काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

विश्व

मादुरो पक्राउका लागि यस्तो थियो महिनौँदेखिको अमेरिकी तयारी

२० पुष २०८२
पक्राउ गरी अमेरिका ल्याइपुर्‍याएपछि मादुरो
अ+
अ-

गत अगस्ट महिनामा अमेरिकी गुप्तचर निकाय (सीआईए)का अधिकारीहरूको एउटा टोली गुप्तरूपमा भेनेजुएला प्रवेश गर्‍यो। यो टोलीको उद्देश्य थियो- ट्रम्प प्रशासनले ‘नार्को–टेरोरिस्ट’ अर्थात् लागुऔषध आतंककारीको संज्ञा दिएको भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोबारे सूचना संकलन गर्नु।

यो अत्यन्तै जोखिमपूर्ण मिसन थियो। भेनेजुएलामा अमेरिकी दूतावास बन्द भएकाले सीआईए अधिकारीहरू कूटनीतिक आवरणमा काम गर्न सक्दैनथे।

तर, सीआईएको यो टोलीले महिनौँसम्म राजधानी कराकसमा बसेर मादुरोका दैनिक गतिविधिबारे उनीनिकट स्रोत र आकाशमा गोप्यरूपमा उडाइएका स्टेल्थ ड्रोनहरूको सहयोगमा सूक्ष्म विवरण संकलन गरिरह्यो। कतिसम्म भने, संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनका अनुसार, अमेरिकालाई मादुरो कहाँ जान्थे, के खान्थेदेखि उनले कुन जनावर पालेका थिए भन्नेसम्म थाहा थियो।

आक्रमण गर्ने दिन नजिकिँदै जाँदा अमेरिकाले थुप्रै संख्यामा विशेष अपरेसन विमान, विशेष विद्युतीय युद्ध विमान, सशस्त्र रिपर ड्रोन, खोज तथा उद्धार हेलिकोप्टरहरू र लडाकु जेट त्यस क्षेत्रतर्फ पठाएको थियो। अन्तिम समयको यो सुदृढीकरणका कारण सैन्य कारबाही ‘कहिले हुन्छ?’ भन्ने मात्र जिज्ञासा थियो, ‘हुन्छ कि हुँदैन?’ भन्ने प्रश्नै थिएन।

यिनै सूचनाका आधारमा शनिबार अपराह्न अमेरिकी एलिट फोर्स डेल्टाका कमान्डोहरूले मादुरोलाई नियन्त्रणमा लिए र अमेरिका पुर्‍याए। सन् २०११ मा पाकिस्तानमा नेभी सिल टिम ६ ले अलकायदा प्रमुख ओसामा बिन लादेनलाई मारेयता यति जोखिमपूर्ण अमेरिकी सैन्य कारबाही भएको थिएन।

‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध तस्करीविरुद्धको आक्रमण भनेर औचित्य पुष्टि गर्दै ठूलो उपलब्धिका रूपमा स्वागतसमेत गरेका छन्।

श्रीमती सिलिया फ्लोरेससँग मादुरो

तर भेनेजुएलामा भने अमेरिकाको कदमको वैधानिकता र औचित्यमाथि व्यापक प्रश्न उठिरहेको छ। अर्कोतर्फ भेनेजुएला अन्तर्राष्ट्रिय लागुऔषध व्यापारमा अन्य देशजति ठूलो खेलाडी पनि होइन।

अमेरिकी अधिकारीहरूले कंग्रेसका नेताहरूलाई भेनेजुएलामा आफ्नो उद्देश्य शासन परिवर्तन गर्नु नभएको बताएका थिए। ट्रम्पले पनि अन्य मुलुकमाथिको कब्जा जमाउने नीतिको आफू विरोधी रहेको लामो समयदेखि बताउँदै आएका थिए। तर शनिबार भने ट्रम्पले अब अमेरिकी अधिकारीहरूले नै भेनेजुएलाको रेखदेख गर्ने बताउँदै त्यहाँको तेल पूर्वाधारको पुनःनिर्माण गर्ने घोषणासमेत गरेका छन्।

पनामामा सेनाको र क्युबामा सीआईएको विगतका भद्रगोल अमेरिकी हस्तक्षेपभन्दा विपरीत घटनाबारे जानकार धेरै अधिकारीहरूका अनुसार मादुरो नियन्त्रणमा लिने अपरेसन लगभग त्रुटिरहित थियो। यीमध्ये केहीले पहिचान नखुलाउने सर्तमा उक्त योजनाबारे बोले।

यो कारबाहीका लागि डेल्टा फोर्स कमान्डोहरूले संयुक्त विशेष अपरेसन कमान्डले केन्टुकीमा बनाएको मादुरोको पूर्ण आकारको नमुना आवास परिसरमा अभ्यास गरेका थिए। उनीहरूले स्टिलका ढोका सक्दो छिटो फोड्ने अभ्यास गरेका थिए।

मिसनमा जान सेना केही दिनअघि नै तयार थियो। उनीहरू केवल अनुकूल मौसम र नागरिक क्षतिको जोखिम न्यून हुने समय मात्र कुरिरहेका थिए।

अमेरिका-भेनेजुएला बढ्दो तनावका बीच मादुरो भने ६ देखि आठवटा स्थानमा यताउता गरिरहेका थिए। अमेरिकालाई हरेक दिन मादुरो कहाँ बस्नेछन् भन्ने जानकारी अबेर साँझ मात्र थाहा हुन्थ्यो। अपरेसन थाल्नका लागि अमेरिकी सेनालाई मादुरो उनीहरूले अभ्यास गरेको परिसरमै छन् भन्ने पुष्टि हुनु आवश्यक थियो।

आक्रमण गर्ने दिन नजिकिँदै जाँदा अमेरिकाले थुप्रै संख्यामा विशेष अपरेसन विमान, विशेष विद्युतीय युद्ध विमान, सशस्त्र रिपर ड्रोन, खोज तथा उद्धार हेलिकोप्टरहरू र लडाकु जेट त्यस क्षेत्रतर्फ पठाएको थियो। अन्तिम समयको यो सुदृढीकरणका कारण सैन्य कारबाही ‘कहिले हुन्छ?’ भन्ने मात्र जिज्ञासा थियो, ‘हुन्छ कि हुँदैन?’ भन्ने प्रश्नै थिएन।

ट्रम्पले अमेरिकी सेनालाई २५ डिसेम्बरमै कारबाही अघि बढाउन अनुमति दिएका थिए। तर आक्रमण गर्ने दस्ता तयार भएको सुनिश्चित गर्नुपर्ने तथा स्थलगत अवस्था अनुकूल हुनुपर्ने भएकाले कारबाहीको अन्तिम समयबारे निर्णय लिने जिम्मा भने पेन्टागनका अधिकारी र विशेष अपरेसन योजनाकारहरूलाई छोडिदिए।

मादुरोमाथि दबाब बढाउन र पक्राउका लागि तयारी गर्न अमेरिकाले अन्य कदम पनि चाल्यो। एक साताअघि सीआईएले भेनेजुएलाको एउटा बन्दरगाहमा ड्रोन आक्रमण गरेको थियो। र महिनौँयता भने अमेरिकी सेनाले कानुनतः विवादित अभियान चलाउँदै क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा दर्जनौँ डुंगा ध्वस्त पार्दै कम्तीमा ११५ जना मार्‍यो।

पछिल्ला दिनमा भने मादुरोले अमेरिकी कारबाही रोक्न भेनेजुएलाको तेलमा पहुँच दिने प्रस्ताव गरेको ट्रम्पले शनिबार बताए। एक अमेरिकी अधिकारीका अनुसार २३ डिसेम्बरको उक्त प्रस्तावमा मादुरो देश छोडेर टर्की जानुपर्ने अमेरिकाले सर्त तेर्स्यायो। तर मादुरोले रिसाउँदै त्यसलाई अस्वीकार गरे। ती अधिकारीका अनुसार यसले प्रस्ट रूपमा मादुरो गम्भीर नभएको देखिन्थ्यो।

यो वार्ता असफल भएपछि नै मादुरोलाई कब्जामा लिने मिसनको मार्ग खुलेको थियो। जसले अन्ततः मादुरोलाई अमेरिका ल्याई लागुऔषध तस्करीको अभियोग सामना गर्न ब्रुकलिनमा थुनामा पुर्‍यायो।

मादुरोलाई नियन्त्रणमा लिइएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा राखेको तस्बिर

अमेरिका आउँदै छ भन्नेमा भेनेजुएलाको सरकारलाई थोरै मात्र शंका थियो। तर अमेरिकी सेनाले इरानको आणविक भट्टी ध्वस्त पारेको बेलाझैँ कथित ‘ट्याक्टिकल सरप्राइज’ कायम राख्न विशेष ध्यान दियो।

ट्रम्पले अमेरिकी सेनालाई २५ डिसेम्बरमै कारबाही अघि बढाउन अनुमति दिएका थिए। तर आक्रमण गर्ने दस्ता तयार भएको सुनिश्चित गर्नुपर्ने तथा स्थलगत अवस्था अनुकूल हुनुपर्ने भएकाले कारबाहीको अन्तिम समयबारे निर्णय लिने जिम्मा भने पेन्टागनका अधिकारी र विशेष अपरेसन योजनाकारहरूलाई छोडिदिए।

एक अमेरिकी अधिकारीका अनुसार भेनेजुएलाका धेरैजसो सरकारी तथा सैनिक अधिकारी छुट्टीमा हुने भएकाले अमेरिकी सेनाले यो अपरेसन बिदाको बेला गर्न चाहेको थियो। खराब मौसमले पनि अपरेसनलाई केही दिन पर धकेलिदियो। गत साताको सुरुदेखि भने मौसम सफा भयो। सेनाका कमान्डरहरूले पनि ठीक अवसर पर्खेर बसे। र ट्रम्पले अमेरिकी समयअनुसार शुक्रबार राति १०:४६ मा कारबाही थाल्न अन्तिम आदेश दिए।

एक अधिकारीका अनुसार मौसम नखुलेको हुन्थ्यो भने यो मिसन जनवरीको मध्यतिर धकेलिने थियो।

भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली दबाइए पनि मादुरो बसेको परिसरमा प्रवेश गरेपछि स्थानीय समय बिहानको २ बजेर १ मिनेट जाँदा अमेरिकी हेलिकोप्टरमाथि गोली चल्यो।

औपचारिकरूपमा भने अमेरिकी अधिकारीहरूले केही उपकरण प्रक्षेपण गर्ने अनुमति दिएसँगै अपरेसन शुक्रबार अपराह्न ४:३० बाटै सुरु भएको थियो। तर यो पूर्णस्तरको मिसन सुरु गर्ने अनुमति भने थिएन। यसको ६ घण्टासम्म अधिकारीहरूले मौसम र मादुरोको अवस्थितिबारे स्थलगत परिस्थिति अनुगमन गरिरहे।

यसबीच ट्रम्प भने आफ्नो फ्लोरिडा क्लबमा सहयोगी र क्याबिनेट सदस्यहरूसँग खाना खाइरहेका थिए। राष्ट्रपतिका सहयोगीहरूले उनलाई अन्तिम स्वीकृतिका लागि राति करिब १०:३० बजेतिर फोन गर्ने बताएका थिए। ट्रम्पले पनि फोनबाटै स्वीकृति दिए र वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग सुरक्षित स्थानमा बसे।

भेनेजुएलामा कराकसको ठूलो क्षेत्रमा बत्ती काट्दै साइबर अपरेसनबाट कारबाही सुरु भयो। सहर अन्धकारमय हुँदा विमान, ड्रोन र हेलिकोप्टरहरू भेउ नदिई भेनेजुएला छिरे। २० फरक फरक सैन्य अड्डा र नौसैनिक जहाजबाट उडेका ड्रोन, लडाकु विमान र बम्बर गरी एक सय ५० भन्दा बढी सैन्य विमान मिसनमा थिए।

यी विमानहरू कराकसतर्फ अघि बढ्दै गर्दा सेना र गुप्तचर निकाय आफूहरूले ट्याक्टिकल सरप्राइज कायमै राखेकोमा ढुक्क थिए। मादुरोलाई अमेरिका आउँदै छ भन्ने कुनै चेतावनी थिएन।

निकोलस मादुरो बोकेको हेलिकोप्टर म्यानह्याटनमा अवतरणका क्रममा। तस्बिर : रायन मर्फी/गेट्टी इमेजेज्

शनिबार बिहानै भने अमेरिकी युद्धविमानहरूले रेडार र हवाई प्रतिरक्षा युनिटमा आक्रमण गर्दा बादल गडगडाएजस्तो विस्फोटका आवाज कराकसभरि सुनिएको थियो। सामाजिक सञ्जालमा पोस्ट गरिएका केही विस्फोटहरू नाटकीय देखिए पनि ती रेडार तथा रेडियो टावरहरू ध्वस्त पारिएको रहेको एक अमेरिकी अधिकारीले बताए।

भेनेजुएलामा शनिबारको उक्त हमलामा परी सैनिक र नागरिक गरी कम्तीमा ४० जनाको ज्यान गएको पहिचान नखुलाउने सर्तमा एक वरिष्ठ भेनेजुएली अधिकारीले बताए। पछि जनरल केनले विशेष अपरेसन फोर्स बोकेका हेलिकोप्टरलाई सुरक्षित मार्ग उपलब्ध गराउन लडाकु विमान, बम्बर र ड्रोनहरू भेनेजुएलाको हवाई प्रतिरक्षा खोज्न र ध्वस्त पार्न आएको पत्रकारहरूलाई बताए।

भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली दबाइए पनि मादुरो बसेको परिसरमा प्रवेश गरेपछि स्थानीय समय बिहानको २ बजेर १ मिनेट जाँदा अमेरिकी हेलिकोप्टरमाथि गोली चल्यो। जनरल केनका अनुसार हेलिकोप्टरहरूले ‘अत्यधिक बल’ सहित जवाफ फर्काए। एउटा हेलिकोप्टरमा क्षति पुग्यो भने पूरै अपरेसन अवधिमा करिब आधा दर्जन सैनिक घाइते भए।

मादुरोलाई नियन्त्रणमा लिन खटाइएको डेल्टा फोर्सलाई आर्मी स्पेसल अपरेसन एभिएसन युनिटले भेनेजुएलाकै सर्वाधिक सुदृढ सैन्य अड्डासम्म पुर्‍याएको थियो। यो युनिट १६०औँ विशेष अपरेसन एभिएसन रेजिमेन्ट हो जसले परिमार्जित एमएच-६० र एमएच-४७ हेलिकोप्टरहरू उडाउँछ।

भवनभित्र छिरेको पाँच मिनेटजतिमै डेल्टा फोर्सले मादुरोलाई नियन्त्रणमा लिइएको जानकारी गराएको थियो।

नाइट स्टकर्स उपनाम दिइएको यो रेजिमेन्ट उच्च जोखिम भएको, कम उचाइका र रात्रिकालीन मिसनहरूमा दख्खल राख्छ। यही युनिटले हालैको महिनाहरूमा भेनेजुएलाको तटीय क्षेत्रनजिक पेन्टागनले भन्ने गरेको अभ्यास मिसन आयोजना गरेको थियो।

जमिन टेकेपछि डेल्टा फोर्स मादुरो खोज्न भवनभित्र छिर्‍यो। विमानमा रहेको क्यामेरामार्फत करिब १३ सय माइल पर ट्रम्प र उनका मुख्य सहयोगीहरूले यो घटनालाई प्रत्यक्ष हेरिरहेका थिए। जनरल केनले स्क्रिनमा भएको घटनाक्रम बताइरहँदा ट्रम्पले अपरेसन कस्तो जाँदै छ भनेर प्रश्न सोधिरहेका थिए। “मैले टेलिभिजन कार्यक्रम हेरेको जसरी हेरेको थिएँ,” ट्रम्पले फक्स न्युजमा शनिबार भने।

मादुरो नियन्त्रणमा लिने डेल्टा फोर्सको गतिविधि प्रत्यक्ष प्रसारण हेरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : ह्वाइटहाउसको एक्स ह्यान्डल

डेल्टा फोर्स विस्फोटक पदार्थ प्रयोग गरेर भवनभित्र छिरेको थियो। अमेरिकी अधिकारीका अनुसार ढोका फोडेपछि विशेष अपरेसन फोर्सलाई मादुरो भएको ठाउँसम्म पुग्न तीन मिनेट लागेको थियो।

ट्रम्पले बताएअनुसार मादुरो र उनकी श्रीमती स्टिलले बनेको सुरक्षित कोठातिर भाग्न खोज्दा अमेरिकी सेनाले रोकेको थियो। “उनी सुरक्षित स्थानतिर जान खोज्दै थिए,” जनरल केनसँगको पत्रकार सम्मेलनमा ट्रम्पले भने, “त्यो निकै बाक्लो ढोका थियो, एकदमै भारी। उनी त्यहाँ छिरे पनि ढोका बन्द गर्न सकेनन्।”

भवनभित्र छिरेको पाँच मिनेटजतिमै डेल्टा फोर्सले मादुरोलाई नियन्त्रणमा लिइएको जानकारी गराएको थियो।

मादुरोले त्यो ढोकाभित्र छिरेर आत्मसमर्पण गर्न अस्वीकार गरेको खण्डमा वार्ता गर्न भनी सेनासँग एफबीआईका होस्टेज नेगोसिएटर पनि सँगै थिए। यद्यपि, यो अवस्था आएन।

डेल्टा अपरेटिभहरूले मादुरो दम्पतीलाई सहज तरिकाले हेलिकोप्टरमा राखे। कराकसको स्थानीय समयअनुसार बिहानको ४ बजेर २९ मिनेट जाँदा उनीहरूलाई भेनेजुएलाको तटबाट एक सय माइल पर क्यारेबियनमा तैनाथ अमेरिकी युद्धपोत यूएसएस इवो जिमामा सारियो।

इवो जिमाबाट उनीहरूलाई ग्वान्तानामोको खाडीमा रहेको अमेरिकी नौसेनाको अड्डा पुर्‍याइयो जहाँबाट उनीहरूलाई म्यानह्याटनको उत्तरतर्फ रहेको सैन्य विमानस्थल लैजान एफबीआईको विमान प्रतीक्षारत थियो।

पक्राउ गरी अमेरिका ल्याइपुर्‍याएपछि हतकडीमा मादुरो

यो विशेष अपरेसन फोर्स भेनेजुएलाबाट बाहिर ननिस्कुन्जेल ट्रम्पले हेरिरहेको एक अधिकारीले बताए। ट्रम्पका अनुसार अमेरिका भेनेजुएलाविरुद्ध दोस्रो चरणको आक्रमणका लागि पनि तयार थियो तर त्यो आवश्यक नभएको उनलाई लाग्यो। ट्रम्पले अरू भेनेजुएली नेताहरूलाई पनि आफू उनीहरूलाई समाउन आउनसक्ने चेतावनी दिए।

न्युयोर्क टाइम्समा प्रकाशित यो रिपोर्ट नेपालन्युजका लागि असीम तिमल्सिनाले अनुवाद गरेका हुन्।