काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान

२१ पुष २०८२
अ+
अ-

काठमाडौँ। सरकारले जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले जेन-जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले नेपाल र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले सरकार र ओमान सरकारबीच हुने समझदारीपत्रसमेत स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश-२०८२, स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले वन तेस्रो संशोधन नियमावली २०८२, स्वीकृत गरेको छ।

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ। यस्तै नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गरेको छ। समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।