काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १०.२९ अंकले घटेको छ। अघिल्लो कारोबार दिन (बिहीबार) को तुलनमा ०.३९ प्रतिशतले घटेको नेप्से २६१०.६३ विन्दुमा रोकियो।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंकले घटेर ४५१.०७ विन्दुमा रोकिएको छ। आज ३२३ कम्पनीको ७९ हजार ७०२ पटकको कारोबारमा एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच भए। जसमा आज पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भयो। अघिल्लो कारोबार दिन (बिहीबार) को तुलनामा आज (आइतबार) कारोबार रकम भने बढेको हो। गएको बिहीबार सेयर बजारमा चार अर्ब ७१ करोड ३९ लाख पाँच हजार ४७० रुपैयाँबराबरको कारोबार भएको थियो।
नेप्सेमा आज तीनवटा समूहका सूचक बढे भने बाँकी १० वटा समूहका सूचक घटे। आज होटेल तथा पर्यटन ०.६२‚ उत्पादन तथा प्रशोधन १.०४ र व्यापार समूह ०.३४ प्रतिशतले बढे।
वाणिज्य बैंक समूहको ०.१४ प्रतिशत‚ विकास बैंक ०.८०‚ फाइनान्स ०.१३‚ जलविद्युत् ०.४९, लगानी ०.३२‚ जीवन बिमा ०.८८, लघुवित्त ०.३२‚ म्युचुअल फन्ड ०.२९‚ निर्जीवन बिमा ०.८६ र अन्य समूह १.६९ प्रतिशतले घटे। नेप्सेमा आइतबार ७९ कम्पनीको मूल्य बढ्दा १७१ वटाको घट्यो। ९ कम्पनीका सेयरमूल्य स्थिर रहे।

जसअनुसार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो अर्थात् १० प्रतिशतले बढ्यो। विन नेपालको अन्तिम कारोबार मूल्य १‚६२९ रुपैयाँ रह्यो। यस्तै श्रीनगरको अन्तिम कारोबारमूल्य ९३९ रुपैयाँ कायम रह्यो।
न्यादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ४.३२ प्रतिशतले घट्यो। न्यादीको अन्तिम कारोबार मूल्य ३९९ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सेयर कारोबार भयो। आज यसको ३० करोड ६५ लाख ८५ हजार ७६ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता १‚२२१ रुपैयाँ कायम रह्यो।