काठमाडौँ। भक्तपुरमा एक व्यक्तिले कञ्चटमा गोली हानेर आत्महत्या गरेका छन्। मध्यपुर ठिमी नगरपालिका ६ का सनित चाम्लिङ राईले सोमबार दिउँसो घरमै कञ्चटमा गोली हानेका हुन्।
वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाका अनुसार घटना दिउँसो ३:३४ बजेको हो। राईले झ्यालढोका थुनेर घरभित्रै आफूलाई गोली हानेका थिए।
२२ बोर राइफलबाट एक गोली हानेका उनको घटनास्थलमै मृत्यु भएको ढुंगानाले बताए। उक्त राइफल उनका भिनाजुको नाममा दर्ता रहेको खुलेको छ। भिनाजु बेलायती पूर्वसेना हुन्।
“घरमा भिनाजु नभएको बेलामा गोली हानेको देखिएको छ। गोली चलेको आवाजपछि छिमेकी र आफन्तले झ्याल फोडेर हेर्दा मृत्यु भइसकेको थियो,” ढुंगानाले भने। प्रहरीले घटनास्थलबाट शवको मुचुल्का उठाएर अनुसन्धान थालेको छ।