काठमाडौं । अमेरिकी वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले भेनेजुएलामाथिको ट्रम्पको आक्रमणले अमेरिका र विश्वलाई सुरक्षित नबनाउने बताएका छन्।’
स्यान्डर्सले ट्रम्पको यो कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणसँग तुलना गरेका छन् । शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पुटिनले युक्रेनमाथिको आफ्नो क्रूर आक्रमणलाई न्यायोचित ठहर्याउन प्रयोग गरेको भयानक तर्क पनि यही नै थियो।’
उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय कानुनको यो घोर उल्लंघनले अर्को राष्ट्रमाथि आक्रमण गर्न, उनीहरूको स्रोतसाधन कब्जा गर्न वा सरकार परिवर्तन गर्न चाहने विश्वका कुनै पनि देशलाई बाटो खुल्ला गरिदिएको छ।’
ट्रम्पले ‘अमेरिका फस्ट’ भन्ने एजेन्डाका साथ चुनाव प्रचार गरेर भेनेजुएला चलाउन खोजिरहेको तर्क स्यान्डर्सको छ ।