाट मृत्यु भएका मोरङको सुन्दरहरैँचा नगरपालिका संगमचोकका ६० वर्षीय भवकृष्ण घिमिरे। तस्बिर : अनिल श्रेष्ठ
गत वर्षको ५ पुसमा सुन्दरहरैँचा-७ स्थित सिर्जना सामुदायिक वनमा दाउरा लिन गएकी स्थानीय गंगा श्रेष्ठ (४०) हात्तीको आक्रमणबाट मारिइन्। यस्तै, गत वर्ष मंसिरमा दुई साताको बीचमै मोरङ, सुनसरी र झापामा मात्रै हात्तीको आक्रमणबाट तीन जनाको ज्यान गयो। त्यस वर्ष १७ मंसिरमा सुनसरीको इटहरी-२ स्थित शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट २५ वर्षीय रविन खड्काको मृत्यु भयो। बस्ती पस्न लागेको हात्ती धपाउने क्रममा उनी आक्रमणमा परेका थिए। यसको एक साताअघि झापाको हल्दीबारीमा हात्तीकै आक्रमणबाट सामुदायिक वनका चौकीदार धनबहादुर वन (४०)को मृत्यु भयो। त्यसभन्दा अगाडि झापाको दमक नगरपालिका-३ स्थित हम्सेदुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा भुटानी शरणार्थी पदमलाल तामाङ (७२)को मृत्यु भएको थियो।
माथिका विवरण कोसी प्रदेशमा जंगली हात्तीले गरेको जनधनको क्षतिका प्रतिनिधि घटना मात्र हुन्। हुल बाँधेर आउने हात्तीका कारण यस प्रदेशका झापा, मोरङ र सुनसरीको प्रभावित क्षेत्रका बासिन्दामा सन्त्रासको अवस्था छ। जंगली हात्ती बस्तीमा पस्न थालेपछि यति आतंकको माहोल छ कि, मानिसहरू साँझ परेपछि घरबाहिर निस्कनै डराउँछन् र बिहान उज्यालो नभई काममा जान सक्दैनन्। सुन्दरहरैँचा-१२ का वडा सदस्य दिलीपप्रसाद दाहाल भन्छन्, “गाउँमा हात्तीको त्रासले बालबालिका स्कुल जान डराउँछन्, अभिभावकहरू पनि चिन्तित छन्। नगरपालिकाले माइकिङ गरेर सतर्क रहन आग्रह गर्दै आएको छ।”
कोसी प्रदेशमा जंगली हात्तीबाट झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरी पाँच जिल्ला प्रभावित छन्। २०६८ सालदेखि मंसिर २०८२ सम्मको १४ वर्षमा यी जिल्लामा हात्तीको आक्रमणबाट १०३ जनाले ज्यान गुमाइसकेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिरसम्म)मा मात्रै हात्तीको आक्रमणबाट प्रदेशमा चार जनाको मृत्यु भयो। यस्तै, हात्तीले एक हजार ६५८ वटा घर तथा गोठमा क्षति पुर्याएको प्रदेश वन निर्देशनालय, कोसीले जनाएको छ।
जिल्लागत रूपमा हात्तीको आक्रमणबाट झापा र मोरङमा धेरै मानवीय क्षति भएको देखिन्छ। पछिल्ला १४ वर्षमा झापामा ७५ जना र मोरङमा २० जनाको ज्यान गएको छ।

हात्ती र मानिसबीचको द्वन्द्वका कारण हुने मानवीय क्षतिको संख्या वर्षैपिच्छे बढ्नु चुनौतीपूर्ण बनेको छ। यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रहरूमा विभिन्न प्रवर्द्धनात्मक र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटा बताउँछन्। “हामीले झापा, मोरङ, सुनसरी र उदयपुरजस्ता प्रभावित जिल्लाहरूमा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन र उद्धारका लागि भेटेरिनरी डाक्टरसहित वन कर्मचारीको विशेष टोली परिचालन गरेका छौँ। यस टोलीले बस्तीमा पसेका तथा घाइते वन्यजन्तुको तत्काल उद्धार, उपचार र उचित व्यवस्थापनमा काम गर्नेछ,” उनी भन्छन्, “प्रभावित क्षेत्रमा द्वन्द्व घटाउन र वन तथा जैविक विविधता जोगाउन निर्देशनालयले स्रोतसाधनको अधिकतम परिचालन गरिरहेको छ।” द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक रहेको सापकोटाको भनाइ छ।
हात्तीले मानवीय क्षतिसँगै घरगोठ भत्काउने र अन्नबालीमा पनि ठूलो नोक्सानी पुर्याउने गरेको छ। आर्थिक वर्ष २०७८/७९ यताको पाँच वर्ष चार महिनामा मात्रै हात्तीले नौ करोड ५३ लाख १२ हजार ३४० रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको प्रदेश वन निर्देशनालय कोसीको आँकडा छ। जसमा अन्नबालीदेखि घरभित्रका खाद्यान्न र संरचनाहरू पर्ने निर्देशनालयका निर्देशक भरतबाबु श्रेष्ठ बताउँछन्। “मानवीय क्षतिको ग्राफ वर्षैपिच्छे उकालो लागिरहेकाले हात्ती प्रभावित क्षेत्रमा प्रवर्द्धनात्मक कामहरू भइरहेको छ,” उनी भन्छन्।

मोरङ सुन्दरहरैँचा-६ मा हात्तीले भत्काएको घर। तस्बिर : अनिल श्रेष्ठ
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई सरकारले राहतस्वरूप १० लाख रुपैयाँ दिने व्यवस्था गरेको छ। प्रदेश वन निर्देशनालय, कोसीका सूचना अधिकारी योगिन श्रेष्ठका अनुसार बितेका १४ वर्षमा हात्तीको आक्रमणबाट मारिएका ९९ जना (चालु आर्थिक वर्षको बाहेक)का परिवारलाई १० करोड ५९ लाख ६६ हजार १३ रुपैयाँ वितरण गरिएको छ।
रोकथामको खर्च करोडमा, नागरिक भने राँको र साइरनको भरमा
जंगली हात्ती नियन्त्रण र रोकथामका लागि संघ र प्रदेश सरकारले वार्षिक करोडौँ रुपैयाँ खर्चिन्छन्। कोसी प्रदेशमा हात्ती नियन्त्रण र जनधनको क्षतिपछि राहत वितरणमा संघ, प्रदेश र स्थानीय तहबाट गरेर वार्षिक ५/६ करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै संघ र प्रदेश सरकारबाट हात्ती नियन्त्रण, रोकथाम र बाली बिमाका लागि ६ करोड १४ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ। गत वर्ष चार करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा चार करोड १२ लाख ९६ हजार रुपैयाँ खर्च भएको वन निर्देशनालयका सूचना अधिकारी श्रेष्ठ बताउँछन्।
यति ठूलो बजेट विनियोजन र खर्च हुँदा पनि सरकारले हात्ती नियन्त्रणका लागि आधुनिक उपकरण खरिद गर्न र प्रभावकारी सुरक्षा रणनीति बनाउन सकेको छैन। जसका कारण नागरिकहरूले जंगली हात्तीबाट ज्यान जोगाउन ‘साइरन’ र राँकोको भर पर्नुपरेको छ। यस्तो मौलिक र असुरक्षित तरिका अपनाउँदा जनधनको क्षति जारी छ। जब हात्ती बस्ती पस्छ, स्थानीयवासीले थाल ठटाउने, राँको बाल्ने र नगरपालिकाको दमकलबाट साइरन बजाउनेबाहेक अर्को उपाय पाउँदैनन्।
हात्ती नियन्त्रणका नाममा छुट्याइने बजेटको प्रमुख हिस्सा हात्तीबाट ज्यान गुमाएकाका परिवारलाई दिने राहतमा खर्च हुने गरेको छ। केही रकमबाट हात्ती करिडोर व्यवस्थापन, हात्ती प्रभावित क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तारबार, जनचेतनालगायत काम हुँदै आएको छ।

हात्ती भगाउन सब-डिभिजन वन कार्यालय बेलबारीले साइरन जडान गरेको गाडी। तस्बिर : अनिल श्रेष्ठ
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा जिल्ला तहको जनशक्तिले जंगली हात्तीको विकराल समस्या समाधान गर्न असम्भव रहेको बताउँछन्। भन्छन्, “हामीसँग न त तालिमप्राप्त भेटेरिनरी टोली छ, न आधुनिक उपकरण। हात्ती भगाउन साइरन र सचेतनाबाहेक हामीसँग केही पनि छैन।”
हात्ती प्रभावित स्थानीय तह बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की पनि हात्ती भगाउन दमकलको साइरन बजाउने उपाय अपनाइरहेको बताउँछन्। “अहिले हामीसँग भएको उपकरण नै दमकल हो। दमकलको साइरन बजाउनुका साथै पटाका, बिजुली बत्ती र प्लास्टिकको गन प्रयोग गरेर हात्ती भगाउने गरिएको छ,” उनी भन्छन्, “हात्तीको नियन्त्रण र रोकथाममा वार्षिक चार लाख रुपैयाँ खर्च हुने गरेको छ।”
के हो समाधान?
हात्तीविज्ञ तथा संरक्षणकर्मीहरू हात्तीको परम्परागत मार्ग र वासस्थानलाई सम्मान तथा मानव-हात्ती द्वन्द्व व्यवस्थापनको वैज्ञानिक योजना कार्यान्वयन नगरिँदासम्म हात्तीबाट भइरहेको जनधनको क्षति अन्त्य नहुने बताउँछन्।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत एवं हात्तीविज्ञ अशोक राम हात्ती र मानिसबीचको द्वन्द्व न्यूनीकरणका लागि हात्तीको व्यवहार बुझ्न र नीतिगत सुधार गर्न आवश्यक रहेको बताउँछन्। भारतको देहरादुनस्थित वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियाबाट ‘एलिफन्ट इकोलोजी’ मा विद्यावारिधि गरेका उनका अनुसार हात्ती निकुञ्जमा मात्र सीमित नहुने भएकाले यसको व्यवस्थापन ‘ल्यान्डस्केप’ स्तरमै गरिनुपर्छ। हात्तीको स्मरण र सुँघ्ने शक्ति तीव्र हुने र उनीहरू आफ्नो परम्परागत मार्गबाट हिँड्ने भएकाले त्यसमा अवरोध भए आक्रामक हुने गरेको रामको भनाइ छ।
हात्तीको बदला लिने स्वभावबारे उनी भन्छन्, “जंगली हात्तीलाई जिस्क्याउने, ढुंगा हान्ने वा गोली प्रहार गर्ने हो भने उसले ‘इगो’ राख्छ र पछि मान्छेको घरै भत्काउन सक्छ।” उनका अनुसार भारतको पश्चिम बंगालबाट मेची तरेर आउने हात्तीहरू मोरङको सुन्दरहरैँचा, लेटाङ हुँदै चतरासम्म पुग्छन्।
मानव-हात्ती द्वन्द्व व्यवस्थापनमा प्रभावकारी काम नहुँदा धेरै हात्ती मारिएका छन्। पछिल्लो १४ वर्षमा २१ वटा हात्ती मरेका छन्। कतिपय हात्ती करेन्ट लागेर मरेका छन् भने कतिपयलाई मानिसले आक्रमण गरी मारेका छन्।

बेलबारी नगरपालिका-३ करमडाँडामा २१ साउनमा मृत भेटिएको पोथी हात्ती। तस्बिर : अनिल श्रेष्ठ
झापाको मेचीनगर नगरपालिका-४ का वडाध्यक्षसमेत रहेका हात्ती संरक्षणकर्मी अर्जुन कार्कीका अनुसार अहिले भारतबाट नेपाल छिरेका करिब ८४ वटा हात्तीमध्ये ५० भन्दा बढी मोरङका वनक्षेत्रमा छन्। उनी भन्छन्, “जताततै विद्युतीय तार लगाएर हात्तीको बाटो छेक्ने गरिएको छ, तर त्यो समाधान होइन। तारबार लगाउँदा उनीहरू झनै आक्रामक बन्छन्।” उनका अनुसार हात्तीबाट जोगिन वनमा हात्तीको पाइला वा आलो दिसा देखिए बाटो मोड्नुपर्छ र गाउँमा हात्ती आए तत्काल विज्ञलाई खबर गर्नुपर्छ। द्वन्द्व रोक्न हात्ती हिँड्ने मार्गका ‘हटस्पट’ पहिचान गरी त्यहाँ सचेतना र पूर्वाधार निर्माण गर्नुपर्ने उनको सुझाव छ। “हात्ती भगाउने र उद्धार गर्ने तालिम वनका कर्मचारीलाई दिनुपर्छ, करेन्ट वा भाला प्रयोग गर्न हुँदैन भनेर स्थानीयलाई सिकाउनुपर्छ,” उनी भन्छन्।
कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल अब ‘हात्ती करिडोर’ बनाएर समस्या समाधान गर्ने दाबी गर्छन्। झापा, मोरङ र सुनसरीको क्षेत्रमा हात्तीको मार्ग पहिचान गरी त्यहाँका बस्ती खाली गराउने र एउटा निश्चित बाटो बनाउने योजना सरकारको छ। “त्यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौँ। नेपाल प्रकृति संरक्षण कोषसँग समन्वय गरिरहेका छौँ र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल भइरहेको छ,” उनी भन्छन्।