काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टाछुट्टै समूहका प्रतिनिधि र राष्ट्रिय सभा सदस्यले गृह मन्त्रालयमा सामूहिक भेटवार्ता गरेका छन्।
मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले आइतबार गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापनपत्रसमेत बुझाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा समुदायले बुझाएका दुई छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले एक-अर्काको धर्म र सम्प्रदायमाथि खलल पुर्याउने जो कोहीलाई सरकार र गृह प्रशासन तुरुन्त कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको बताए।
मुस्लिम समुदायका सदस्यहरूले बुझाएको ज्ञापनपत्रका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अर्यालले प्रदेश र जिल्लातहमा धार्मिक आस्था र सहिष्णुता कायम गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए। उनले सबै धर्म र सम्प्रदायले अहिले उत्तिकै ख्याल गर्दै आफ्ना गतिविधिलाई संयमित गर्नुपर्नेमा जोड दिए।
शान्ति सुरक्षा कायम गर्नु नै गृह प्रशासनको प्रमुख जिम्मेवारी भएको बताउँदै उनले यस कार्यमा प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी तथा अन्य समुदायले पनि उत्तिकै सक्रिय भूमिका खेलेमा समुदाय र धर्म विशेषका आधारमा हुन सक्ने साम्प्रदायिकतालाई समयअगावै नियन्त्रण गर्न सकिने बताए।
“कानुन हात लिएर कसैले कुनै शक्ति र समूहमा आबद्धता भएकै नाममा गैरकानुनी कार्य गर्छ भने त्यसलाई सरकारले आवश्यक कारबाहीको दायरामा ल्याउनेछ,” अर्यालले समुदायका प्रतिनिधिलाई आश्वस्त पारे।
भेटमा राष्ट्रिय मुस्लिम समन्वय समितिबाट मोहम्मद युनुस अहमर (हास्मी), मौलाना मजरुल हसन, सीमा खान, मौलाना खुसिद आलम र ताज मोहमद मियाँ सहभागी बने। जमियाद उलमाह नेपालका तर्फबाट प्रतिनिधिबाट राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, कल्पना मियाँ, नेपाल हज कमिटीका अध्यक्ष मोख्तर अहमद, ताज मोहम्मद मियाँ र मोहम्मद फलाउ उल्लाह सहभागी थिए। यस्तै सङ्घीय लोकतान्त्रिक गठबन्धनका तर्फबाट मोहम्मद रिजवान अन्सारी, विमला अन्सारीलगायत प्रतिनिधिले मुस्लिम समुदायमा बढ्दै गइरहेका केही असामाजिक, धार्मिक सहिष्णुता भड्कने खालका गतिविधि र आगामी २१ फागुनको निर्वाचनका लागि शान्ति सुव्यवस्था खलबलिन सक्ने वातावरणतर्फ समुदायका प्रतिनिधिहरूले मन्त्री अर्यालको ध्यानाकर्षण गराए।