काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

संविधानले दिएको हक कसैले रोक्न सक्दैन : प्रधानमन्त्री कार्की

२० पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति पनि दिएको छ। मूल आयोजक समिति संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले कार्कीलाई १ माघमा टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र दिए।

त्यस अवसरमा चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूका माग र मुद्दा सम्बोधन गर्न आग्रह गरे। उनले संविधान बनेको १० वर्षमा पनि थारूको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो गरे।

प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखिन्। उनले भनिन्‚ “संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।”

यो देश सबैको साझा फूलबारी भएकाले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व हुनुपर्ने र सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने उनको भनाइ थियो। प्रत्येक वर्ष माघे संक्रान्तिका दिन थारु समुदायले माघी पर्व मनाउने गर्छ।