काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। एसएमसी एप्लिकेसनका माध्यमबाट नेपालभर नेटवर्क विस्तार गरी ठगी तथा संगठित अपराध गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ ही जियाङजियानससहित ११ नेपाली छन्।

साइबर ब्युरोका अनुसार पक्राउ पर्नेमा रामेछापका २१ वर्षीय मिलन श्रेष्ठ, तनहुँका १९ वर्षीय सौगात थापा, नुवाकोटका ३३ वर्षीय वीरबहादुर तामाङ, चितवनका २३ वर्षीय सोनम खातुन, काठमाडौँकी २३ वर्षीया प्रिया केसी, गुल्मीकी २१ वर्षीया गीता गुरुङ, पर्साका ३७ वर्षीय नासिर मियाँ अन्सारी, ५५ वर्षीय सायरा खातुन र बाराका ६७ वर्षीय रामनिवास प्रसाद छन्।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरो प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक अवस्थीले बताए। चीनका नागरिक ही ठमेलको होटेल द युनिभर्सलमा बस्दै आएका थिए। होटेलमा बसेर उनले ठगीको नेटवर्क विस्तार गरेको अवस्थी बताउँछन्।

पक्राउ परेकाले चितवन खैरहनी नगरपालिका ६ मा कार्यालय स्थापना भएको एमएमसीएन एड्भर्टाइजिङ सेन्टर प्रालि नामक कम्पनीको आवरणमा प्रयोग गरी एसएमसी एप्लिकेसनबाट नेटवर्क विस्तार गरेका छन्।

नेपालीभर ७० हजारभन्दा बढी सर्वसाधारणलाई उक्त सञ्जालमा जोडेको पाइएको प्रवक्ता अवस्थी बताउँछन्। ब्युरोका अनुसार उक्त एप्लिकेसनबाट हालसम्म १२ करोड आठ लाख १६ हजार ३७२ रुपैयाँ ठगी भएको पाइएको छ। “हाललसम्म २५५ वटा सामूहिक निवेदन परेका छन्। एउटै निवेदनमा परिवारका धेरै सदस्य पीडित रहेको पाइएको छ,” अवस्थीले भने।

यो संगठित समूहले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाण पत्र देखाउँथे। भौतिक रूपमा कार्यालय स्थापना गरी सर्वसाधारणमा यो पूर्णत: कानुनी काम हो भनी भ्रम सिर्जना गर्थे। एप्लिकेसमा विश्वप्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको र चलचलित्रको विज्ञापन हेरेबापत पैसा पाइने दाबी गरी एसएमसी नामक मोबाइल एपमा सर्वसाधारणलाई आबद्ध गराउँथे।

यसपछि उनीहरूले सदस्यहरूलाई तीन तहमा विभाजन गर्थे। नयाँ सदस्य बनाएबापत आकर्षक कमिसनको प्रलोभन देखाउँथे। पहिलो तहमा निक्षेपमा १२ प्रतिशत कमिसन र दैनिक कामको पाँच प्रतिशत रकम दिने आश्वासन उनीहरूले देखाउँथे। दोस्रो तहमा निक्षेपमा चार प्रतिशतसम्म फल दिने भन्दै पोन्जी मोडल अपनाएका थिए।

ब्ल्याकरकजस्ता काल्पनिक कोषमा रकम राखे दैनिक १.२ प्रतिशतसम्म प्रतिफल दिइने भन्दै ठगी गर्ने गरेका थिए। ‘घरमै बसेर भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा उच्च प्रतिफल दिने’ जस्ता विज्ञापन क्लिक गर्दा ठगिने सम्भावना धेरै रहेको ब्युरोले जनाएको छ। ब्युरोले पक्राउ परेका ११ जना विरुद्ध ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको छ।