काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
अ+
अ-

सुर्खेत। प्रहरी र स्थानीयबीचको विवादका कारण ठप्प रहेको डोल्पाको यातायात सोमबारदेखि नियमित भएको छ। स्थानीय र प्रशासनबीच सहमति भएपछि शनिबारदेखि ठप्प यातायात सेवा सोमबारदेखि नियमित भएको हो।

गएको शुक्रबार साँझ त्रिपुरासुन्दरी नगरपालिकाको ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया प्रहरी चेकिङका क्रममा भेरी नदीमा हाम फालेर बेपत्ता भएपछि स्थानीय र प्रहरीबीच विवाद सिर्जना भएको थियो। विवादका क्रममा दुई पक्षबीच झडप भएको थियो।

चेकिङ गर्ने क्रममा प्रहरीले लखेटेपछि रोकायाले हामफालेको आरोप लगाउँदै स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए। त्यसपछि दुई पक्षबीच विवाद सुरु भएको हो। शुक्रबार लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी चौकी खदाङबाट खटिएको टोलीले छेप्केस्थित पुलनजिक जाँच गरिरहेको थियो। सोही क्रममा रोकाया भागेर नदीमा हाम फालेका थिए।

घटनापछि सत्यतथ्य छानबिनसहित चेकिङमा रहेका प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले यातायात सेवा अवरोध गराएका थिए। आइतबार राति प्रहरी र स्थानीयबीच जाँचमा बसेका प्रहरीमाथि मुद्दा चलाएर अनुसन्धान गर्ने सहमति भएपछि यातायात खुलाएर आन्दोलन फिर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख (डीएसपी) रुकबहादुर खड्काका अनुसार बेपत्ता युवक अझै फेला परेका छैनन्। खोजी कार्य जारी रहेको खड्काको भनाइ छ।

यस्तै सोही दिनमा ड्युटीमा रहेका सहायक प्रहरी निरीक्षक (असई) सहित पाँचजना प्रहरीविरुद्ध पीडितले उजुरी दिएका छन्। प्रहरी चौकी खदाङमा इन्चार्ज रहेका असई हेमराज कार्कीसहित पाँचजना प्रहरीविरुद्ध मुद्दा दायर गरिएको हो। त्योबेला ड्युटीमै रहेका प्रहरी जवान लालबहादुर घर्ती, भगिरथ जैशी, जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी जवान अशोक साउद र जिल्ला प्रहरी कार्यालयमै कार्यरत घुमुवा प्रहरी नरेन्द्र खड्काविरुद्ध उजुरी परेको हो।

उनीहरुविरुद्ध बेपत्ता युवक जुन रोकायकी श्रीमती धनमतीले किटानी जाहेरी दिएकी छन्। घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति पनि बनाएको छ। छानबिन समिति एसपी रामप्रसाद घर्तीको संयोजकत्वमा बनेको छ