काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले अमेरिकाले खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण अपराधपूर्ण भएको बताएका छन् ।
‘भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने कार्य हो’ खनालले आज विज्ञप्ति जारी गरेर भनेका छन् । ‘अत्यन्त लज्जास्पद ढंगले गरिएको घोर अपराधपूर्ण कार्य हो ।’
खनालले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध उभिएको र विश्वका न्याय प्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेरिकी कारबाहीको विरोधमा रहेको उल्लेख गरेका छन् ।
उनले भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाइरहेकोसमेत बताएका छन् । ‘भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाइरहेको थियो । किनभने भेनेजुएला विश्वकै सबैभन्दा ठुलो तेल भण्डार भएको देश हो । अमेरिकीहरू त्यो भण्डार कब्जा गर्न र लुट्न चाहन्छन् । तर मदुरोको सरकार त्यो कार्यका निम्ति सबैभन्दा ठुलो अवरोध बनेको थियो । त्यहीँ “अवरोध”लाई पन्छ्याउन ट्रम्प प्रशासनले “ड्रग ट्राफिकिङ” को झुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रूपले निर्वाचित राष्ट्रपतिमाथि पाशविक पाराले आक्रमण र अपहरण गरेको छ । विश्वका तमाम न्याय प्रेमी देशहरू र जनताहरू अमेरिकी आक्रमणका विरुद्ध उभिएका छन् । संयुक्त राष्ट्र संघ र सिलोजस्तो तेस्रो विश्व यस आक्रमणका विरुद्ध उभिएका छन् । उनीहरू सबैले अमेरिकी आक्रमणको निन्दा र भर्त्सना गरिरहेका छन् । स्वयं अमेरिकामा न्याय प्रेमी अमेरिकी जनता यो हिंस्रक आक्रमणको विरुद्ध सडकमा उत्रिएका छन् ।’ विज्ञप्ति जारीमा उल्लेख छ ।