दाङ । रोल्पामा भएको जीप दुर्घटनामा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विक रहेका छन्।
रोल्पा प्रहरीका अनुसार उनीहरू राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्। गाम खोला सेरमबाट विद्यार्थी बोकेर स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गए राति करिब १० बजे अनियन्त्रित भई सडकबाट तल खसेको थियो।
गम्भीर घाइते दुई विद्यार्थीलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्याइए पनि चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका नौ जना विद्यार्थीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
जीप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।