सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्री अर्यालको आग्रह
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा ध्यानाकर्षण भएको जनाएका छन्। उनले सबै पक्षसँग तत्काल सद्भाव र सह-अस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरे।
गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गरिनुपर्ने सबै खालका सुरक्षाको पूर्वतयारी र सजगता अपनाइएको जनाउँदै उनले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकाले यस घटनालाई निस्तेज गर्न सबैले आ-आफ्नो ठाउँ र तहबाट जिम्मेवारी बोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गरे।
गृह मन्त्रालयमा सोमबार विभिन्न संवैधानिक आयोगहरूका कार्यवाहक अध्यक्षहरू, सचिव तथा पदाधिकारीसँग गरिएको सामूहिक छलफलमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्। बैठकमा गृहमन्त्री अर्यालले राज्यका संवैधानिक आयोगहरूले यस्तो अवस्थामा एउटा विवेकको संरक्षकको भूमिका निर्वाह गरिदिन आग्रहसमेत गरे।
यस्तै उनले मधेस तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता संयमता, सजगता र सह-अस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न पनि सबैमा अनुरोध गरे।
यो पनि…
छलफलका क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महामदिन अलि, थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारू, गृह-सचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यहरूको उपस्थिति थियो।
छलफलमा आयोगका प्राय: सबै कार्यवाहक अध्यक्षहरूले अहिले मधेसमा देखिएका धार्मिक तथा सांस्कृतिक सद्भाव खलबलाउने गतिविधिलाई केन्द्र तथा प्रदेश सरकार र समुदायका नागरिक तथा बुद्धिजीवीहरूको समन्वयात्मक भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए।
यसअघि पनि गृहमन्त्रीको अध्यक्षतामा आज (सोमबार) नै मधेस प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखसँग ‘जुम’ बैठक सम्पन्न भएको अर्यालको सचिवालयले जनाएको छ। बैठकमा मन्त्री अर्यालले अहिले मधेस प्रदेशका जिल्लाहरूका प्रजिअ तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए।